जेष्ठ १, २०८२ बुधबार

साझाले आवश्यक पुस्तक उपलब्ध गराउनुपर्छ

सम्पादकीय

झापाको बिर्तामोडमा साझा प्रकाशनको शाखा छ । प्रदेश १ मै अहिले विराटनगर, धरान र विर्तामोडमा मात्रै शाखा सञ्चालनमा छन् । शाखा सञ्चालनमा रहे पनि विगतमा जस्तो साझामा किताव खोज्दै जानेको संख्या अन्त्यन्तै थोरै छ । साझाको इतिहास बलियो छ । तर, यसको वर्तमान निकै कमजोर भइसकेको छ । बिर्तामोड शाखामा देखिने सुनसानले नै साझाको वर्तमानलाई कमजोर भएको पुष्टि गर्छ । भद्रपुरमा स्थापना गरिएको साझा प्रकाशनको शाखालाई बिर्तामोडमा सारियो । साझाको व्यापारलाई बढाउने उदेश्यले विर्तामोड सारिए पनि यसको व्यापार कमजोर छ ।

नेपाली साहित्यको धरोहर मानिएको साझालाई सरकारले व्यवस्थित रुपमा अघि बढाउन सकिरहेको छैन । खासगरी साझा प्रकाशनमा नयाँ पुस्ताको आकर्षण छैन । बाल्यकालमा कितावमा लेखिएको साझा प्रकाशन थाहा पाउने अधिकांश अहिले यसलाई खोज्दै जाने अवस्था छैन । किनभने, अहिलेको पुस्ता इतिहास खोजिरहेको छैन । साझा प्रकाशनमा इतिहास लेखिएका पर्याप्त पुस्तक अहिले पनि पाइन्छ । कला, साहित्यका प्रायः किताव पाइन्छन् । तर, नयाँ पुस्ता नयाँ कृति खोजिरहेका छन् ।जुन कृति अर्थात नयाँ प्रकाशनहरु साझामा उपलब्ध हुन सकिरहेको छैन ।

साझा कमजोर हुनुको अर्को कारण मानव जातिको पहुँच इन्टरनेटमा बढेर पनि हो । इन्टरनेटको बढ्दो प्रयोगले पनि किताव खोजेर पढ्ने संख्या विगतमा जस्तो छैन । विगतमा जस्तो किताव नै खोजेर अध्ययन गर्नेको संख्या घट्दै गएको छ । आवश्यक सामग्री इन्टरनेटमै पाइएकाले साझामा पुगिरहने झन्झट कसैले गरिरहेका छैन । अर्को, साझामा नयाँ किताव पाउन पनि मुस्किल छ । साझामा लामो समय काम गरेका कर्मचारीहरुका अनुसार पाठकको संख्या घट्दो छ । साझामा नयाँ किताव नपाउनु र इन्टरनेटको पहुँच बढ्नु पनि अर्को समस्या हो । यदि साझालाई चलायमान बनाउने हो भने आवश्यक सबै पुस्तक उपलब्ध हुनुपर्छ ।

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]