बैशाख ३०, २०८१ आईतबार

कोरोना जित्ने महिला : जो मेची अस्पताल ढोग्दै–ढोग्दै निस्किन्

प्रदीप परियार

मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारपछि डिस्चार्ज भएका एक जोडिलाई संयोगले भेटियो । झोला बोकेर निस्किदै गरेका उनीहरुलाई सोधें, उपचार सकिएको हो ? पुरुषले जवाफ दिदैं भने, हो । अब घर जान लागेको । सँगै उनको छेउमा एक जना महिला पनि थिइन् । ति पुरुषको श्रीमति रैछिन् ।

हामी पनि संक्रमितहरुलाई पौष्टिक आहार लिएर दिउँसो पुगेका थियौं । झोला बोकर निस्किदै गर्दा पक्कै कोभिड संक्रमित डिस्चार्ज भएको होला भन्ने लाग्यो । उनीहरु ९ दिनअघि अस्पताल भर्ना भएका रहेका छन् । कोरोना जीतेपछि उनीहरु घर जाने तरखरमा थिए ।

केहि समय यता अस्पतालका बारेमा विभिन्न नकारात्मक कुराहरु सुनिरहेको थिए । खाना नपाइने, गुणस्तर नभएको खाना दिने , चिकित्सकहरुले राम्रो उपचार र हेरचाह नगर्ने लगायतका । गाडीबाट ओर्लन साथ भेट भएका ति संक्रमितहरुलाई देख्न साथ नकारात्मक विषयहरु मनमा आयो । अनि सोधें, खानपिन उपचार कस्तो रहेछ ? उपचार र खानपिनमा कुनै समस्या नभएको उनीहरुको प्रतिक्रिया थियो । विराटनगर घर भएका जोडि दमकमा मजदुरी गरेर बस्दा रहेछन् । दमक मै संक्रमित भएपछि उपचारका लागि मेची आएका रहेछन् । सम्पन्न परिवारका सदस्य भएका थिए भने त्यहाँ नपुग्न सक्थे ।

कुराकानीका क्रममा श्रीमतिले साह्रै राम्रो उपचार पाएको बताइन् । उपचार नराम्रो भएको भए कसरी घर फर्किन्थ्यौ त ? उल्टै प्रश्न गरिन् । बाहिर, अस्पतालमा खाना राम्रो छैन, राम्रोसँग खाना पाइदैन भन्ने सुनिन्छ नि भन्ने जिज्ञासामा भनिन्, खाना फालाफाल छ । खानामा कुनै कमि छैन । हावा पूर्वबाट चलिरहेको छ, यसलाई पश्चिमबाट चल्दैछ भन्न मिल्छ र ? ति पुरुषले भने । अस्पतालमा कुनै पनि कुराको अभाव नभएको उनीहरुको भनाई थियो । कुराकानीको अन्तिममा महिलाले अस्पताल तर्फ फर्केर नमस्ते गर्दै ढोग्दै ढोग्दै भनिन्, यो अस्पताल हाम्रो लागि भगवान बन्यो । यसैले हामीलाई बचाएर फर्कायो ।

सामान्य जीवनस्तरका नागरिक भएका कारण अस्पतालभित्रको कुरालाई वास्तविक रुपमै सुनाइन् । मलाई यस्तो लाग्यो , सम्पन्नलाई अस्पतालभित्र जिरा मसिनो चामलाको खाना मिल्दैन । घरको जस्तो एसीको चिसो उपलब्ध छैन । घरकै जस्तो चिटिक्क, सफा कोठा मिल्दैन । हजारौं रुपैयाँ पर्ने तन्नामा सुत्न पाइदैन । घरकै जस्तो लक्जरियस बसाई र परिकार परिकारका खाना मिल्दैन । त्यसै कारण अस्पतालप्रति आक्रोस् भएको होला । गरिवलाई त्यै अस्पताल स्वर्ग रहेछ भन्ने लाग्यो ।

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]