जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड जग्गा प्रकरण : मालपोत अधिकृतदेखि कम्प्युटर अपरेटसम्म फरार

पार्थ मण्डल

झापा । बिर्तामोडका स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा अर्कोलाई बिक्री गरेको रहस्य बाहिरिएसँगै जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाका अधिकृतसहित कम्प्युटर अपरेटरसम्मका कर्मचारी फरार भएका छन् । 
झापा जिल्ला अदालत भद्रपुरले घटनामा संलग्न भएको व्यक्तिको नाममा थुनछेकको आदेश जारी गरेपछि मालपोत तथा तथा भूमि सुधार कार्यालयका पाँच जना कर्मचारी फरार भएका हुन । फरार नभई उनीहरू बिदा बसेको मालपोत तथा तथा भूमि सुधार कार्यालयका प्रमुख मालपोत अधिकृत योगेन्द्र दुलालले बताएका छन् ।

मालपोत अधिकृत चेतन अधिकारी, मोठ फाँटका सुब्बा हरि तिवारी, रजिस्ट्रेसन फाँटका सुब्बा चैतन्य घिमिरे, खरदार हेम शर्मा र कम्प्युटर अपरेट झलेन्द्र बराल विगत केही दिनदेखि कार्यालयमा उपस्थिती नभएको लेखापढी व्यवसायीहरु बताउँछन्। अदालतले पाँच जनामध्ये दुई जनाको नाममा थुनछेक आदेश जारी गरेको प्रहरी स्रोतले जनाएको छ । अन्य तिन जना घटनामा मुछिने डरले फरार भएको हुने सक्ने बताइएको छ । साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अदुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै स्वर्गीय टुंङगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका–७ निवासी रञ्जु राईको नाममा रजिस्ट्रेसन पास भएको छ । 

२०७७ साल माघ २१ गते राईको नाममा रजिस्ट्रेसन पास भएको छ । तर, जग्गाधनी बस्नेतको २०७६ साल साउन २४ गते मृत्यु भइसकेको थियो । नक्कली टुंङगबहादुर बनेका व्यक्तिले ७१ वर्षको उमेर खुलाएर काठमाडौँ जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाएका । उनले २०७६ असोज २८ गते बाह्रदशी गाउँपालिका–३ डाँगावारि बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएको र राजवंशीले राईलाई सो जमिन ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा बिक्री गरेको मालपोतको स्रेस्तामा देखिन्छ ।  

कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती 
माई पूर्वका कनकाई, बिर्तामोड, अर्जुनधारा, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, हल्दिबारी, कचनकवल र बाह्दशी गरी आठ वटा स्थानीय तहको जग्गा सम्बन्धी सबै काम मालपोत तथा भूमि सुधार कार्यालय झापा भद्रपुरले हेर्न गरेको छ । विभागले त्यसका लागि कार्यालयमा प्रमुख मालपोत अधिकृतदेखि कम्प्युटर अपरेटरसम्म ५३ जना कर्मचारी दरबन्दीमा खटाएको छ । तर, हाल कार्यालयमा करिब एक दर्जन कर्मचारी छैनन् । जग्गा प्रकरणमा मुछिएका पाँचसहित तीन जना मालपोत अधिकृत, अन्य केही कर्मचारी बिदामा बसेका छन् । 

कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा एक दिनमा हुने काम चार दिन सम्ममा पनि नसकिँदा सेवाग्राही सास्तीसँगै हैरानी बेहोर्नु परेको छ । सेवाग्राही कमल राईले भने, जमिन रजिस्ट्रेसन पास गराउन आएको आज चार दिन भयो, अझै पनि काम सकिएको छैन । मालपोत अधिकृत नहुँदा एक दिनमा हुने काम चार दिनसम्म धाउनु परेको अर्को सेवाग्राही मञ्जु राजवंशीले बताइन् । ‘मैले बुझे अनुसार पाँच जना अधिकृत हुनु पर्नेमा अहिले एक जना अधिकृतले सबै काम हेरिरहेका छन्, त्यसैले गर्दा पनि कार्यालयको कामकाजमा ढिलासुस्ती भएको हो, उनले भनिन् ।’
 यता प्रमुख मालपोत अधिकृत दुलालका अनुसार कार्यालयमा पाँच जना मालपोत अधिकृतको दरबन्दी रहेको छ । अहिले दुई जना अधिकृत मात्रै कार्यरत छन् । अधिकृतद्धय चेतन अधिकारी र कमल पनेरु । त्यसमा पनि अधिकृत अधिकारी बिदामा बसेका छन् । अधिकृत पनेरुले सेवा दिइरहेको उनले बताए । 

