बैशाख १३, २०८१ बिहीबार

नेकपा (एमाले) को अबको बाटो

नवराज शंकर

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास टुटफुट र विभाजनको इतिहास हो । कम्युनिष्ट पार्टी स्थापनाको सात दशक भन्दा लामो समयक्रमलाई फर्केर हेर्ने हो भने एकताभन्दा बढी विभाजनको इतिहास भेटिन्छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको जति बर्ष भयो त्यो भन्दा धेरै पटक त कम्युनिष्ट पार्टीहरु विभाजन भएका छन् ।

वि.सं. २००६ सालमा भारतको कलकत्तास्थित श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरञ्जन गोविन्द बैद्य, नारायण विलास श्रेष्ठ र मोतीदेवी नेकपाका संस्थापक नेताहरु हुन् । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले घोषणा गरेको पञ्चायती व्यवस्थालाई हेर्ने दृष्टिकोणका सन्दर्भमा नेकपा विभाजित हुन पुग्यो । यो नै नेपालमा कम्युनिष्ट पार्टीको पहिलो विभाजन थियो ।

एकता कम टुटफुट र विभाजन ज्यादा भएको नेपालको कम्युनिष्ट आन्दोलन असंख्या आरोह–अवरोहहरु, नेटा र कुईनेटाहरु पार गर्दै आजको अवस्थामा आईपुगेको छ । आजको दिनसम्मको नेपालको कम्युनिष्ट आन्दोलनको साङ्गो–पाङ्गो अध्ययन गर्ने हो भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) मूल प्रवाहको रुपमा स्थापित हुन पुगेको छ ।

आजको नेकपा (एमाले) भनेको नेकपाको स्थापनासँगै झापा विद्रोहबाट विकास भएको कम्युनिष्ट आन्दोलनबाट स्थापित भएको शक्ति पनि हो । वि.सं. २०२८ सालको झापा विद्रोह पश्चात् यसबीचमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने पटक–पटक कामहरु भए । वि.सं. २०३२ सालमा कोअर्डिनेशन केन्द्र, वि.सं. २०३५ सालमा नेकपा (माले), वि.सं. २०४७ सालमा नेकपा (एमाले) र वि.सं. २०७५ सालमा नेकपा हुँदै वि.सं. २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनः नेकपा (एमाले) कायम भएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध र सुदृद्ध बनाउने भनेर दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ३३ महिना लामो एकता विधिवत भंग भएको छ । केही थान पार्टी नेताहरुको दाउपेच, स्वार्थ, कुण्ठा र बदलाको भावनाले चरम संकटमा फसेको नेकपाको एकता नै भंग भएर साविकका पार्टीहरु कायम भएसँग फेरी कम्युनिष्ट आन्दोलनमा आशाको दियो बलेको छ । नेकपा विगठन भएर एमाले र माओवादी केन्द्र बनेसँगै एमाले कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति, मूल प्रवाह बनेको छ ।

यसबीचका जालझेल, तिक्डम र दाउपेचबाट गतिलो पाठ सिकेर नेपालको कम्युनिष्ट आन्दोलनलाई सही बाटोमा अघि बढाउनुपर्ने दायित्व नेकपा (एमाले) को काँधमा आएको छ । अहिले नेकपा (एमाले) ले पार्टी संगठनको काम, सरकार सञ्चालनको काम, समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान, संविधानको पूर्ण कार्यान्वयन र पार्टीभित्रको सबैखाले अन्तरविरोधहरुलाई सुविचारिक ढंगले अगाडि बढाउनु आजका महत्वपूर्ण अभिभाराहरु हुन् ।

पार्टीको सांगठानिक कामका सम्बन्धमा :
तत्कालीन अवस्थामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भएपछि दुवै पार्टीका साविकका कमिटीहरु खातामा मिसाउने काम भयो । एकतापछि दुई पार्टीका कमिटीहरु मर्ज (समायोजन) गरेर एउटै माईन्यूटमा लिपिबद्ध गर्ने काम त भयो तर एकता भंग हुँदासम्म पनि न एकताले पूर्णता पाउन सक्यो न त भावनात्मक रुपले नै एकता हुन सक्यो । सर्वोच्चको फैसलापछि नेकपा (एमाले) कायम भएसँगै एमालेको विधानमा भएको व्यवस्था र विद्यमान विशिष्ट परिस्थितिलाई ध्यान दिएर पार्टीको कामलाई अगाडि बढाउनुपर्ने अवस्था छ । जसको विकल्पहरु यसप्रकार हुन सक्छन् ।

