जेष्ठ ६, २०८१ आईतबार

कोभिड–१९ अस्पताल धरानमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढ्दै

धरान। सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढेको छ । एक महिना अघि शून्य झँै रहेको विरामी भर्ना एकसाता यता बढेको हो । नेपाल भारत सीमाको विहारसहित विभिन्न प्रान्तमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुनसरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढेकाले भर्ना दर पनि बढेको हो ।

सङ्क्रमितको सङ्ख्या बढेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या एकसाता यता उल्लेख्यरूपमा वृद्धि भएको अस्पतालले जनाएको छ । यसअघि करिब तीन महिना जति सुनसान जस्तै रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा पछिल्लो समयमा १५ जना भर्ना भएका छन् ।

तीमध्ये दुईजना आइसियुमा र दुईजना हाईडिपेण्डेन्सी युनिटमा भर्ना भएका छन् । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार शनिबारमात्र पाँचजना नयाँ सङ्क्रमित भर्ना भएका छन् । थपिएका नयाँ सङ्क्रमितहरूमा कोरोनाको कुन भेरियण्ट हो भन्ने अहिलेसम्म जानकारीमा आएको छैन ।

कोरोनाको नयाँ भेरियण्ट तीव्र सङ्क्रमण गर्ने खालको भएको वैज्ञानिकहरूले बताउँदै आएका छन् । प्रतिष्ठानमा १५ आइसियु, २५ हाईडिपेण्डेन्सी युनिट (एचडियु) र ६० जनरल बेड रहेका छन् । ती बेडहरूमा प्रतिष्ठानले अक्सिजन आपूर्तिका लागि अक्सिजन प्लाण्टबाटै जोडिएको अक्सिजन पाइपलाइन जोडेको डा. पोखरेलले बताउनुभयो ।

यता स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा बढी इटहरी उपमहानगरपालिकामा २० जना, धरान उपमहानगरमा १५ जना र इनरुवा नगरपालिकामा ५ जना कोरोना सङ्क्रमित थपिएको छ ।

प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]