बैशाख ११, २०८१ मंगलबार

प्रतिवद्धता पुरा गर्दै हल्दिवारी -१ का जनप्रतिनिधि

झापाको हल्दिवारी – १ साविक गोल्धाप गाविस विकासको लक्ष्य हासिल गर्न प्रतिवद्धता बमोजिम काम गरिरहेको छ । निर्वाचनमा जनतासँग गरिएको प्रतिवद्धतालाई अक्षरस पालना गर्नु जनप्रतिनिधिको दायित्व भएको वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटाको भनाई छ । उनैले नेतृत्व गरिरहेको हल्दिवारी १ गोल्धाप आम नागरिकको नजरमा समेत विकास भइरहेको हेर्न र सुन्न पाइन्छ ।

स्थानीय तह बनेपछि नागरिकको आशा र अपेक्षा औधी मात्रामा थियो । ४ वर्षको अन्तरलाम हल्दिवारी १ को विकास तीब्र गतिमा दौडिरहेको त्यहाँको विकास निर्माणलाई हेर्दा स्पष्ट हुन्छ । नागरिकको स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार निर्माणमा एक कदम अगाडि रहेको गोल्धाप निर्वाचन ताका गरेको प्रतिवद्धता पुरा गर्ने तयारीमा छ ।

वडाअध्यक्ष त्रिलोचन सापकोटाले स्थानीय राजनीतिक दल, संघ संस्था , बुद्धिजीवीको सहकार्य र समन्वयमा वडाको चौतर्फी विकासलाई अगाडि बढाइरहेका छन् । उनले वडाका सदस्य, कर्मचारीसँगको कुशल नेतृत्वकै कारण लक्ष्य हासिल गर्ने विश्वास गरेका छन् ।
वडाअध्यक्ष सापकोटाले वडा कार्यलयको जिम्मेवारी सम्हालेको समय यताका फेहरिस्त सुनाएका छन् ।

स्थानीय तहमा हामीले जिम्मेवारी सम्हालेपछि वडालाई समृद्ध बनाउने परिकल्पना गरेका थियो । समृद्ध वडा बनाउने योजना अनुरुप हामीले ४ वर्ष विताइसकेका छौं । निर्वाचनको समयमा जनताको विचमा पनि समृद्ध वडा बनाउने प्रतिवद्धता थियो । प्रतिवद्धता अनुसार सबै काम सकिएको छैन । तर, लक्ष्य हासिलको अन्तिम चरणमा छौं । हामीसँग अब एउटा बजेट चलाउने समय छ । सो समयभित्र लक्ष्य पुरा अवश्य गर्नेछौं । निर्वाचनमा राजनीतिक घोषणा पत्र सार्वजनिक गरेका थियौं । त्यो घोषणा पत्र फगत थिएन । त्यसलाई नीति तथा कार्यक्रमको रुपमा अगाडि बढायौं । शुरुआतमै अघि सारेका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेर काम गर्दै आइरहेको सबै वडावासीमा जगजायर नै छ ।

नीति तथा कार्यक्रमलाई कार्यान्वय गर्दै जाँदा नागरिकको जीवनस्तर उठाउने सन्दर्भमा निकै संवेदनशील भएर काग शुरु गरेका थियौं । जसले हामीलाई लक्ष्य हासिल गर्न मद्दत पुगेको छ । समृद्ध वडा बनाउने सन्दर्भमा भौतिक पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्यलाई मुख्य इन्डिकेटर बनाएका थियौं । बेराजगारहरुलाई रोजगार बनाउने सन्दर्भमा महत्वपूर्ण कामहरु गरिहरेका छौं । भौतिक पूर्वाधारको सन्दर्भमा आधारभुत आवश्यकतालाई मध्यनजर गर्दै सडक निर्माणका कामलाई पहिलो वर्षबाटै अघि बढाएका थियौं । पुराना सडकहरुको मर्मत, नयाँ सडक खोल्ने कुरामा पनि हामीले प्राथमिकतामा राखेर अघि बढ्यो । जसले लगभग हामीलाई सकडको समस्या अन्त्य गरेका छौं ।