– तत्कालै राष्ट्रिय परिषद्को बैठकको आयोजना गरेर नेकपा (एमाले) को विधान संशोधन गर्ने ।
– विधान संशोधन गरेर केन्द्रीय कमिटी र त्यस मातहतका सबै पार्टी कमिटीहरुको सन्दर्भमा भएको व्यवस्थालाई पुनरावलोकन, हेरफेर गर्ने ।
– ६ महिनाभित्र जिल्ला कमिटी र त्यस मातहतका सबै कमिटीहरुको अधिवेशनहरु सम्पन्न गर्ने र अविलम्ब चाँडो पार्टीको १०औं महाधिवेशन आयोजक कमिटी गठन गरी सो को आयोजना मिति सार्वजनिक गर्ने र तयारी अघि बढाउने ।
– नेकपा (एमाले) का सबै जनवर्गीय, सामुदायिक र पेशागत संगठनहरुको महाधिवेशन ६ महिना भित्र सम्पन्न गर्ने ।

– सर्वोच्चको फैसलापूर्व प्रचण्ड नेतृत्वको राजनीतिक समूहमा लागेका नेपाल–खनाल समूहका सबै नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको सापेक्षित रुपमा सम्मानजनक व्यवहार र व्यवस्थापन गर्ने ।
– पार्टीमा संकटका बेला नेतृत्वलाई साथ दिने कार्यकर्ताको कद संकटमा अर्कैसँग लाग्नेहरुको भन्दा माथि नै हुन्छ र हुनुपर्दछ । तसर्थ रिक्त रहेको उपाध्यक्ष पदको जिम्मेवारी रामबहादुर थापा (बादल) लाई प्रदान गर्ने र टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणी थापा, मणीशंकर चौधरी, दावा लामा लगायतका माओवादी केन्द्र परित्याग गरेका सबै नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको उचित व्यवस्थापन गर्ने ।

– संगठनलाई दुई धार (पार्टी निर्माणमा लामो समयदेखि प्रत्यक्ष योगदान गरेका, जेलनेल भोगका नेता, कार्यकर्ताहरु, भूमिगत भएका, पूर्णकालिन भएका नेता, कार्यकताहरुको धार र प्रत्यक्ष अप्रत्यक्ष रुपमा विकास र समृद्धिको यात्रामा योगदान पु¥याउने प्राविधिक एवं दक्ष नेता, कार्यकर्ताहरुको धार) र तीन पुस्ताको पार्टीको रुपमा अघि बढाउने ।

सरकार सञ्चालनका सम्बन्धमा :
वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कार्यगत एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रले करिब दुई तिहाई जनमत प्राप्त गरे । सँगै भएको प्रदेशसभा निर्वाचनमा प्रदेश नं. २ बाहेकका सबै प्रदेशमा सरकार बनाउनेगरी दुई पार्टीले सहुलियत बहुमत प्राप्त गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभामा दुई दलले साझा घोषणापत्रमा छुट्टाछुट्टै निर्वाचन चिन्ह लिएर चुनावमा गएका थिए । वि.सं. २०७५ जेष्ठ ३ गते दुई पार्टीको बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नकपा) बन्यो । वि.सं. २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई दलले कार्यगत एकता नगरी चुनाव लडेको भएपनि करिब दुई तिहाई स्थानहरुमा जित हासिल गरेका थिए । अहिले आएर एमाले र माओवादी केन्द्र नै बनेपछि सरकार चलाउने सन्दर्भमा एमालेको अबको बाटो यस्तो हुन सक्छ ।

– जनता समाजवादी पार्टीसँग सहकार्य गरेर प्रतिनिधिसभामा विश्वासको मत लिने । प्रदेशसभामा समेत सहकार्य गरेर कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने । यस सन्दर्भमा माओवादीसँग नै सहकार्य गरेर सरकार बनाउनुपर्छ भन्ने मत पनि पार्टीमा प्रचण्डसँग गएकाहरुले उठाइरहेका छन् तर छँदाखादाको पार्टी र करिब दुई तिहाई जनमतको सरकारलाई विगठनको संघारमा पु¥याएकाहरुसँगको अहिले नै संगठन के नमिलेजस्तो देखिन्छ ।

