बैशाख १३, २०८१ बिहीबार

चुनाव म सहजै जित्नेछु : सुवास भट्टराई

उद्योग–व्यवसाय क्षेत्रमा सुवास भट्टराईको नाम अपरिचित छैन । उद्योग–व्यवसायजन्य संघ–संस्थामा कुशल नेतृत्वकर्ताको रुपमा पनि सुवास भट्टराई सुपरिचित नाम हो । विर्तामोड वा झापा मात्र होइन राष्ट्रिय रुपमै निजी क्षेत्रमा सुवासको सुवास भट्टराईको सङलो छवि छ ।

उनै सुवास भट्टराई विर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुन गइरहेको निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएर विजयी बन्ने दर्बिलो आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन् । पुसर्वी पहाडी जिल्ला पाँचथरको च्याङथापु गाउँमा पिता धनपति र माता धनमाया भट्टराईको दोस्रो पुत्ररत्नका रुपमा २०४१ साल मंसिर ९ गते जन्मिएका सुवास सानै देखि तीक्ष्ण बुद्धि र शालीन स्वभावका थिए ।

पाँचथरमा शुरु भएको पारिवारिक व्यापारलाई २०६० सालमा १९ वर्षकै उमेरमा झापाको विर्तामोडमा पाँचथर पाथिभरा स्टोर सञ्चालन गरी विस्तार गरेका भट्टराई हाल विर्तामोड–६ सुगम शान्ति टोलका स्थायी वासिन्दा हुन् । नेपाल अलैंची व्यवसायी महासंघमा कोषाध्यक्ष हुँदै हाल महासचिव रहेका भट्टराईको शालीनता र व्यावसायिक निष्ठाप्रति उद्योगी-व्यवसायीको अगाध विश्वास छ । चाहे व्यवसाय होस्, चाहे नेतृत्व हासिल गर्ने सन्दर्भ होस् – भट्टराईले पछि फर्केर हेर्नु परेको छैन । सिम्रिक वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षसमेत रहेका भट्टराई सामाजिक संघ–संस्थामा पनि उत्तिकै क्रियाशील छन् । पाँचथर सरोकार समाजको महासचिव, झापा गोल्डकपको उपाध्यक्ष, झापा इनर्जी लिमिटेडको प्रवन्ध सञ्चालक, नेपाल रेडक्रस सोसाइटी उपशाखा विर्तामोडको कार्यसमिति सदस्य भट्टराई विर्तामोडका उद्योगी–व्यवसायीकै आग्रहमा आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिउको बताउँछन् ।

प्रस्तुत छ विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको सन्दर्भमा अध्यष पदका उम्मेद्वार सुवास भट्टराईसँग रोहित काफ्ले र सन्तोष न्यौपानेले गरिको कुराकानी ।

१, विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष पदमा तपाईंको उम्मेद्वारी किन ?

झापाको प्रमुख व्यापारिक केन्द्र मानिने विर्तामोड नगरका आम् उद्योगी–व्यवसायीहरुको आस्थ अनि विश्वासको धरोहर संस्था विर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुन गइरहेको निर्वाचनमा मैले अध्यक्ष पदमा उम्मेद्वारी दिएको छु ।

२०६० सालदेखि लगातार रुपमा विर्तामोड क्षेत्रमा विभिन्न व्यापार–व्यवसाय अनि नेपाली अर्थतन्त्रकै एउटा खम्बा सहकारी क्षेत्रमा संलग्न छु । म लगातार रुपमा निजी क्षेत्रमा संलग्न भइरहेको छु । यसरी संलग्न भइरहँदा निजी क्षेत्रका धेरैभन्दा धेरै काम गर्न बाँकी नै रहेको देख्छु । ती काम पूरा गर्न पनि मेरो नेतृत्व आवश्यक छ भन्ने महसूस गरेको छु । त्यही भएर अध्यक्ष पदमा मेरो उम्मेद्वारी दर्ता गरेको छु ।

२, विर्तामोड क्षेत्रका उद्योगी–व्यवसायीका समस्याहरु के–कस्ता रहेका छन् ? ती समस्या समाधानका लागि के गर्ने योजन रहेको छ तपाईंको ?