सडक निर्माणका लागि गाउँपालिकाबाट मापदण्ड तयार गरिएको थियो । मुख्य सडकमा ग्राभेल गरिएका छन् । शाखा सडकको स्तरउन्नति सकिएको छ । गोल्धापबाट दक्षिण तर्फ जाने सकड साढे ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यसलाई हामीले गौरवको योजनाका रुपमा लिएका छौं । यस्तै केन्द्र सरकारको सशर्त अनुमानमा जनजातृति माविबाट दक्षिण जाने बाटो ६ करोड लगानीमा निर्माण थालिएको छ । लाटीहोली र चक्लाचोक हुँदै शिवालय मन्दिरसम्मको बाटोका काम थालिएको छ । यस्तै, वडा क्षेत्रमा स्लाव कल्भर्ट निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा काम राखेर काम गरेका छौं । जनताको माग बमोजिम स्लाव कल्भर्टहरु निर्माण गरिसकेको अवस्था छ । यो क्षेत्रमा हेमपाइप राख्ने ठाउँबाहेकका कल्भर्ट निर्माणलाई सम्पन्न गरिसकेको छौं । अब, कल्भर्टको काम बाँकी छैन ।

यो सँगै गोल्धाप बजारलाई व्यवस्थित र सुविधायुक्त बनाउन पूर्वाधार निर्माणको काम चलिरहेको छ । कतिपय काम सकिएका छन् । बजार क्षेत्रमा कालोपत्रे गर्ने, सडकलाई व्यवस्थित गर्ने भइरहेका छन् बजारमा रहेको जीर्ण टहरा निर्माण गरिएको छ । सबैभन्दा पुरानो बजार भएकाले यसको व्यवस्थापन पनि हाम्रो मुख्य काम भित्र रहेको छ । वडाभित्रका नागरिकलाई सूचनामा सहज पहुँच होस् भन्ने उदेश्यले सूचना केन्द्रहरु निर्माण गरिएको छ । नौ वडा टोलमा विभाजित गरेर सूचना केन्द्रहरु बनाइएको छ । जसलाई नागरिकले भरपुर उपयोग गरिरहनु भएको छ । सूचनाको अधिकार सुनिश्चित गर्न सो काम गरिएको हो । त्यहाँ निशुल्क वाइफाई जडान गरिएको छ । आफ्ना आफन्तसँग सहजै कुराकानी गर्न गराउन पनि सूचना केन्द्र प्रभाबकारी बनिरहेको छ । सूचना केन्द्रमा गाउँपालिका, वडा कार्यालय र केन्द्र सरकारबाट जारी हुने सूचनालाई पनि त्यहि सूचना केन्द्रमा टाँसिदिने काम भइरहेको छ ।

यस्तै, विधालयहरुको भवन निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ । कतिपय विधालयमा काम सम्पनन भइसकेका छन् । जीर्ण भवनमा टिन फेर्नेदेखि पर्खाल बनाउनेसम्मका काम गरिएको छ । विधालयहरुका पर्खाल निर्माण समेत हाम्रो प्राथमिकता बनेका छन् । हामीले गरेका कामलाई मौखिक रुपमा भनिरहन पदैन । गरिएका सबैजसो काम प्रत्यक्ष रुपमा देखिन्छ ।
जनताको जनजीविका नै कृषिमा निर्भर छ ।

यसैले वडाले जनताको जीवन उकास्न कृषिमा काम गर्नुपर्ने देखियो । त्यसैले अन्य प्राथमिक काममध्ये कृषि पनि प्राथमिकतामा परेको छ । सोहि अनुसार काम गर्दै आएका छौं । यहाँका ९० प्रतिशत नागरिक कृषिमा आश्रित भएकाले पनि कृषि हाम्रो प्राथमिक विषय बनेको छ । यसलाई नीति तथा कार्यक्रममा नै प्राथमिक हिसावले उठान गरेका छौं र कार्यान्वयन समेत गरिरहेका छौं । कृषिलाई व्यवस्थित गर्न सामूहिक खेतिको अवधारणालाई अघि सारेका थियो । त्यसका लागि समुहहरु निर्माण गरिएको छ । कृषिमा लगानी गर्न समूहमार्फत काम गरिरहेको सबैमा अवगत गराउन चहान्छु । आवश्यक कृषि औजार, टेङ्की वितरण, २ वटा ट्याक्टर वितरण गरिएको छ । सहकारी मार्फत दिइएको ट्याक्टर प्रयोगमा किसानलाई सहुलियत प्रदान गरिएको छ । मकै रोप्ने र छडाउने मेसिनहरु वितरण गरिएको छ । चालु आर्थिक वर्षमा कृषिमा थप काम गर्ने उदेश्यले टनेल वितरणलाई अघि सारिएको छ । सो बमोजिम काम अघि बढाइएको छ । १० वटा टनेल वितरण गर्ने कार्यक्रम बनाएका छों । निरन्तर रुपमा कृषिलाई सहयोग गर्ने संकल्प बनाइएको छ । कृषिमा सहयोग मात्र होइन, कृषकलाई उत्साहित गर्न पुरस्कृत समेत गरिदै आएको छ । यहाँको प्रगति बोयर बाख्रा फर्म, बर्मेली बाख्रा फर्म लगायत अन्य फार्मलाई गोठ सुधार कार्यक्रम मार्फत आर्थिक सहयोग समेत गर्दै आएको तमाम् कृषक दाजुभाईलाई थाहा छ ।

