बैशाख ८, २०८१ शनिबार

विहारसँग सीमा जोडिएको झापा गौरीगञ्जको वडामा बन्दाबन्दी

झापा – झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जको वडा नं १ मा सात जनामा एकैचोटी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी गरिएको छ । सो वडा भारतको विहारसँग सीमा जोडिएको छ । 

गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सो वडामा वैशाख २० गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दीमा अतिआवश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । हाटबजार, यातायात, कलकारखानालगायत सर्वसाधारणको आवतजावतमा समेत रोक लगाइएको छ ।

भारतमा तीर्थयात्रा गरेर फर्किएका सात जनामा हालै कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायस्तरमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्काले बन्दबन्दी गर्नुपरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । 

मेचीनगरमा उच्च सतर्कता

नाकाबाट हुने आवतजावतबाट कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनेर मेचीनगर नगरपालिकाले उच्च सतर्कता अपनाउँदै सरोकारवाला सङ्घसंस्थासँग मिलेर विभिन्न रोकथामका प्रयास थालेको छ । नगरका प्रमुख विमल आचार्यले यातायात व्यवसायी, मजदुर सङ्घसङ्गठन, वित्तीय संस्था र व्यवसायीसँग मङ्गलबार यस विषयमा छलफल गरे। 

छलफलमा सरोकारवाला संस्थाका प्रतिनिधिले नाकामा थप कडाइ गर्न, होल्डिङ सेन्टर व्यवस्थित गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको अनुगमन गर्न सुझाव दिएका थिए ।

काँकडभिट्टा मुलुकका विभिन्न भागसम्म यातायात सञ्चालन गर्दै आएको प्रस्थान विन्दु भएको हुँदा यहाँ हुने सानो कमजोरीले मुलुकभरि सङ्क्रमण फैलिने जोखिमलाई कसैले पनि नजरअन्दाज गर्न नहुने सहभागीहरुको धारणा थियो । सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु र कर्मचारी दुवै पक्षले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने नगरप्रमुख आचार्यको आग्रह थियो । सामाजिक दूरी कायम नगर्ने र मापदण्ड पालना नगर्ने यात्रुलाई सेवा नदिनसमेत सुझाव दिइएको छ ।

भारतसँग सीमा जोडिएको प्रमुख नाका काँकडभिट्टामा थप कडाइ गरिए तापनि नाकाभन्दा उत्तर र दक्षिणतर्फका गौडाहरूबाट सुरक्षाकर्मीको आँखा छलेर निर्वाध आवतजावत चलिरहेको छ । खासगरी अवैध धन्धामा संलग्न साना व्यवसायी र भारतीय नागरिकको ओहोरदोहोर त्यस्ता गौडाहरुबाट हुने गरेको छ । नकलबन्दा, तिरिङ, ज्यामिरगढी, महेशपुर, केचना, गौरीगञ्जलगायतका गौडामा बढ्दो अवैध आवागमनलाई रोक्न आवश्यक देखिएको छ ।

गत वर्ष भारतसँगको सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी चौकी निर्माण गरेर कडा सुरक्षा व्यवस्था मिलाइएको तर यसपालि सीमामा त्यस्तो बाक्लो सुरक्षाको प्रबन्ध छैन । सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीमा मात्र सुरक्षाकर्मी तैनाथ छन् ।

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार  १२ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]