विर्तामोड क्षेत्रमा रहेर व्यापार–व्यवसाय गर्ने व्यवसायीहरुका समस्या त धेरै नै भएको महसूुस गरेको छु । एकैपटक सबै समस्या समाधान गर्न सकिने अवस्था नभए पनि क्रम अनुसार प्राथमिकताका आधारमा ती समस्या निराकरण गर्न सकिने देख्छु । यसमध्ये बजारलाई सुरक्षित र व्यवस्थित गर्नका निमित्त स्थानीय सरकार र स्थानीय प्रशासनलाई समन्वय गरेर अगाडि बढ्ने योजना सारेको छु ।

अर्को चाहिँ सुरक्षित पार्किङको व्यवस्था नभएकोले त्यसको व्यवस्थापन गर्ने लगायतका २७ वटा प्रतिबद्धताका साथ आएको छु । त्यस्तै विर्तामोडमा सार्वजनिक शौचालय नभएको कुरामा उद्योग वाणिज्य संघ विर्तामोडले समन्वय गरेर सार्वजनिक शौचालय व्यवस्थापन गर्ने भनेका छौं । अर्को फोहोरमैलाको व्यवस्थापन, जति पनि कर्पोरेट हाउसहरु, बिजनेश हाउसहरु बनेका छन् ।
पुराना थापा मार्केट, बस्नेत मार्केट, पोखरेल मार्केट – तिनीहरु एक समयमा एकदमै धेरै चल्तीका थिए तर अहिले नयाँ बजार विस्तार हुँदै गएको अवस्थामा तिनीहरुमा व्यवसाय गर्ने व्यवसायीहरुको व्यापारिक अवस्था एकदमै धेरै धरासायी रहेको मैले पाइरहेको छु ।

त्यसकारणले गर्दा हामीले अधिकतम व्यापार बढाउनका लागि योजनाहरु बनाउनुपर्ने जरुरी देखेको छु । यसमा पनि तमोर करिडोर, दमकबाट रबि जाने बाटाहरु सञ्चालन भइसकेपछि विर्तामोड अलिकति कोल्टे पर्ने सम्भावना रहेको देख्छु । यो अवस्थामा पनि हाम्रा व्यापार–व्यवासाय कसरी सधैंका लागि सुचारु गर्न सकिन्छ, कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा निश्चित योजना बनाएर काम गर्ने सोच तयार गरेको छु ।

विर्तामोड नगरपालिका क्षेत्रमा हुने फोहोरमैला व्यवस्थापनका लागि विर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिमा नहुँदा पनि कनकाई, विर्तामोड र अर्जुनधारा नगरपालिका, यी तीनवटै नगरपालिकाको समन्वयमा एउटा पब्लिक लिमिटेड खडा गरेर हामीले फोहोरको व्यवस्थापन गर्ने र त्यसबाट ग्यासका साथै प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य लिएर अगाडि बढिरहेको र त्यसको भौतिक पूर्वाधार चाहिँ ९० प्रतिशत भन्दा बढी कामहरु सम्पन्न भइसकेको छ । त्यस योजनालाई पूरा गरेर हामीले फोहोरमैला व्यवस्थापन गर्नेछौं ।

