जेष्ठ ३, २०८१ बिहीबार

झापामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम चरणमा

बिर्तामोड । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जिल्ला स्तरीय छनोटको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार झापामा यही बैशाख ३, ४ र ५ गते मेची रंगशालामा छनोट खेल हुने छन् ।
झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा भाग लिन पाउनेछन् । राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६ विधामा प्रतिस्पर्धा हुने मैनालीले बताए ।

एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका प्रतिस्पर्धाबाट ७६ जना खेलाडी छनोट हुनेछन् । ६ वटै विधामा छात्र र छात्राको अलगअलग सहभागिता र प्रतिस्पर्धा रहनेछ । छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोटमा भाग लिन पाउने मैनाली जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा १३ इभेन्टस्, कराते, तेक्वान्दो र उसुमा चारचार इभेन्टस् हुनेछन् । जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीले यही बैशाख १० र ११ गते प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने छन् । प्रदेशमा छानिएको खेलाडीले बैशाख २९ गतेबाट हुने राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नेछ । झापामा जिल्लास्तरीय छनोटमा खेलाडी, प्रशिक्षक र अफिसियल गरेर झन्डै एक हजार पाँच सय जना सहभागी रहने छन् ।

प्राविधिक, निर्णायक र रेफ्री मात्र १५० जना हुने समितिले जनाएको छ । झापामा एथ्लेटिक्सबाट ११-११ जना छात्रछात्रा, कबड्डी र भलिबलबाट ९÷९ जना छात्रछात्रा तथा कराते, तेक्वान्दो र उसुबाट ३-३ जना छात्रछात्रा गरी ७६ जना खेलाडी छनोट हुने मैनालीले बताए । प्रत्येक खेलबाट एक एक जना गरी ६ जना प्रशिक्षक र एक जना टोली नेताले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]