बैशाख ६, २०८१ बिहीबार

एमाले र माओवादीको दोसाँधमा माधव–झलनाथहरु

नवराज शंकर

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पाटी एकिकरण गर्ने आ–आफ्नो स्वार्थ केन्द्रीत हतारोका नेपाली राजनीतिमा पछिल्लो दुई÷तीन बर्षमा निक्कै ठूला उथलपुथलहरु देखिए ।

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेससँग घाटी जोडेको माओवादी र उक्त निर्वाचनमा पहिलो पार्टी भएको एमालेका बीचमा दुई पार्टीबीच चाँडै नै एकता गर्नेगरी सोही सालको मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कार्यगत एकता भयो । दुवै पार्टीको तर्फबाट एउटै साझा घोषणापत्र र साझा उम्मेद्वार अघि सारियो । त्यसबेला माओवादीको जालझेलका कारण चुनाव चिन्ह एउटै हुन सकेन ।

निर्वाचनपछि छ पनि महिना पुग्न नपाउँदै दुई अध्यक्षको स्वार्थ केन्द्रीत हतारोकै कारण वि.सं. २०७५ जेष्ठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता भयो । एमाले र माओवादी केन्द्रको एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनाव चिन्ह सूर्य हुन पुग्यो ।

एकातिर एमाले अध्यक्ष ओलीको बहुमत प्राप्त दलको प्रधानमन्त्रीको रुपमा पाँच बर्षसम्म मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने स्वार्थ अर्कातिर माओवादी अध्यक्ष प्रचण्डको निर्वाचनमा आफ्नो पार्टीले धुलो चाट्ने अवस्था (समानुपातिकको मत परिणामले प्रमाणित गर्छ) बाट जोगाएर आफ्नो र पार्टीको सेफल्याण्डिङ्ग गर्ने स्वार्थ एवं हतारोका कारण दुई पार्टीहरु एक भए ।

एमाले र माओवादी केन्द्र एक त भए तर यो बीचमा एउटा भनाई बहुत चर्चित भयो– ‘तोरी र कोदो मिसाईयो तर न तेल निस्कियो न पिना नै निस्कियो ।’ एकताको ३४ महिनाको अन्तरालमा न पार्टीको सांगठानिक एकताले पूर्णता भयो न त आपसमा भावनात्मक एकता नै देखियो । अन्ततः वि.सं. २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको पछि एकता भंग भयो । फैसलाले नेकपा ऋषि कट्टेललाई दियो भने ओलीलाई साविककै एमाले र प्रचण्डलाई पनि साकिकै माओवादी केन्द्र दियो ।

यसबीचको अवधिमा पार्टी गुटहरुको महासंघ बन्न पुग्यो । शुरुका केही महिना ठीकठाक चलेको पार्टीमा स्वार्थका नयाँ समिकरणहरु बन्न पुगे । पार्टी महाधिवेशन अगाडि नै माधव नेपालललाई पार्टीको अध्यक्ष हुनुपर्ने अनि आगामी निर्वाचन अगाडि नै झलनाथलाई राष्ट्रपति हुनुपर्ने र प्रचण्डलाई प्रधानमन्त्री हुनुपर्ने स्वार्थहरुको मिलाप भएपछि पार्टीको पहिलो अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि चौतर्फी घेराबन्दी र आक्रमण शुरु भयो । परिणामतः पार्टीको अवस्था आजको दिनमा आइपुग्यो । तरपनि एमाले र माओवादी केन्द्र नै भइसक्दासम्म माधव–झलनाथ र तिनका पछि लागेका केही नेताहरु प्रचण्डका मामुली कार्यकर्ताझैं नै गरिरहेका छन् ।

अन्ततः नेकपामा बिग्रह ल्याउन माधव नेपाल, झलनाथ खनाल र उनीहरुका पछि रहेका केही थान नेताहरु प्रचण्डको मतियार बन्न पुगे । अन्यता नहोस् कि प्रचण्डको त पेशा नै पार्टी फुटाउने हो भन्दा फरक नपर्ला । रुची भनेको नै विदेशीको इशारामा राजनीतिक बिग्रह र अस्थिरतामा रमाउने हो भन्दा फरक नपर्ला । यही पेशा र रुचीमा नै वहाँ आफूलाई कम्फरटेबल ठान्नुहन्छ भन्ने लाग्छ । मसाल विगठन गरें, एकता केन्द्र विगठन गरें, माओवादी सकें अब नेकपा सक्छु त पटक पटक भनेकै हो जुन प्रचण्डकै अगुवाईमा पुरा भइछाड्यो ।