यस्तै, कृषिमा लाग्न उत्प्रेरित गर्न अन्य सहयोग पनि गरिहरेका छौं । विशेष गरि वर्गीय रुपमा कमजोर रहेका यहाँ आदिवासी , जनजाति, दलित र पिछडिएको परिवारलाई कृषि, पशुपालनका लागि प्रेरित गर्ने काम भइरहेको छ । उनीहरुलाई गाईको बाछा, बाख्रा वितरण गरेका छौं । ती परिवारमा अहिले पुग्ने हो भने उहाँहरुले लगभग आम्दानी लिइरहेको अवस्थामा भेट्न सकिन्छ । यस्तै, सिचाईमा प्रभावकारी योगदान पुर्याउन मिटरदेखि मोटरसम्म अनुदानमा उपलब्ध गराउँदै आएका छौं । पहिलो वर्षदेखि नै सिचाईका लागि मोटर उपलब्ध गराउँदै आएका थियौं । चालु आर्थिक वर्षसम्ममा ३४२ किसानलाई मोटर उपलब्ध गराइएको छ । जसको प्रयोग गरेर किसानले अतिरिक्त उत्पादन गर्न समेत सफल भएको अवस्था छ । यस्तै, गत आर्थिक वर्षमा हामीले ४ वटा सोलार प्यानल वितरण गरेका छौं । सोलारकै प्रयोगबाट पनि सिचाई गर्न कृषकलाई सहयोग पुगेको छ । यो सँगै भूतेनी सिचाई परियोजनालाई व्यवस्थित गर्न पैनी निर्माणको काम भएको छ । सबै किसानको जमिनसम्म सिचाई पुर्याउन आवश्यक पूर्वाधार निर्माण गर्नाले सिचाईमा सहज भइसकेको छ । यहाँको किसानको लामो समयदेखिको सिचाई समस्या लगभग समाधन गरिएको छ । सिचाईको निम्ति पर्याप्त काम गरेको मेरो बुझाई छ । यति मात्र होइन केहि गर्न चहाने किसान दाजुभाईलाई समूहगत रुपमा सहयोग गर्न तत्पर छौ । उहाँहरुलाई आवश्यक हुने कर्जा उपलब्धताका लागि वित्तीय संस्थामा सहजीकरण गर्ने काम पनि गरिहरेका छौं ।

शिक्षा क्षेत्रमा हल्दिवारी गाउँपालिकाले व्यापाक परिवर्तन गरेको महसुस भएको छ ।संभवतः अन्य स्थानीय तहको तुलनामा सबैभन्दा ठुलो बजेट नै शिक्षामा छुट्टाएका छौं । भौतिक पूर्वाधार, स्वास्थ्य र कृषि जस्तै शिक्षालाई अझ विकासको मेरुदण्डको रुपमा लिएर काम गरिरहेका छौं । स्थानीय तह बन्नुभन्दा पहिलेको यहाँको विधालयको भौतिक पूर्वाधार, शिक्षाको स्तर र विधार्थी संख्या निराशाजनक नै थियो । अहिले हरेक विधालय पुगेर पनि हेर्न सकिन्छ , कि कति सुधार भएको छ । ४ वर्ष पहिले विधार्थीको संख्या न्यून थियो । प्राथमिक विधालयहरु बन्द गर्नुपर्ने अवस्था बन्दै गएका थिए । तर, आजसम्म आइपुग्दा विधार्थीको संख्या बढेर गएको छ । भौतिक पूर्वाधार व्यवस्थित बनाइएका छन् । शिक्षक कर्मचारीको लगनशिलता पनि बढेर गएको छ । सबैको एकताले समग्र शिक्षा क्षेत्रमा फड्को मारेको अनुभूति गरेको छु ।

