मलमुत्रको उपयोगिता
सम्पादकीय
झापाको कृषि क्षेत्रमा मानव मलमुत्रको उपयोगिता बुझ्न थालिएको छ । रसायनिक मलले मानव स्वास्थ्यमा असर गर्दैगर्दा कृषकले बल्ल नयाँ संकल्प थालेका छन् । मलको विकल्पमा प्राङ्गारिक मलको प्रयोग गर्न थालेका किसान पछिल्लो समय मानव मलमुत्र प्रति आकर्षण बढाएका छन् । कृषि क्षेत्रमा मानव मलमुत्रको प्रयोग गरेर माटोको समेत सुधार गर्ने अभियान थालिरहेका छन् । जिल्लामा रहेका सेफ्टी ट्याङ्कीहरुबाट किसानले मानव मलमुत्र लिन थालेका छन् । यसले मलमुत्रको उपयोगिता बुझाएको स्पष्ट छ ।
हरेक घरमा हुने मानव मलमुत्र प्रयोगलाई प्रभावकारी बनाउन सकिन्छ । उपयोगिता बुझेका किसानले यसको प्रयोगलाई बढाइसकेका छन् । फोहोरका रुपमा लिइने मानव मलमुत्रको व्यवस्थापन उचित रुपमा हुन थालेको छ । विगतमा पनि फोहरलाई मोहर बनाउने अभियान केही स्थानीय तहहरूले गरे तापनि सरकार परिवर्तनसँगै ती योजनाहरू सरकारको प्राथमिकतामा नपरेका कारण मूर्त रूप लिन सकेको देखिँदैन । पछिल्लो समयमा केही स्थानीय तहहरूले फोहर व्यवस्थापनलाई प्राथमिकता दिंदै प्लास्टिकजन्य फोहरबाट सडक कालोपत्रे गर्ने कार्य गरेका छन् भने कागजहरूबाट हाते ब्यागहरू, कम्पोस्ट मलहरू उत्पादन गरी स्थानीयहरूलाई आत्मनिर्भर र रोजगारीसमेत प्रदान गरेका उदाहरणहरू हामीमाझ नभएका होइनन् ।
मानव मलमुत्रसँगै अन्य फोहरमैलाबाट जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गरी स्वच्छ, सफा र स्वस्थ सहर निर्माणका लागि सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई फोहरमैलाको व्यवस्थित र प्रभावकारी व्यवस्थापनका बारे जिम्मेवारी बोध हुनु आवश्यक छ । फोहरबाट मोहर बनाउने प्राविधिक सीप, ज्ञान तथा क्षमतालाई स्थानीय निकायमा लागू गराउन सकिएको खण्डमा फोहरलाई मोहर बनाउन सहज हुने विश्वास गर्न सकिन्छ । यसैले आगामी दिनमा यसको प्रयोग र व्यवस्थापनमा सबैले चासो दिऊ ।