यस्तै मेरो नेतृत्वमा विर्तामोडमा ६०/६२ सीसी टिभी क्यामेरा जडान भएका छन् र अन्य स्थानमा क्यामेरा जडान गर्न बाँकी छ, ती ठाउँमा पनि स्थानीय तह र निजी क्षेत्रहरुसँग समन्वय गरी सीसी टिभी जडान गर्ने मैले योजना बनाएको छु । कतिपय बिजनेश प्लान नहुँदा हामी पछि परिरहेको अवस्थामा हामीले विर्तामोडमा व्यापार–व्यवसाय गर्ने उद्योगीहरुलाई कस्तो व्यापार–व्यवसाय
कुन क्षेत्रमा गर्ने भन्ने कुराको विस्तृत गुरुयोजनाबिना गरिएका व्यापार–व्यवसाय विस्तारै डुब्ने बातावरण रहेको छ त्यसका लागि हामीले प्राविधिकहरु ल्याएर व्यापार व्यवसाय गर्न चाहने बेरोजगार युवा तथा व्यवसायीलाई तालिमसहित पूँजी, जनशक्ति र क्षमताअनुसारको व्यापार–व्यवसाय, इत्यादि विषयमा केन्द्रित भएर व्यापार–व्यवसाय गराउने सोच लिएर अघि बढेका छौं । तसर्थ भोलिका दिनमा व्यापार व्यवसायमा गरिएको लगानी नडुब्ने वातारण सिर्जना गर्दै अघि बढ्ने छौँ । अर्को कुरा, लेखा बिग्रिँदा र आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने कागजातहरु, साना–साना चीजहरु अहिले मोबाइल एप्सबाट बुझाउनुपर्ने जस्ता कुराहरुको हामीसँग ज्ञान नहुँदा हामीलाई धेरै समस्या परिरहेको अवस्था छ ।

तसर्थ यस्ता आफैले गर्न सकिने कुराहरुलाई विर्तामोड उद्योग वाणिज्य संघमा नै विज्ञहरुलाई राखेर व्यवासायीहरुलाई सेवा प्रदान गर्ने गरी मैले योजना अघि बढाएको छु । यस्तै, विर्तामोड बजारमा रहेका समस्यालाई मैले २७ वटा बुँदामा समावेश गरेर प्रतिवद्धता पत्र तयार गरेको छु ।
यी सबै प्रतिवद्धतालाई हरेक व्यवासायीहरुको घर–घरमा पुग्ने गरी र यो प्रतिवद्धतापत्र अनुसार नै काम गर्ने गरी संयुक्त व्यवसायी टिम बनाएर अघि बढेको छु । युवा व्यवसायीहरुका साथै अनुभवी व्यवसायीहरुलाई समावेश गरेको छु र यसै टिमलाई लिएर म निर्वाचनमा होमिएको छु ।

३, नयाँ उद्योग तथा व्यवसायको सम्भावना छ कि छैन? के गर्दा नयाँ लगानीलाई आकर्षित गर्न सकिन्छ ?

नयाँ उद्योग–व्यवसाय गर्नका लागि उत्पादन, गुणस्तर र बिक्री (बजारीकरण) — यी तीनवटा कुरामा विशेष जोड दिनुपर्ने देखिन्छ । विर्तामोड बजारको माग भए मात्र बाहिरबाट ल्याएर यहाँ बिक्री–वितरण गर्नुपर्ने हो । यस्तो भएन भने यहाँका नयाँ उद्योग–व्यवसाय फस्टाउन नसक्ने देख्छु । त्यस्तै कृषिमा जति पनि हामीले यहाँ उत्पादन गरेको वस्तुहरुको उत्पादन, गुणस्तर र बजारीकरणका लागि उद्योग वाणिज्य संघले भरपूर सहयोग गर्नु पर्दछ ।

त्यस्तो काम स्थानीय सरकारसँग समन्वय गरेरै मात्र सम्भव हुन्छ । किनकि, अहिले स्थानीय सरकारको लगानीमा ठाउँ–ठाउँमा कृषि उपजहरु, पशुजन्य वस्तुहरुको उत्पादन भइरहेको छ । ती वस्तुहरुलाई हामीले खरिद गरेर ठाउँ–ठाउँमा बजारसम्म पुर्याउने र बिक्री–वितरण गर्ने एकखालको वातावरण बनाउन जरुरी छ ।

