बैशाख १४, २०८१ शुक्रबार

शिवसताक्षी अब हिजोको जस्तो छैन , स्वरुप बद्लिसक्यो : मेयर शेर्मा

कृषि, पूर्वाधार, शिक्षा र पर्यटन विकासमा शिवसताक्षीको विषेश जोड

संमृद्ध नेपाल, सुशी नेपालीको राष्ट्रिय अभियानलाई अंगिकार गर्दै विकासको अभियान चलाइरहेको शिवसताक्षी नगरपालिका नगरवासीको भरोसा बन्दैछ । शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा फड्को मारिरहेको शिवसताक्षी विकासको गतिमा दौडिरहेको छ । पर्याप्त पर्यटकीय गन्तव्य रहेको शिवसताक्षी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै पर्यटन विकास मार्फत नागरिकको जीवनमा परिवर्तन ल्याउने संकल्पका साथ अघि बढिरहेको छ । जिल्लाको मध्यभागमा अवस्थित शिवसताक्षी अब नयाँ स्वरुप लिने तरखरमा छ । स्थानीय तहको स्थापना भन्दा पहिले अनेकौं समस्या झेलिरहेका यहाँका जनता जनप्रतिनिधिको नेतृत्वमा अपेक्षाकृत विकास भइरहेको बताइरहेका छन् ।

शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन विकास र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढेको शिवसताक्षी नागरिकको दुखमा सधैं हाजिर भइरहेको छ । नगर प्रमुख चन्द्र कुमार शेर्माले नगरको प्रगति र समग्र पूर्वाधार विकासका बारेमा सार्वजनिक गरेका छन् ।

०७४ असार १४ गते यस नगरको जनप्रतिनिधिको रुपमा निर्वाचित भएका थियौं । २५ गते सपथ ग्रहण गरेदेखि नागरिकसँग प्रत्यक्ष जोडिएका विकास निर्माण, नागरिकको जनजीवीकालाई प्रत्यक्ष सहयोग पुग्ने गरिका कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छौं । निर्वाचित भएको चार वर्ष लगभग पुरा भएको छ । यो समयभित्र नागरिकको मागलाई ध्यानमा राखेर नगरले आफ्ना गतिविधिलाई निरन्तर सञ्चालन गरिरहेको छ । निर्वाचनमा गरिएका प्रतिवद्धता पुरा गर्नु हाम्रो दायित्व थियो । प्रतिवद्धता र नागरिकका थप आकांक्षालाई सम्पन्न गर्न अहोरात्र नगरको सम्पूर्ण टिम लागिरहेको छ । स्थानीय तहका कर्मचारी, जनप्रतिनिधिबिचको सहकार्यले नगरका हरेक कामलाई सफल बनाइरहेका छौं ।

पूर्वाधार तर्फ सडक निर्माणका लागि पहिलो चरणमा छनोट गरिएका काम सकेका छौं । सडकहरुको वर्गिकरण गरेर सडक निर्माण, स्तरोन्नतिलाई प्राथमिकताका साथ सम्पन्न गरिएको छ । विकासको मुख्य आधार नै पूर्वाधार त्यसमा पनि सडक महत्वपूर्ण भएकाले सोही बमोजिम योजना बनाई काम गरिएको छ ।

सडक निर्माण मात्र होइन सडकको दिर्घकालिन व्यवस्थापनका लागि आकार फराकिलो बनाउने काम गरिएको छ । दुधे, झिलझिले, डुडाबारी र धरमपुरबाट दक्षिण तर्फ जाने सडकहरुको चौडा फराकाकिलो बनाइएको छ । धरमपुरबाट दक्षिण जाने सडकलाई ५० फिट कायम गरिएको छ भने अन्य सडकहरुको सन्दर्भमा ७६ फुट कायम गरिएका छन् । अर्थात समग्रमा भन्नुपर्दा सडकलाई फराकिलो र व्यवस्थित बनाइएको छ । साना सडकहरुलाई पनि फराकिलो बनाउने काम भएका छन् । निर्वाचित भएर आएपछि थप नयाँ बाटो कल्भर्टको निर्माणमा पनि ध्यान दियौं ।

खासगरी नगरमा निर्वाचित भएर आएपछि नगरमा रिङरोड निर्माणको गुरुयोजना बनाइएको थियो । नगरकै महत्पूर्ण योजना भएकाले रिङरोड निर्माणलाई तीब्रता दिइएको छ । रिङरोडमा उत्कृष्ट ग्राभेलको काम सकिएको छ । रिङरोडमा मात्रै साना ठुला गरेर ५३ वटा पुल कल्भर्टहरु निर्माण गरिएका छन् । नगरसँग सेवा लिउ आउने तमाम् नगरबासीको लागि जम्मा ४ वटा ट्रङ रोडहरु निर्माण गरिएको छ । आम नगरवासीको सहजताका लागि सो सडक निर्माण गरिएको हो । पश्चिममा धरमपुरबाट लक्ष्मीनारायण स्कुल हुँदै उक्त प्रकारको सडक निर्माण गरिएका छन् । जुन सडकसँग रिङ रोडहरु जोडिएका छन् । लक्ष्मी नारायण विधालयको पछाडिको भागबाट रिङ रोड हुँदै नगरसम्म आउन सकिन्छ । मंगलवारेदेखि स्वागत चोक हुँदै मंगलवारे र मंगलवारेबाट धौलेचोक हुँदै नगरसम्म आउने सडक बनेको छ । पाराबारी पश्चिम बजार हुँदै सरस्वती चोकबाट धौलेचोक जोन्छि । सो सडक पनि नगरमा जोडिन्छ । त्यसभित्र पर्ने सबै खोला, नालामा पुल कल्भर्ट निर्माण सकिएको छ । जसका कारण सवारी आवगमन सहज भइसकेको छ । यस्तै माइधारबाट दक्षिण तर्फ जाने सडक कालोपत्रे गरिएको छ । त्यहाँबाट पनि रिङरोड जोडिन्छ । यि सबै सडक हाम्रो नगरको गुरुयोजना अन्तर्गतका हुन् । सबै सडकलाई प्रायः रिङरोडमा जोड्ने काम भएको छ । सडक सञ्जालको महत्वपूर्ण काम सकिएको छ ।

