बैशाख ८, २०८१ शनिबार

इन्टरनेटले घटायो किताव पढ्ने आदत

बिर्तामोड । सञ्चालन खर्च धान्न नसकेर साझा प्रकाशनको प्रदेश १ का तीन वटा शाखा बन्द भइसकेका छन् । अहिले प्रदेशभित्र तीन वटा विक्री केन्द्र मात्रै सञ्चालनमा छन् । सञ्चालनमा रहेका शाखामा पनि किताव विक्री दर कम्ति छ । प्रदेश १ मा धरान, विराटनगर र बिर्तामोडमा साझाका विक्री केन्द्रहरु छन् । जहाँ किताव खोज्दै जानेको संख्या न्यून छ ।

०६८ सालदेखि साझा प्रकाशनमा झापाका मनरथ घिमिरे कार्यरत छन् । उनी बिर्तामोडको विक्री कक्षको प्रमुखका रुपमा कार्यरत छन् । उनका अनुसार साझा प्रकाशनको विर्तामोड शाखा भारतीय पाठकको भरमा चलिरहेको छ । घिमिरे भन्छन्, विर्तामोड शाखामा किताव किन्न आउनेहरु नेपाली भन्दा भारतका नेपाली भाषी धेरै छन् ।

पछिल्लो समय पठन संस्कृति घट्दै गएको उनको बुझाई छ । इन्टरनेटमा मान्छेको पहुँच बढ्दै गएकाले पठन संस्कार घट्दै गएको घिमिरे बताउँछन् । ‘कुनै बेला नेपाली साहित्य अध्ययन गर्न , पाठकहरु साझा मै पुग्नुपथ्र्याे । अहिले हातहातमा इन्टरनेट भएपछि पाठकहरु साझासम्म आइपुग्दैनन्’ उनले भने ।

३५ वर्ष पहिले झापाको भद्रपुरमा विक्री केन्द्र स्थापना गरेको साझाले व्यापार बढाउन बिर्तामोड सारेको थियो । विर्तामोडको भद्रपुर रोडमा ३५ हजार भाडा तिरेर विक्री केन्द्र खोलेको साझा अहिले खर्च धान्न सकिरहेको छैन । विक्री कक्षका प्रमुख घिमिरेले पठन संस्कृत घट्दै गएकाले पनि साझाको व्यापार घट्दै गएको बताए । उनले निजी क्षेत्रले नै कितावको व्यापारलाई बढाए पछि साझा प्रकाशन कमजोर बन्दै गएको बताएका छन् । साझाले नयाँ प्रकाशन ल्याउन सकिरहेको छैन, उनले भने – त्यसैले पनि निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्न सकिरहेको छैन ।

इन्टरनेटको प्रभाव बढ्दै गयो, पुस्तक पढ्ने क्रेज घट्दै गयो, घिमिरेले भने – आफ्नै केहि कमजोरीले पनि साझा सोचे जस्तो अघि बढ्न सकेको छैन । पढ्ने युवा जमात हुन् । युवा जति वैदेशिक रोजगारीमा छन् । यहाँ रहेका युवाहरु पनि आफुले चाहेको विषय अध्ययन गर्न इन्टरनेटको सहायता लिने गरेको उनको भनाई छ ।

बिर्तामोडमा रहेको शाखा भारतीय नेपाली भाषीका कारण धानिएको थियो । कोरोनाले आवतजावत समस्या भएपछि फेरि व्यापार घटेको छ । घिमिरेले पश्चिम वंगाल, मिरिक, अछाम र दार्जिलिङका नेपाली भाषीहरु किताव खोज्न बिर्तामोड आउने गरेको जानकारी दिए । भारतमा नेपाली पाठ्यक्रम प्रायः साझा कै किताव हुने भएकाले उनीहरु साझासम्म आउने गरेको घिमिरेको भनाई छ । उनका अनुसार सिलिगुडीका पुस्तक व्यापारीले यहिबाट खरिद गरेर लैजाने गरेका छन् । साविक मेचीका लागि लक्षित गरेर सञ्चालन गरिएको बिर्तामोड शाखा चार जिल्लाका पाठकबाट धानिने अवस्थामा छैन ।

चलचित्र हेर्न पाँच सर्य खर्च गर्ने परम्परा बढ्दै छ, उनले भने – पाँच सयमा एउटा छोटो कथा हेरिन्छ, तर त्यहि मुल्यमा यहाँ धेरै कथाहरु पढ्न पाइने भए पनि अध्ययनमा रुचि देखिदैन । बजारको तुलनामा सहुलियतमा किताव पाइन्छ, त्यै पनि अध्ययन गर्ने आदत घट्दै गइरहेको छ । सरकारले साझालाई विकास र थप प्रवद्र्धन गर्न आवश्यक रहेको घिमिरे बताउँछन् । उनले नयाँ प्रकाशन र अहिलेका लेखकसँग सरकारको समन्वय र सहकार्य हुनपर्ने बताए ।

सुर्योदय टिभीमा कार्यरत प्राविधिक रवि किरण वान्तावा साझा प्रकाशन बिर्तामोडका नियमित ग्राहक हुन् । उनी फुर्सदको समयमा साझा पुगेर किताव पढ्छन । वान्तावाले भने, पैसा छ भने किनेर लैजान्छु’, नत्र साझा मै बसेर पढ्ने गरेको छु । उनले साझामा रचनात्मक र खोजमुलक किताव अध्ययन गर्दै आएको बताए । साझालाई प्रभावकारी रुपमा चलाउन नयाँ प्रकाशनहरु ल्याउनुपर्ने उनको भनाई छ । उनले साझामा युवाको उपस्थिति नै नरहेको बताएका छन् ।

मेची क्याम्पस भद्रपुरका पूर्व प्रमुख उमानाथ ओलीले पठक संस्कृत घटेको कुरा एकहदसम्म सत्य मान्न सकिने बताए । उनले अघिल्ला पुस्ता सरह नयाँ पुस्तामा पठन संस्कृत नरहेको स्वीकार गरे । ओलीले नयाँ पुस्ता मोवाइलको माध्यमबाट अध्ययन गरिरहेको बताउँछन् । उनले थपे, ‘अध्ययनको शिलशिला अन्त्य भएको चै होइन , राम्रा पुस्तकहरुको राम्रै व्यापार छ ।’ राम्रा–राम्रा पुस्तक ल्याएर साझाले आफुलाई प्रमोट गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]