यहाँको शिक्षामा यसै फड्को मारिएको होइन । विधार्थीको सिकाईमा ठुलो लगानी गरिएको छ । आधारभूतदेखि मावि तहसम्मका विधार्थीलाई कम्प्यूटर शिक्षालाई अनिवार्य बनाइएको छ । खेलकुद साथैं अतिरिक्त क्रियाकलापले विधार्थीको सिकाई प्रभावकारी बन्दै गएको हो । अहिले आएर हल्दिवारी र यस वडाका विधालयहरुमा भर्ना दर बढ्दै गएको छ । यस वडामा चार वटा विधालय छन् । सामुदायिक विधालयको स्तरवृद्धिलाई विषेश ख्याल पुर्याएका छौं । कम्प्युटर सिकाउने शिक्षक समेत सहयोग गरेका छौं । विधार्थीको अनावश्यक हिडडुललाई रोक्न विधालयहरुमा सुरक्षा गार्डको व्यवस्थापन गरिएको छ । विधालय हातामा खाजाघर बनाइएको छ । शिक्षामा लगानी गरे अनुरुप उपलब्धी समेत हासिल गरिएको महसुस गरेका छौं । विधार्थी बढ्दै गएमा भौतिक पूर्वाधार थप गर्ने प्रतिवद्धता समेत गरेका छौं । यस पालिकाभित्र पूर्ण निशुल्क शिक्षा प्रदान गरिरहेका छौं । कसैले पनि शिक्षामा शुल्क लिन पाउने छैनन् ।

विकासमा सहजीकरण होस् भन्ने उदेश्यले टोल विकास संस्था गठन गरिएको छ । सो समूहले विकासको आवश्यकतालाई खोजी गर्ने छ । र, सोही बमोजिम विकासका कार्यक्रमलाई अघि बढाएने छ । एक टोल एक फलफुल कार्यक्रम सञ्चालन गरिएको छ । वडामा आप, सुपारी र लिच्चीको विरुवा वितरण गरियो । फलफुलमा आत्मनिर्भर गर्न टोल विकास संस्थाको सहकार्यमा काम गरिरहेका अवगत गराउँछु ।
बालबालिकाको नेतृत्व तथा क्षमता विकासका लागि बाल समूह गठन गरिएका छन् । यस वडामा अन्य वडाभन्दा प्रभावकारी रुपमा क्रियाशिल भएको दावी पनि गर्छु । बालमैत्री वडा घोषणाका लागि आवश्यक काम थालिएको छ । विधालयहरुलाई सूचिकृत गरिएका छन् । सहजकर्ता शिक्षक चयन गरिएको छ ।

आदिवासी , जनजाति , दलितको क्षेत्रमा उहाँहरुले ल्याएका कार्यक्रमलाई कार्यान्वयन गरिएको छ । सबै जातजातिको समान विकासका लागि आवश्यक सहयोग गर्ने काम विगतदेखि नै भइरहेको छ । र, आगामी दिनमा समेत सहयोग जारी रहनेछ । सो समुदायको उत्थानका लागि शिक्षा, स्वास्थ्य सहित आधारभूत आवश्यकता समेत परिपुर्ति गर्दै आएको अवस्था छ । वर्गीय रुपमा कमजोर रहेका परिवारलाई बैठक बसेर आवश्यकता पुरा गर्ने गरेका छौं ।
वडालाई उज्यालो वडा बनाउने काम पनि चलिरहेको छ । यहाँका सार्वजनिक टोलहरु, चोकहरुमा सडक बत्ती जडान गर्ने काम पनि सम्पन्न गरेका छौं । सोलार राख्ने काम पनि सकिएको छ । यस वडामा झोलुङ्गे पुल निर्माण, तटबन्धन भएका छन् । दाहसंस्कारका लागि आवश्यक संरचना निर्माण गर्ने काम भइरहेको छ ।

०५८ सालदेखि यहाँकोे खानेपानी आयोजना अवरुद्ध थियो । अवरुद्ध भएकै कारण वडाबासी नागरिक स्वस्थ्यकर पानी उपयोगबाट बञ्चित थिए । हामी वडाको नेतृत्वमा आएपछि पानीको सहज आपूर्तीलाई मिलाएका छौ । जिम्मेवारी सम्हालेको दोस्रो वर्षमै खानेपानी सञ्चालन गर्न सफल भएका थियौं । अहिले करिव ५ सयभन्दा बढी परिवारले खानेपानीको उपयोग गर्न पाइरहेका छौं । खानेपानी विस्तारका लागि २ करोड अनुदान प्राप्त भएको छ । पाइप विच्छ्याउने, विस्तार गर्ने लगायतका काम अघि बढाइएको छ ।

