बैशाख १४, २०८१ शुक्रबार

इजलास भुई मान्छेको आवाज बनोस्

मनोज ताम्ली

राज्यको चौथो अङ्गको रुपमा हेरिएको पत्रकारिता आज सुचना र प्रविधीको विकाससँगै यसको प्रभावकारिता र विश्वसनीयताको सवालमा फरक–फरक ढङ्गले विश्लेषण भएको पाइन्छ । पत्रकारिता निस्पक्ष, स्वतन्त्र, अन्यायमा परेकाहरु, समाजमा कमजोर मानिएका, सरकारसँग पहुँच नभएका र आवाज विहीनहरु आवाज बनेर समाजमा चेतनाको प्रवाह गर्दै समाज रुपान्तरणमा पत्रकारिताले महत्वपुर्ण भुमिका खेलेको छ र खेलिरहनेछ ।

मुलुकको सामाजिक राजनीतिक र आर्थिक परिवर्तनमा स्वतन्त्रपूर्वक चलेका कलमको महत्वपुर्ण योगदान रहेको छ । बि.स. १९०८ मा जंगवहादुर राणाले बेलायतबाट फर्कदा फलामे हाते प्रेस ( जसलाई गिदे प्रेस भनिन्छ) भित्राएसँगै नेपालको पत्रकारिताको शुरुवात भएको मानिन्छ । सन् १९५५ मा सुधासागर नेपालवाट प्रकाशित पहिलो पत्रिका हो भने नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका गोरखापत्र हो । नेपालमा पत्रकारिताको इतिहास हेर्दा पछिल्लो समयमा सूचना र प्रविधिको विकासले पत्रकारिता पनि द्रुत गतिमा भएको पाइन्छ । हिजो पत्रकारिताको पहँुच दुर दराजमा कम थियो । आज डिजिटल युगमा काठमाण्डौंको घटना देशको जुन सुकै ठाउँबाट प्रत्यक्ष प्रशारणको माध्ययमबाट तत्काल थाहा पाउने अवस्था छ । सामाजिक संजालले सूचना सम्प्रेशण गर्ने कुरामा सर्वसाधारणको पनि सहज पहुँच बनाइरहेकोे छ ।

आज सूचनालाई महत्वपुर्ण हतियारको रुपमा लिन सकिन्छ । जो सँग बढि सूचना छ उहि बढि शक्तिशाली मानिन्छ र उनीहरुले त्यो सूचनाको प्रयोग गरेर धेरै उपलब्धी हासिल गर्न सक्छन् । वर्तमान समयमा सत्यताको गहिराइसम्म पुग्नु भन्दा हतारमा सस्तो लोकप्रियताका लागि यथार्थ भन्दा पर पुगेर टी.आर.पी को लागि चर्चामा आउने प्रकृतिको पत्रकारिता विकास भएको पाइन्छ ।
एक दर्जन दैनिक पत्रिकाहरुमध्ये झापाको कान्छो पत्रिकाको रुपमा २०७४ साल बैशाख १ गते बाट दैनिक प्रकाशनमा रहेको इजलास दैनिकले समाजको विभिन्न पाटोमा आफ्नो स्वतन्त्र कलम चलाउदै स्थानीय स्तरमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको छ । स्थानीय स्तरमा भएको व्यतिथीको विरुद्ध सशक्त ढङ्गले लागेको पाउन सकिन्छ । झापाको एक विधालयको प्रअले लामो समयसम्म विधालयमा गरेको भ्रष्टाचार र अनियमितताको भण्डाफोर, लघुवित्त तथा बैंकको कारणले सर्वसाधारणको जीवनस्तरमा परेको नकरात्मक असरको भण्डाफोर, जीर्ण अवस्थामा रहेको विधालयको यथार्थ रिपोटिङले आज विधालय विधालयको स्वरुपमा आएको परिवर्तनका लागि यस पत्रिकाले खेलेको महत्वपुर्ण भुमिकाकालाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।