नेकपा साविक एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेपछि माधव नेपाल र झलनाथ खनालहरुको हुलिया एमाले भनौं माओवादी जस्तो माओवादी भनौं एमाले जस्तो छ । आजको दिनमा उनीहरुहरु एमाले र माओवादीको दोसाँधमा हुनुहुन्छ । आफूहरुलाई असली एमाले हुँ भन्ने उनीहरुको अहिले पनि प्रचण्डसँगै नाबी गाँसिएको छ, माओवादीको बैठकमै छिर्नुहुन्छ, सँगै हुन्छौं भन्नुहुन्छ । माओवादी हो भनौं भने अदालतले घोक्राएर एमाले बनाईदियो भन्नुहुन्छ । ठूलो विरोधाभाष पनि देखिन्छ ।

नेकपामै हुँदा बहुमतको नाममा केपी ओलीलाई होटेलमा भेला भएर अध्यक्षबाट हटाउने, सडकमा बसेर संसदीय दलबाट हटाउने, पार्टी सदस्यबाट समेत निश्कासन गर्ने सम्मको हर्कत देख्न पाइयो । आज एमालेलाई कमजोर बनाएर प्रचण्डको गाथा गाउँदै हिन्ने, पार्टी र जनसंगठनहरुमा समानान्तर संरचनाहरु बनाउँदै हिन्ने हर्कत गर्दा ओलीले कारबाहीको डण्ठा उठाउने बित्तिकै के को रुवाबासी हो ? कि इमान्दारीतापूर्वक पाटी काममा फर्केर एमालेमै बस्नु कि त प्रचण्डसँगै माओवादीमा जानु । अब चाहीँ किन र कस्का लागि एमालेमा बिग्रह ल्याउन लाग्या हो नि ?

वि.सं. २००६ सालमा नेकपाको स्थापना भएपछिको यो बीचको सात दशकको इतिहास भनेको एकता कम अनि टुटफुट र विभाजन बढी भएको इतिहास हो । स्थापनापछि विकास हुँदै जाने क्रममा आजको एमाले भनेको वि.सं. २०२८÷०२९ को नक्सालवाढी आन्दोलनबाट प्रभावित झापा विद्रोह, वि.सं. २०३१ सालमा बनेको कोअर्डिनेशन केन्द्र, वि.सं. २०३४ सालमा बनेको नेकपा (माले), वि.सं. २०४७ मा नेकपा (एमाले) र वि.सं. २०७५ सालमा नेकपा हुँदै पुनः एमाले हुने क्रममा मुलुकको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो । जसको एकता बढी र विभाजन कमको इतिहास छ ।

आज माधव–झलनाथहरु बजारमा खरानी बिक्छ भन्ने सुनेपछि आफ्नो घर आगो लाएर खरानी बेच्ने धन्दामा लागि परेका छन् । जसले न मुलुक बन्छ, न त पार्टी नै बन्छ । त्यही आगोले विस्तारै विस्तारै उनीहरुलाई नै खरानी बनाउँदैछ । बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह, मणी थापा, दावा लामा, गौरीशंकर चौधरी, टंक आम्बुहाङ्ग, श्रीप्रसाद जबेगू लगायत माओवादी नेताहरु ओलीका संकटका सारथीहरु हुन् । जुन प्रचण्डको जनयुद्धदेखिको एउटा प्लट नै ओलीमा समाहित भएको छ । आज माधव–झलनाथहरुलाई त पार्टीको सम्पत्तिको रुपमा बुझ्न जरुरी छ, बोझ र अंशीयारको रुपमा होइन ।

ओलीभन्दा धेरै अगाडि माधव नेपालले डेढ दशक पार्टीको नेतृत्व गर्नुभयो झलनाथ खनालले करिब ७ बर्ष पार्टीको नेतृत्व गरे । दुवै जना देशको प्रधामन्त्री समेत भइसकेको व्यक्तित्व हो । तर अहिलेको उनीहरुको लोभ, लालसा देख्दा लाग्छ गौरवपूर्ण इतिहास आजको वर्तमानमा विकृत हुँदै घृणित रुपमा विसर्जन हुँदैछ । तसर्थ एमाले र माओवादीको दोसाँधमा अलपत्र पर्नुभन्दा चाँडै नै कि एमाले कि त माओवादी हुने सद्बुद्धि माधव नेपाल र झलनाथ खनालहरुमा पलाओस् शुभकामना छ ।

(लेखक : नेकपा एमाले इलाम जिल्ला कमिटीको सचिवालय सदस्य एवं कार्यालय सचिव हुनुहुन्छ ।)

प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]