स्वास्थ्य क्षेत्रमा पनि यहाँ नागरिकलाई अधिकतम सुविधा उपलब्ध गराइएको छ । यहाँका नागरिकले ठुलो रोग बाहेक अन्य उपचार सुविधा यहि उपलब्ध गराइरहेका छौं । कृषिमा अघि पनि उल्लेख गरिसकेको छु । हल्दिवारीको बाचा, झापाभरी माछा कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसले नयाँ उत्साह प्रदान गरेको छ । किसान माछा उत्पालनमा लाग्नु भएको छ । त्यसै बमोजिम हामीले गोल्धाप बजारमा माछाको स्तम्भ समेत तयार गरेका छौं । किसानलाई उत्साह र गोल्धापको पहिचानका लागि माछाकै स्तम्भ निर्माण गरिएको हो । यस्तै, शहीद गेट बनाइएको छ । शहीदको सम्झनाका लागि गेट बनाइएको हो । यहाँका सबै मठमन्दिरका भवन, सामुदायिक भवन निर्माण कति सकिएका छन्, कतिपय निर्माणको क्रममा छन् । आफ्नै पलहमा प्रदेश सरकारबाट बजेट ल्याएर बजारको विकासका लागि काम गरिएको छ । खेलकुदमा नुनतला कभर्ड हल निर्माणको काम अघि बढेको अवस्था छ ।

वडा कार्यालयले जनताको माग र बजेटको उपलब्धताका आधारमा प्रतिवद्धता पुरा गरेको छ । वडा अध्यक्ष सापकोटाले आगामी बजेटले बाँकी रहेका प्रतिवद्धता पुरा गर्ने अठोट लिएको बताएका छन् । पाँच वर्षे कार्यकालमा सम्झन लायक , स्मरणयोग्य नेतृत्व बन्ने योजना उनको छ । आगामी वर्ष कृषिमै केन्द्रीत कार्यक्रम बनाउने योजना वडा कार्यालयको छ । र, बालमैत्री वडा घोषणा गर्ने योजना समेत रहेको सापकोटाको भनाई छ ।
……………….

याम प्रसाद न्यौपाने
नेपाल सरकारको मापदण्ड बमोजिमको सुविधा सम्पन्न गोल्धाप स्वास्थ्य चौकी विगत वर्षहरुदेखि नै नागरिकको उपचार सेवामा क्रियाशिल छ । अहिले नयाँ भवनबाट सेवा प्रवाह गरिरहेका छौं । यसअघि वडा कार्यालय नजिकैको सानो ३ कोठाबाट उपचार सेवा प्रदान गर्दै आएका थियौ । त्यो ठाउँमा सेवा प्रदान गर्न हामीलाई कठिन थियो । अहिले सहज भएको छ ।
यहाँबाट उपचारात्मकभन्दा पनि रोकथामका लागि विषेश जोड दिन्छौं । सबैभन्दा महत्वपूर्ण उपचार भनेकै खोप हो । बालबालिकाको नियमित खोप सञ्चालन गरिहरेका छौं । सरकारको मुख्य प्राथमिकतामा रहेको कार्यक्रम नै खोप हो । गोल्धाप स्वास्थ्य चौकीबाट नियमित खोप सञ्चालन गर्दै आएका छौं । यहाँ ४ वटा खोप केन्द्र छन् । हरेक महिना खोप कार्यक्रम खोप केन्द्रहरुबाट सञ्चालन गर्ने गरिएको छ । सामान्य उपचारका लागि नागरिकको उपस्थिति पनि हुने गरेको छ । दैनिक न्यूनतम ५० जना विरामी उपचरात्मक सेवाका लागि आउने गरेका छन् । सामान्य उपचारमा कुनै शुल्क लाग्दैन । र, औषधि पनि निशुल्क वितरण गर्ने गरिएको छ । यस स्वास्थ्य संस्थामा ल्याव समेत सञ्चालनमा रहेको छ । अत्याधुनिक प्रविधिबाट ल्याव सञ्चालनमा छ । यहाँबाट सेवा लिने नागरिकलार्य बाहिरभन्दा धेरै नै सहुलियत हुन्छ । शुरुआतमा ल्याव सञ्चालन सुस्त थियो । किनभने, यो सुविधा बारे आम नागरिकलाई थाहा थिएन । अहिले फुल स्पीडमा चलिरहेको छ ।

