बैशाख ६, २०८१ बिहीबार

रोश्नीले जितिन सूर्योदय स्पीचको उपाधि

बिर्तामोड । सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन–२ को उपाधि बिर्तामोडको देवी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा रोश्नी कार्कीले जितेकी छिन् । सूर्योदय टेलिभिजनले आयोजना गरेको सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन– २ को उपाधि शुक्रवार भएको ग्रान्ड फिनालेमा अन्तिम ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले हात पारेकी हुन् ।

यस्तै कञ्चनजंघा स्कुल बिर्तामोडमा कक्षा १२ मा अध्यनरत छात्रा प्रिसा खरेल फस्ट रनर अप र देवी माध्यमिक विद्यालय कक्षा ११ मा अध्यनरत छात्रा कृति खतिवडा सेकेण्ड रनर अप भएका छन् । सान्तवना तर्फको उपाधि रेड स्टार वोर्डिङ्ग स्कुल पथरी शनिस्चरे मोरङ्गमा कक्षा १० मा अध्यनरत सुप्रिया खड्का र ज्ञान सरोवर शिक्षा निकेतन स्कुल भद्रपुर झापामा कक्षा ९ मा अध्यनरत रिना घिमिरेले जितेका छन् ।

विजेताहरुले क्रमश ३० हजार, १५ हजार, १० हजार र ५/५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल सकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार प्रदान गरेका थिए । स्पीच कन्टेस्टमा प्रदेश नम्बर १ का झापा, मोरङ, सुनसरी र इलामबाट ५० वटा विद्यालयका गरि १ सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्व विद्यालयका एसोसिएट प्रोफेसर शिरोमणि खतिवडा ‘शिरो सान्दाई’, बीबीसी नेपाली सेवाका झापा संवाददाता उमाकान्त खनाल र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहेका थिए । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा सहारा नेपाल साकोस तथा सह–प्रायोजकको रुपमा डोएन टिभी, मेची स्पेशलिङ्क केवल र इलामको हर्कटेमा रहेको डिभाईन डोअर्स रहेको थियो । कार्यक्रमको सञ्चालन शुभला तामाङले गरेकी थिइन् ।

सिजन–२ सकिएसंगै सुर्योदय स्पिच कन्टेस्ट सिजन –३ को तयारी थालिएको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिए । उनले जेठको पहिलो साता देखि अर्को सिजन सुरु हुने बताएका छन् । यसअघि सुर्योदय स्पिच कन्टेस्ट सिजन –१ को उपाधि झापा मेरीगोल्ड स्कुल कनकाईका वेदान्त तिम्सिनाले जितेका थिए । सुर्योदय स्पिच कन्टेस्ट विद्यार्थीहरुको लागि महत्वपुर्ण कार्यक्रम बन्दै आएको छ । सूर्योदय टेलिभिजनले अर्को कार्यक्रम सूर्योदय क्वीज सिजन–५ को समेत तयारी गर्दै आएको छ ।

प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]