जेष्ठ ६, २०८२ सोमबार

झापासहित देशभर ४६ हजारभन्दा धेरैले लगाए खोप

बिर्तामोड । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको तेस्रो दिन शुक्रवारसम्म ४६ हजार एक सय ९७ जनाले खोप लगाएका छन् । ७७ जिल्लाका एक सय ६९ वटा खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा शुक्रवार ७७ वटै जिल्लामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार तेस्रो दिन शुक्रवारसम्म प्रदेश १ मा सात हजार तीन सय ६९ जनाले खोप लगाए भने प्रदेश २ मा चार हजार ६ सय ५० र वाग्मतीमा १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् ।
त्यस्तै गण्डकीमा सात हजार एक सय ५३, लुम्बिनीमा चार हजार ६ सय ३५, कर्णालीमा २९ सय ६६ र सूदूरपश्चिममा तीन हजार सात सय ८३ जनाले खोप लगाएका छन् । झापामा पहिलो दिन ५३५, दोस्रो दिन ५५८ र तेस्रो दिन ४४१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

खोप लगाएका केही व्यक्तिमा सामान्य असर देखिएको भए पनि उनीहरूमा केही समयमा असर हराएको र जटिल खालको असर अहिलेसम्म कसैलाई नदेखिएको प्रवक्ता गौतमले बताए ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारको योजना रहेको छ ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकलाई खोप दिइनेछ ।
साथै शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप दिइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : माघ १७, २०७७ शनिबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]