बैशाख १३, २०८१ बिहीबार

कफी खेतीमा सहयोग बढ्दै

कोकिला ढकाल

इलाम । इलाममा कफी खेतीबाट उत्पादन राम्रो हुन थालेपछि खेती विस्तारका लागि सरकारी निकायबाट पनि सहयोग उपलब्ध गराउन थालिएको छ । चिया तथा कफी विकास बोर्डले कफीका बिरुवा तयार पार्न र रोप्नका लागि किसानलाई सहयोग उपलब्ध गराउन थालेको हो । बोर्डले यो वर्ष दुई लाख बिरुवा उत्पादन गर्न र सामूहिक रूपमा ५० रोपनीभन्दा बढी क्षेत्रफलमा खेती विस्तार गर्न कार्यक्रम नै सुरु गरेको जनाएको छ ।

एउटा कृषक समूह अथवा सहकारीलाई कम्तीमा ५० हजार बिरुवा तयार गर्न लागत साझेदारीमा कार्यक्रम सुरु गरिएको बोर्डले जनाएको छ । देउमाई नगरपालिका–५ स्थित प्रगतिशील कफी उत्पादक सहकारी संस्था, इलाम नगरपालिका–११ स्थित जैमिन कृषि फार्म, सूर्योदय नगरपालिका–१४ स्थित सदाबहार कफी उत्पादक सहकारी संस्था, माईजोगमाई गाउँपालिका–६ स्थित यामसानी कृषि फार्मलाई दुई लाख बिरुवा उत्पादन गर्न जिम्मेवारी दिइएको सूर्योदय नगरपालिकामा रहेको बोर्डअन्तर्गतको चिया विस्तार आयोजनाका प्रमुख इन्द्र अधिकारीले बताउनुभयो ।

यी सहकारी तथा फार्मलाई लागत साझेदारीमा बोर्डले तीन लाख ८४ हजार रुपियाँका दरले सहयोग उपलब्ध गराएको छ । माईजोगमाई–६ स्थित नवद्वीप बहुउद्देश्य कृषि तथा पशुपालन समूहलाई भने कफीका बिरुवा रोप्न सहयोग गरिएको आयोजनाले जनाएको छ । यो संस्थालाई कम्तीमा ५० रोपनी क्षेत्रफलमा कफीका बिरुवा लगाउने गरी सात लाख ५० हजार रुपियाँ उपलब्ध गराइएको जनाइएको छ ।

आठ सयदेखि १६ सय मिटरसम्म दैनिक दुई घण्टासम्म घामको किरण पर्नसक्ने बलौटे दोमट माटो आवश्यक पर्ने कफी खेती विस्तार गर्न छाया बिरुवा पहिलो आवश्यक रहेको आयोजना प्रमुख अधिकारी बताउनुहुन्छ ।

चियाको जिल्ला भनेर चिनिने इलामको केही भागमा कफी पनि राम्रो उत्पादन भएको पाइएपछि चिया नहुने स्थानमा कफी खेती लगाउने योजना अघि सारिएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई बताउनुहुन्छ । “इलाममा कफीको सम्भावना राम्रो पाइएपछि उत्पादन पर्याप्त बनाउने र प्रदेशमै प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य छ,” भट्टराईले भन्नुभयो, “अहिले पनि नेपाली कफीको माग विदेशी बजारमा राम्रो छ । ”

बिरुवा रोपेको चार वर्षपछि चार वर्षपछि राम्रो उत्पादन दिने कफीको एउटा बोटबाट कम्तीमा १५ किलोसम्म उत्पादन हुने गरेको किसान बताउँछन् तर सहज बजार नहुँदा कम मूल्यमा कफी बिक्री गर्नुपरेको इलाम गजुरमुखीका किसान यम कार्कीले बताउनुभयो । यो वर्ष प्रतिकिलो सरदर एक सय रुपियाँका दरले कफीको काँचो दाना किसानले बिक्री गरेका छन् ।

पाँच वर्षयता कफीको व्यापार गर्दै आउनुभएका इलाम बजारस्थित केदार खत्रीले काँचो दाना खरिद गरेर त्यसको प्रशोधन अर्थात् बोक्रा उप्काएर बिक्रीको तयारी गरेको बताउनुभयो । “यो वर्ष कोभिडका कारण काँचै दाना सङ्कलन गरेर काँचै बिक्री गर्न पाइएन । त्यसलाई सुरक्षित गर्न प्रशोधन गरेर बोक्रा छुट्याएर सुकाएपछि बिक्रीका लागि तयारी गरिएको छ । ”

खत्रीले भन्नुभयो, “हामीले एक सय रुपियाँदेखि १२० रुपियाँ प्रतिकिलो काँचो दाना खरिद ग-यौँ । सङ्कलन भएको कफी तत्काल बजार पठाउन सकिएन, प्रशोधन गरिएको कफी अहिले पनि गोदाममै थन्किएको छ । ” यसरी प्रशोधन गरिएको कफी श्रमिकको खर्च जोड्दा कम्तीमा पनि एक हजार रुपियाँले बिक्री नभए आफूहरू घाटामा जाने अवस्था रहेको खत्री बताउनुहुन्छ । दैनिक तीन जना कामदार राखेर प्रशोधन गरिएको कफी उनीहरूको ज्याला जोड्दा महँगोमा बिक्री गर्नुपर्ने अवस्था रहेको खत्रीको भनाइ छ । खत्रीले यो वर्ष १० हजार किलो कफी खरिद गरेको बताउनुभयो । इलाममा ९१ हेक्टरमा कफी खेती हुने गरेको छ । जिल्लाको कुल उत्पादन वार्षिक २० मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]