– संघीय सरकारको मन्त्रीमण्डललाई पुनर्गठन गर्ने र यसबीचमा तीन पटकभन्दा बढी मन्त्री भएका नेताहरु बाहेकको मन्त्रीमण्डल गठन गर्ने ।
– सबै जाति, भाषा, धर्म, संस्कृति र भूगोलको प्रतिनिधित्व हुनेगरी मन्त्रीमण्डलहरु पुनर्गठन गर्ने ।
– सरकार सञ्चालनका लागि आवश्यक सल्लाह, सुझाव दिनका लागि ‘सरकार सञ्चालन संयन्त्र’ गठन र क्रियाशील गर्ने ।
– प्रदेश सरकार र स्थानीय सरकारहरुलाई थप अधिकार सम्पन्न बनाउने ।
– यसबीचमा संघ, प्रदेश र स्थानीय तहहरुले सम्पादन गरेका सबैखाले कामहरुको विवरणलाई अद्यावधिक गर्ने र स्वेतपत्रको रुपमा सार्वजनिक गरी जनतामाझमा पु¥याउने ।
– निर्वाचनका क्रममा जनतामाझमा बाँडिएका घोषणापत्र, प्रतिबद्धतापत्रको अध्ययन र समिक्षा गरेर बाँकी रहेका कामहरु बाँकी रहेको अवधिमा सम्पन्न गर्ने । साथै समयानुकूल जनमुखी कामहरुलाई अगाडि बढाउने ।

अन्तरविरोधहरुको व्यवस्थापन सम्बन्धमा :
यसबीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र बन्नुपूर्व नै राजनीतिक रुपमा दुई पार्टी विभाजन भइसकेको थियो । माधव नेपाल, झलनाथ खनाल नेतृत्वको एउटा समूह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको समूहमा सामेल थियो । त्यस समूहमा अहिले माओवादीहरु माओवादीमै रहने र एमालेहरु एमालेमै जाने निर्णय भयो । बामदेवको बार्गेनिङ्ग धार चलिनै रह्यो र कायम छ । यस अवस्थामा सतहमा देखिएका र भोली उब्जन सक्ने कतिपय अन्तरविरोधहरुको व्यवस्थापनको लागि यसप्रकारका विकल्पहरु हुन सक्छन् ।

– यसबीचमा पार्टीमा विभिन्न किसिमका फरक–फरक मनोविज्ञानहरु विकास भएका छन् । जसको पार्टी नेतृत्वले उचित किसिमको सम्बोधन र व्यवस्थापन गर्ने ।
– नेतृत्वले फरक सोंच र मनोविज्ञान भएका नेता, कार्यकर्ताहरुलाई Forgive but never forget को मान्यता अनुरुप अपहेलित महसुस हुनेगरीको व्यवहार नगर्ने ।
– विधान विपरितको सबैखाले कार्यशैली, अभिव्यक्ति तथा व्यवहारलाई कारबाहीको दायरामा ल्याउने । पार्टीमा विधि बमोजिम पुरस्कार, प्रोत्साहन र सजायको प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्ने, गराउने ।
– माक्र्सवाद, लेनीनवाद र जनताको बहुदलीय जनवादको प्रकाशमा बहुमतको निर्णय र अल्पमतको संरक्षणलाई व्यवहारत कार्यान्वयन गर्ने, गराउने ।

र अन्त्यमा, मुलुकको तीन वटै तहका सरकारमा अहिले पनि नेकपा (एमाले) बोलवाला अबका दिनमा रहेकाले संविधानको पूर्ण कार्यान्वयन गर्दै नेपाली जनताको जिवनस्तर माथि उठाउने कुरामा ध्यान दिनुपर्नेछ । राष्ट्रियताको सन्दर्भमा नेपाली भूमि रक्षाको लागि चुच्चे नक्सा जारी गरेर पाठ्यपुस्तकमा समेत प्रकाशित गरेर सरकारले अघि बढाएको कदमलाई निश्कर्षमा पु¥याउनुपर्नेछ । नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको महाअभियानलाई सफलीभूत बनाउनको लागि पार्टीको तर्फबाट आवश्यक मार्गनिर्देश गर्नुपर्नेछ । उल्लेखित कामहरु गर्दै पार्टीको सैद्धान्तिक जग, नीति र नेतृत्वमा कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्दै नेकपा (एमाले) र सूर्य चिन्हको पक्षमा आम मानिसहरुलाई गोलबद्ध गर्दै अगाडि बढ्नु नै आजको नेकपा (एमाले) को मूल बाटो हो ।

(लेखक एमाले इलाम जिल्ला कमिटीका कार्यालय सचिव हुन् ।)

प्रकाशित मिति : फाल्गुन २८, २०७७ शुक्रबार  २ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]