बैशाख १४, २०८१ शुक्रबार

भद्रपुरले पुस ७ मा बालमैत्री घोषणा दिवस मनाउने

गंगा बराल

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुस ७ गतेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न सातौं नगरसभाले सो निर्णय गरेको हो ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभामा पुस ७ गनेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने भनी गरिएको प्रस्तावलाई नगरसभाले पारित गरेको छ । यही पुस ७ गते भद्रपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । भद्रपुर १ नं प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह बनेको छ भने देशकै पाँचौं बालमैत्री नगरपालिका बनेको छ ।

नगरपालिकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय र ऐतिहासिक कार्य गरेको रुपमा खुशीयाली स्वरुप पुस ७ गतेलाई बालमैत्री घोषणा दिवस मनाउने निर्णय नगरसभाले गरेको नगरप्रमुख श्रेष्ठले बताएका छन् ।

नगरपालिकाले बालमैत्रीसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–अभिसन्धि एवम् ऐन–कानूनको पालना, बालबालिका सम्बन्धी राष्ट्रिय रणनीतिको पालनालगायत बालबालिकाको हितका ३९ वटा सुचक पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा हुन सफल भएको थियो । १ नं प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले यही पुस ७ गते एक समारोहका बीच भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरेकी थिइन् ।

नगरसभाले बालबालिकासम्बन्धी रणनीतिक योजनामार्फत नगरभित्रका बालबालिकाको सर्वांगीण विकासका लागि योजनाहरु सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी, नगरसभाले चालु आ.व. को ६ महिने प्रगतिको समीक्षा गर्नुका साथै थप योजनाहरु पनि पारित गरेको थियो ।

प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]