पाँच किसिमका परिवार नियोजनका साधन उपलब्ध गराउनु पर्ने मापदण्ड अनुसार उपलब्ध गराइरहेका छौं । यस्तै, सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत गर्भवती जाँच, क्षयरोग, कुष्ठरोग विरुद्धका कार्यक्रम पनि सञ्चालन गरिहरका छौं । यहाँ कुष्ठरोग हुनेको संख्या अलि बढी छ । कोभिड महामारीका कारण अन्यत्र जान नसक्ने ज्येष्ठ नागरिकहरुलाई सुगर प्रेसरका औषधि पनि यहीबाट उपलब्ध गराइरहेका छौं । यो सेवा लिन आउनेहरुको संख्या कोभिड अगाडि कम थियो । अहिले बढेर गएको छ । जसका कारण पर्याप्त मात्रामा औषधि उपलब्ध गराउन चुनौति भइरहेको छ । तथापि, औषधिको अभाव हुन दिएका छैनौं । अभाव भएको समयमा पनि जुटाउदै सेवामा अग्रसर बन्ने गरेका छौं ।

प्रमुख- गोल्धाप स्वास्थ्य चौकी

……………………

इन्दिरा देवी कँडेंल चुडाल
स्थानीय तहबाट विधालय सञ्चालन भएपछि भौतिक तथा शिक्षा सुधारका लागि सहयोग भइरहेको छ । हल्दिवारीले शिक्षामा तुलानात्मक हिसावले अन्य पालिकाभन्दा बढी बजेट छुट्टाएको छ । शिक्षक, विधार्थी र विधालयको भौतिक सूधारमा बजेट खर्च गरिरहेको पाएको छु । गाउँपालिकाले शिक्षामा गरिरहेको काम सकारात्मक छ । गाउँपालिकाले विधालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिदिएको छ । कक्षाकोठा व्यवस्थापनमा पनि सक्रियता देखिएको छ । नमूना बाल कक्षा कोठा व्यवस्थापन गरिएका छन् । गाउँपालिकाले शिक्षामा लगानी गरे अनुरुप प्रतिफल पनि राम्रै आउने छ भन्ने अपेक्षा गरेको छु । कम्प्युटर र कम्प्युटर शिक्षक व्यवस्था गरेर विधार्थीको सिकाईलाई प्रभावकारी बनाइएको छ ।

कक्षा ११ र १२ मा गाउँपालिकाभित्रका विधार्थीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ । यो व्यवस्था यहि पालिकाभित्रका विधार्थीलाई मात्रै दिएर अन्यत्रका विधार्थीसँग थोरै शुल्क लिने व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ । संघीय शिक्षा ऐन नआइकन पालिकाको ऐन बनाउदा केतिपय ठाउँमा समस्या हुने गरेको छ । यस प्रकारका काममा स्थानीय तहले विवेक पुर्याउनुपर्छ भन्ने लागेको छ । जनप्रतिनिधिहरु विधालयको व्यवस्थापन समितिमा हुँदा समस्याहरु बुझ्ने गरेको पाइएको छ । सबैको सल्लाह र सुझावमा काम गर्दा समग्र शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ भन्ने मेरो बुझाई छ । वडा कार्यालयको सहयोग पनि राम्रै पाएका छौं । विधालयको कुनै पनि समस्या फोन कै भरमा समाधान हुने गरेको छ । वडाध्यक्ष त्रिलोचन सापकोटा विधालयको पूर्व अध्यक्ष भएकाले पनि सहज भएको छ । वडा कार्यालयको सहयोगबाट सन्तुष्ट भएका छौं ।

प्रधानाध्यापक – जनजागृति मावि, गोल्धाप

…………….

कपिलमिण चापागाँई
स्थानीय तह बनेपछि वडा मार्फत विधालयहरुमा सहयोग प्राप्त भइरहेको छ । विधालयहरु जीर्ण थिए । अहिले २ वर्षयता भौतिक संरचना बनाइएका छन् । टिनको छानो लगाउने देखि अन्य संरचनाको काममा वडा सहयोग गरिरहेको छ । सधै यस्तै सहयोग भइरहेमा विधालय धेरै अगाडि बढ्ने निश्चित छ । स्थानीय तहबाट असहयोग भएका छैनौं । हामीले जेजे सहयोग माग गरे पनि उपलब्ध भइरहेको छ । अब, विधालयको जग्गाको पैसा उठाउन वडा कार्यालयले सहयोग गरे राम्रो हुने थियो । – अध्यक्ष, जनजागृति मावि

प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]