हामी आफैँ पनि सबै कुराको विज्ञ होइनौं । यहाँ चाहिँ विज्ञ खडा गरेर उद्योगहरु राख्न सक्छौं, कस्ता खालका व्यवसाय गरियो भने छिट्टै आर्थिक उत्पादनमा जोडिन सक्छौं र लाभ लिन सक्छौं भन्ने कुराहरुको ज्ञान लिन जरुरी छ । यो सबै हामी आफैँले गर्न सक्दैनौँ, त्यसैले विज्ञ राखेर कस्ता व्यवसाय गर्ने ? कुन प्रकारको व्यवसाय गर्ने ? भन्ने कुरामा अग्रज उद्योगी–व्यवसायीहरुसँग, संघका विगतका पदाधिकारीहरुसँग, राजनीतिक दलहरु, स्थानीय तहहरुसँग छलफल गर्छौं र त्यहाँबाट आएको निष्कर्षलाई निर्णयको रुपमा अगाडि बढाउने छौँ ।

४, विजयी बन्नु भएको अवस्थामा विर्तामोडका उद्योगी व्यवसायी र संघको पक्षमा तपाईंले गर्ने कामको प्राथमिकता क्रम के रहेको छ ?

सर्वप्रथम त, मैले विजयी नहुने भन्ने छँदैछैन । सतप्रतिशत विजय हासिल गर्नेछु, यसमा कुनै द्विविधा नै छैन । दोस्रो, मलाई अधिकतम व्यवसायीहरुले रुचाउनु भउको छ र अधिकतम उद्योगी–व्यवसायीहरुको तर्फबाट उम्मेद्वार बनेको छु । विजयी भइसकेपछि हामीले अघि सारेका २७ वटा प्रतिवद्धतालाई प्राथमिकीकरण गर्नेछु र ती बुँदालाई प्राथमिकताका आधारमा तीन वर्षभित्रमा पूरा गर्नेछु । साथै, अन्य कुराहरुमा पनि सरोकारवालाहरुसँग घनिभूत छलफल गरेर यी कामहरुलाई अघि बढाउने प्रतिबद्धता जाहेर गर्दछु ।

५, उद्योग व्यवसाय क्षेत्रलाई राजनीतिबाट टाढा राखिनु पर्छ भनिन्छ तर जब नेतृत्व चयनको समय आउँछ तब राजनीति हाबी भएको देखिन्छ । किन होला ?

यो प्रश्न चाहिँ मलाई भन्दा पनि जसले राजनीति हाबी गर्यो, उहाँहरुलाई नै प्रश्न गर्दा हुन्छ होला जस्तो मलाई लाग्छ । मबाट यो भएको छैन किनभने अहिलेसम्म म उद्योग वाणिज्य संघको नेतृत्वमा पनि छैन र राजनीति घुसाउने अवस्थामा पनि छैन । यदि
म भोलि निर्वाचित भएको अवस्थामा मैले राजनीति घुसाए भने मलाई तपाईले प्रश्न सोध्न सक्नुहुनेछ । तर, उद्योग वाण्ज्यि क्षेत्रमा राजनीति हाबी भएको चाहिँ देखिन्छ, यो वास्तवमा गलत नै छ ।

६, प्रतिद्वन्द्वीलाई कसरी हेर्नु भएको छ ?

चुनाव हो । चुनावमा प्रतिद्वन्द्वीलाई कमजोर हिसाबले हेर्नु हँुदैन र मैले पनि कमजोर हिसाबले हेरेको छैन तर यति चाहिँ भन्न सक्छु, चुनाव म सहजै जित्नेछु ।

७ मतदाता र व्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?

म सम्पूर्ण मतदाता उद्योगी–व्यवसायीहरुलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु । म एउटा उर्जावान युवा व्यवसायी हूँ । म जुनसुकै काममा हात हाले भने पनि त्यो कामलाई पूरा गरेरै छाड्ने बानी छ । म कुनै पनि काम अधुरो छोड्दिनँ । मैले नेतृत्व गरेका अधिकांश संघ-संस्था र मैले सञ्चालन गरेका व्यवसाय, कम्पनीहरुलाई तपाईहरुले हेरिदिनुहोस्, बुझिदिनुहोस् -त्यो हेरेर मलाई यसपालि मतदान गरिदिनोस् । म तपाईंको मतलाई खेर जान दिने छैन । म तपाईंहरुको साथमा साथ, काँधमा काँध, हातमा हात मिलाएर २४ सै घण्टा तपाईंहरुसँगै रहनेछु ।

प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]