जलास स्थानीय तहको काम जनतालाई सुचित गर्ने कुरामा अगाडि रहेको पाइन्छ । युवा उद्यमीको सफलताको कथाको माध्ययमबाट हजारौ युवा उत्प्रेरित हुने अवसर प्राप्त गरेको छन् । जनसरोकारको विषयमा सारा शक्ति विपक्षमा हुँदा पनि सत्यको पक्षमा दृढता पूर्वक एक्लै निरन्तर लागेर सत्यतथ्य बाहिर निकालेरै छोड्ने पत्रिकाको विशेषता हो । यति सकारात्मक कुरा हुँदा हुदै यस पत्रिकालाई केहि आरोप लाग्ने गरेको छ । त्यसमा केहि सत्यता पनि हुन सक्छ । केहि मानिसमा यो पत्रिकाले बढि राजनीतिक पूर्वाग्रह राख्ने गर्छ भन्ने आरोप पनि लागेको पाइन्छ । विचार र आस्थाको हिसावमा राजनीतिक विचार धारमा झुकाव राख्ने कुरा ठुलो होइन तर पत्रकारितालाई राजनीतिसँग मिसाउने कुरा बेठिक हुन जान्छ ।

इजलास दैनिक चौथो वर्ष पुरा भएर पाँचौ वर्ष लागेको अवसरमा पत्रिकालाई हार्दिक शुभकामना दिन चहान्छु । यस पत्रिकाले खोज अनुसन्धानमा वढि जोड दिनुपर्ने देखिन्छ । आज पनि नागरिकहरु सूचनाको अभावले धेरै अवसरवाट वञ्चित भै रहेको छन् । आवाज विहीनहरुको आवाज, अन्यायमा परेकाहरुलाई न्याय दिलाउन अझ सशक्त ढङ्गले लाग्दै समतामुलक समाज निमार्ण गर्नका लागि महत्वपुर्ण भुमिका खेल्न अनुरोध पनि गर्दछु । सत्य समाचार भन्दा नि चर्चा कमाउने नकारात्मक कुरालाई प्रचारमा ल्याएर जनतामा भ्रम छर्ने पत्रिका भन्दा फरक रहेर सत्य तथ्य समाचारमा प्रकाशन गर्ने पत्रिकाको रुपमा पहिचान बनाउन जरुरी छ । आज सामाजिक संजालले सूचना सम्प्रेशण गर्ने कुरामा सर्वसाधारणको पनि सहज पहुँच रहेको छ । त्यसैले यो पत्रिकाले अझ धेरै विषय वस्तुको खोजमुलक सामग्रीको अध्ययन गरी झापाली पाठकहरु विच लोकप्रिय बनोस् भन्ने सुभेक्षा राख्दछु ।

आज मिडिया शक्तिशाली व्यक्तिहरुको नियन्त्रणमा रहेको जस्तो देखिन्छ । केहि व्यक्तिहरुले समाजलाई मिस गाइड गर्न पनि मिडियाको दुरुपयोग गरे जस्तो देखिन्छ । ठुला उधोगी व्यापारी, राजनीतिज्ञ र प्रतिष्ठित व्यक्तिहरुको नितान्त व्यक्तिगत कुराहरु वा उनीहरु रुचीको कुरा समाचारको विषय बनेको देखिन्छ । वास्तवमा मिडियाले भुई मान्छेहरुको प्रतिनिधित्व गर्नुपर्ने हो । सामान्य मान्छेहरुको कथा व्यथा र अवस्था वोल्नु पर्ने हो । आज सडकमा मकैं पोल्ने, दिनभर मजदुरी गरेर गुजारा गर्ने जस्ता मान्छेको कथाले स्थान पाउनु पर्छ । अव इजलास भुई मान्छेको आवाज बन्नु पर्छ ।

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]