बैशाख १२, २०८१ बुधबार

माछा किसानको जायज गुनासो

सम्पादकीय

बिर्तामोड नगरपालिकाको सभा हलमा आयोजित एक कार्यक्रममा माछा किसानले गुनासो पोखे, ‘बिर्तामोडको कृषिथोक बजार इन्डियन बजार भइसक्यो ।’ किसानले आफ्नो माछाले बजारमा ठाउँ नपाएको आधारमा स्वभाविक गुनासो पोखेका छन् । बजारमा भारतीय माछा विगविगी हुनु र स्थानीय किसानको माछालाई व्यापारीले प्राथमिकतामा नदिनु किसानका लागि दुःखद् छ । कृषिथोक बजारमा मरेका माछा बेचिन्छ । स्थानीय किसानले उत्पादन गरेका ज्यूँदा र ताजा माछा थोरै मात्रामा विक्री वितरण गरेको पाइन्छ ।

भारतको आन्द्र प्रदेशबाट आयात हुने भारतीय माछा फर्मालिन प्रयोग हुने गरेको प्राविधिकहरु बताउँछन् । फर्मालिन मानव स्वास्थ्यका लागि हानिकारक छ । तर, व्यापारीले त्यस्तै माछा मात्रै राखेपछि उपभोक्ता पनि एक किसिमले उपभोग गर्न बाध्य छन् । स्थानीय माछालाई व्यापारीले प्राथमिकता नदिएको गुनासो छ । स्थानीयले उत्पादन गरेको माछा र भारतबाट आउने मरेका माछाको मुल्य लगभग उस्तै छ । एउटै मुल्यमा स्थानीय माछा उपभोग गर्ने वातावरण व्यापारीले निर्माण गर्नुपर्छ ।

कुनै पनि स्थानीय उत्पादनलाई व्यापारीले प्राथमिकता दिनुपर्छ । त्यसो गर्ने हो भने स्थानीय किसानलाई प्रोत्साहन पनि हुन्छ । तर, कृषिथोक बजारमा व्यापारीका कारण स्थानीय माछाले बजारको समस्या भोग्नु परेको पर्याप्त दुखेसो छ । यसलाई बजार व्यवस्थापन समितिले गम्भीर रुपमा लिनुपर्छ । स्थानीय उत्पादनलाई वेवास्था गरियो भने किसान हतोत्साहित हुनेछन् । जिल्लालाई माछामा आत्मनिर्भर बनाउने कतिपय स्थानीय तहको योजना पनि छ । झापाको हल्दिवारी र विर्तामोड नगरपालिका योजनाबद्ध रुपमा माछामा आत्मनिर्भर हुने तयारीका साथ काम गरिरहेका छन् । तर, बजारको समस्याले किसान माछा उत्पादनमा जाँगर गरिरहेका छैनन् । स्थानीय तहले बजार व्यवस्थापनमा पनि विचार गर्नुपर्छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार  १ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]