चैत्र १५, २०८० बिहीबार

बाल अधिकार

टिकाराम बास्तोला

बाल र अधिकार छुट्टाछुट्टै शब्द मिलेर बालअधिकार शब्द बनेको छ । जसमा ‘बाल’ को अर्थ नानी वा बालक र ’अधिकार’ को अर्थ हक भन्ने हुन्छ । यसलाई प्रचलित अर्थका हिसाबले हेर्दा बालकहरूले नैसर्गिक रूपमा पाउनु पर्ने हक बुझिन्छ । आजका बालबालिका भविष्यका कर्णधार हुन् । बालबालिकाहरू शारीरिक तथा मानसिक रूपबाट अपरिपक्व हुन्छन् । जसले गर्दा उनीहरू आफ्नो स्याहार र सुरक्षा आफै गर्न सक्दैनन् । त्यसैले सबै बालबालिकाहरूलाई बिना भेदभाव समान किसिमको स्याहार र सुरक्षाको आवश्यकता पर्दछ ।

बालकको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने काम बाल अधिकारले गर्न सक्नु पर्दछ । जन्मनासाथ बालकले पोषिलो खाने कुरा खान, मौसमनुसारको कपडा लगाउन, शिक्षा आर्जन गर्न, चाहिदो मात्रामा मनोरञ्जन गर्न पाउनुपर्छ । भर्खर जन्मिएको बालक अबोध हुन्छ, कसैको सहाराबाट हुर्कनुपर्छ र उसलाई कुन उमेर र अवस्थामा के चाहिन्छ भन्ने कुरा उसका अभिभावक, उसको सेरोफेरोमा रहेका समाजले जान्नुपर्दछ । यदि एउटा बालक आफूले पाउनु पर्ने नैसर्गिक अधिकारबाट बञ्चित भयो भने ऊ बालअधिकारबाट बञ्चित भएको बुझ्नुपर्दछ र त्यसको भरणका लागि अरूले लाग्नुपर्छ । यसो गर्नाले बालबालिकाको सबै क्षेत्रमा विकास भई एउटा कर्मशील र देशका लागि आवश्यक जनशक्ति तयार भई देश विकासमा टेवा पुग्ने कुरा सम्भव छ ।

नैतिक आचरणयुक्त जनशक्ति जुनसुकै देशको गहना हो । बाल अधिकारको प्राप्तिले बालकको मानसिकता सकारात्मक हुन्छ र सकारात्मक विकास हुन्छ । बालबालिकालाई आवश्यक खुशी, सुखसुविधा, शिक्षा, स्वास्थ्य आदि कुराबाट बञ्चित नगरी स्वतन्त्रताको सिर्जना गरिदिनाले रचनात्मक कार्य हुने निश्चित छ । एउटा बालक जुनै पनि समाजको भावी सदस्य हो । ऊ भविष्यको देशको जिम्मेवार व्यक्ति हो । बालक छंदा ऊ अबोध हुन सक्छ । त्यसबेला ऊ आफैं आफ्नो भविष्यको बारेमा र देशको बारेमा सोच्न सक्षम हुँदैन । एउटा बालक त कुनै बीउ भित्र लुकेर रहेको भावी बिरूवा हो । जसलाई राम्ररी हिफाजत गर्न सकेमा मात्र उसले राम्रो फल दिन सक्छ । ठूलो सम्भाव्यता बोकेको भएपनि उसले जीवन व्यर्थ हुन सक्छ नत्र बाल अधिकारको रक्षाका लागि बालक इतरका नागरिकहरूका साथै देश हाँक्ने जिम्मा पाएको सरकारले विशेष पहल गर्नुपर्छ । हाम्रो देशमा केही समय अगाडिदेखि फैलिएको हत्या, हिंसा र आतंकका कारण धेरै बालबालिकाको ज्यान जोखिममा परेको छ । उनीहरूका अभिभावकहरू युद्धमा मारिएर टुहुरा हुनु परेको र पढ्ने विद्यालय समेत हिंसाको केन्द्र बनेको छ । हाल पढ्ने उमेरका बालबालिकाहरूले हतियार बोकेर हिँड्नु परेको छ र द्वन्द्वको चपेटामा परेर अपहरित हुनु परेको जस्ता घटनाहरू बाक्लै भइरहेका छन् । यसो हुनु भनेको मुलुकको भावी सन्ततिलाई सक्षम बनाउन नसक्नु हो । बाल अधिकारभित्र पर्ने सम्पूर्ण कुरालाई समेट्ने गरी संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धीले यसलाई ४ वटा मुख्य अधिकारहरूमा विभाजन गरेको पाइन्छ ।

बाल बचाउको अधिकार, बाल संरक्षणको अधिकार, बाल विकासको अधिकार र बाल सहभागिताको अधिकार आदि अधिकारमा समेटेको छ । बाल अधिकार महासन्धीलाई आधार मानेर नेपालको कानुनले समेत बालबालिकाका अधिकारलाई व्यवस्था मिलाएको छ । बालबालिकाको संरक्षण गरी उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउनु आजको आवश्यकता ठहर्छ । समाज परिवर्तनशील छ, यस्तो समाजमा प्रतिस्पर्धी नागरिक तयार गर्न बाल अधिकारको विशेष महत्व रहन्छ । बालबालिकालाई आवश्यक खुशी, सुखसुविधा, शिक्षा, स्वास्थ्य आदि कुराबाट स्वतन्त्रताको सिर्जना गरिदिनु पर्छ । यिनै कुराहरूलाई हृदयङ्गम गरी बालअधिकारको रक्षार्थ के युवा, के वृद्ध, के शिक्षक, के कर्मचारी, के डाक्टर, के वकिल, के सरकार सबैले आ–आफ्नो क्षेत्रबाट लाग्न जरूरी छ । बालबालिकाको अधिकारका सम्बन्धमा आ–आफ्नो क्षेत्रबाट कदम चाल्ने क्रममा विभिन्न कार्य गरी बाल अधिकारको संरक्षण गर्न सकिन्छ ।

विद्यालयमा मानवअधिकार शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षा बालकको अधिकार हो भन्ने कुरा अभियानका रूपमा चेतना फैलाउन सकिन्छ । कृषि बालश्रम न्यूनिकरण कार्यक्रम ल्याउन सकिन्छ । अनौपचारिक तथा औपचारिक रूपमा बाल शिक्षा प्रदान गर्न सकिन्छ । त्यसैगरी व्यावसायिक तालिमहरू प्रदान गरी बालबालिकाको जीवनस्तर माथि उठाउन सकिन्छ ।
(लेखक ः शैशव मञ्च झापाका अध्यक्ष एवम् प्रदेश १ का सदस्य हुन् ।)

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]