केही दिनअघि अधिकृत लक्ष्मी खरेलको बढुवा भएपछि उनी सरुवा भएर गइसकेका छन् । अन्य दुईको दरबन्दी खाली थियो । खरेल गएपछि अहिले तीन जना अधिकृतको दरबन्दी खाली भएको उनले बताए । 

कार्यालय कर्मचारी नहुँदा दैनिक कामकाज प्रभावित बनेको स्विकार्दै प्रमुख मालपोत अधिकृत दुलालले भने, ‘विभिन्न घटनाका कारण अहिले अधिकृतहरू मालपोत आउन चाहँदैनन्, उनीहरू स्थानीय तहमा जान रुचाउँछन्, त्यसैले पनि समस्या उत्पन्न भएको हो ।’ ‘कामकाजलाई छिटोछरितो र सहज बनाउने हाम्रो दायित्व हो,’ उनले भने, ‘त्यही भएर अधिकृत नहुँदा अहिले रजिस्ट्रेसन फाँटका सुब्बालाई अधिकृत सहरको जिम्मा दिएका छौँ ।’ 

दुई दर्जन व्यक्तिको नाम थुनछेक आदेश

झापा जिल्ला अदालतले बस्नेत जग्गा प्रकरणमा मुछिएका व्यक्तिको नाममा थुनछेक आदेश जारी गरिसकेको प्रहरी स्रोतले जनाएको छ । अदालतले थुनछेक आदेश जारी गरेसँगै प्रहरी कार्यालय झापाले जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालिसकेको छ । 
झापा प्रहरीले अहिलेसम्म १० जना बढीलाई पक्राउ गरिसकेको छ । तर, उनीहरूको नाम प्रहरीले खुलाउन चाहेको छैन । पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले छानबिन गरिरहेको छ । प्रहरीले हालसम्म वारेसनामा भएका व्यक्ति बाह्रदशी–३ का मङ्गलसिंह राजवंशी, जग्गा किन्ने रञ्जु राई र उनका श्रीमान् गोविन्द राईसहित १० जनालाई पक्राउ गरेको हो । व्यक्तिको जग्गा हडप्ने उनीहरूमाथि  सांगठानिक गिरोह अपराधमा प्रहरीले अनुसन्धान थालेको छ । 
प्रहरीले अनुसन्धान थालेको पनि झन्डै दुई महिना बित्न लाग्यो । तर, अहिलेसम्म फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

यता प्रमुख मालपोत अधिकृत दुलालले बस्नेत जग्गा प्रकरणमा कर्मचारीको कुनै दोष नरहेको दाबी गरेका छन् । ‘अदालतबाटै व्यक्तिको नाममा वारेसनामा आएपछि सोही अनुसार कर्मचारीले जमिनको रजिस्ट्रेसन पास गरेको हो,’ उनले भने, ‘कार्यालयका कर्मचारीलाई कसरी थाहा हुन्छ, को व्यक्ति सही वा गलत हो भनेर रु हामीले त अदालतको कागज अनुसार काम गरेका छौँ ।’ ‘कार्यालयका पुराना कर्मचारीहरू सरुवा भएर अन्यत्र जानु, अनि नयाँ कर्मचारी आएपछि घटना हुनु, यो बाहिरीबाटै ठुलो योजना बनेको हुनुपर्छ, उनले भने ।’  टाइम्स अफ प्रदेशबाट

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  ४ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]