हामीले सानाभन्दा साना सडकमा लगानी गर्न बन्द गरेका छौं । २० फुटमा सडकमा हामीले लगानी नगर्ने भनेका छौं । त्यस्ता ठाउँहरुमा आवश्यकतालाई हेरि पुल र कल्भर्ट निर्माणमा सहयोग गरेका छौं । नगरभित्र २० फुटे सडक छैन । साँगुरा बाटोको कारण आवतजावतमा अवश्य समस्या हुन्छ । विपद्मा त्यस्ता सडक कामयावी हुने छैनन् । यसरी सडक सुधारिएका छन् । अब, नगरमा ब्लाकटप बाहेकका काम छैनन् । यसपछि ब्लाकटपको कामलाई अघि बढाइएको छ । यो धमाधम पुरा गर्दै जाने योजना छ । ७०÷३० को अवराधरणामा कालोपत्रेको काम गरिएका छन् । हालसम्म २७ किलोमिटर कालोपत्रेको काम सकिएको छ । ४ वर्षको अन्तरालमा सडक पूर्वाधारमा ठुलो सफलता हात पारेका छौं । अब, नगरमा सडककै समस्या चै अन्त्य भएको छ ।

जिम्मेवारी सम्हालेको १ वर्षपछिदेखि हरेक वडा कार्यालय निर्माण गरिएका छन् । आफ्नै वडा कार्यालयबाट सेवा प्रवाह भइरहेको छ । मात्रै, ९ नम्बर र १० वडा कार्यालय निर्माण गर्न बाँकी छ । अन्य वडा कार्यालयहरु यहि वर्षभित्र पुरा भइसक्ने छन् । ११ वटा वडाभित्र ९ वटा वडा यहि आर्थिक वर्षमा सम्पन्न हुनेछन् । बाँकी रहेका २ वडा वडा आगामी आर्थिक वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।

हरेक वडामा आधारभुत स्वास्थ्य केन्द्र निर्माण सम्पन्न गरिएको छ । भवनहरु धमाधम बनिरहेका छन् । भवन नभएका ठाउँमा भाडामा स्वास्थ्य केन्द्रहरु सञ्चालन भइरहेका छन् । हामीले निर्वाचनमा प्रतिवद्धता गरेका थियौं । यिनै विषयहरु हाम्रा प्रतिवद्धतामा उल्लेख भएका थिए । जनताको सहजता र सुविधालाई ध्यान दिई हामीले नीति तथा कार्यक्रम बनाइरहेका छौं । हामीले गरेको प्रतिवद्धताकै आधारमा वडा कार्यालयहरु निर्माण गरिएका हुन् । र, यहि कार्यकालभित्र स्वास्थ्य केन्द्रहरु आफ्नै भवनबाट सञ्चालन गरिने छन् ।

नगरको अर्को महत्पूर्ण काम पर्यटन क्षेत्रमा भएको छ । पर्यटनलाई नगरको प्राथमिक योजनाका साथ काम गरेका छों । शिवसताक्षी धेरै पर्यटकीय गन्तव्य भएको नगर हो । यो नगर पर्यटकीय हिसावले सम्पन्न नगर हो । पर्यटकीय गन्तव्य पर्याप्त भएकाले यसको विकासलाई नगरको विकासको आधार मानेका छौं । यहाँ पुरानो ऐतिहासिक धार्मिक स्थल सताक्षीधाम छ । नगरको पर्यटकीय स्थल दोमुखा पर्यटकीय क्षेत्र, चिल्लागढ र डुडावारी सिमसार क्षेत्रको विकासमा लगानी गरिरहेका छौं । डुडावारी सिमसारलाई नगरको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने काम भइरहेको छ । अन्य ठाउँहरु स्थापित भएका छन् , तिनिहरुको विकासमा पनि ठुलो लागनी गरेका छौं । नगर गौरवको योजनामा हामीले पर्यटकीय गन्तव्यको पहिचान गरेर योजना निर्माण गर्ने काम गरेका थियौं । पर्यटन क्षेत्रलाई महत्वपूर्ण योजनाको रुपमा अघि सारिएको थियो । सोहि बमोजिम हरेक वर्ष बजेट विनियोजन गर्ने काम भइरहेको छ । सताक्षी धाम गएर हेर्ने हो भने अहिले हिजोको सताक्षीधाम छैन । सताक्षीधाममा २ करोड लगानी भइसकेको छ । दोमुखा, चिल्लागढहरु अब हिजोको अवस्थामा छैनन् । ति क्षेत्रहरुको परिवर्तन भइसकेको छ । त्यहाँ पनि ३ करोड लगानी गरिसकेका छौं । दोमुखालाई पार्कको रुपमा विकास गरिएको छ । सुन्दर र मनोरम दोमुखा बनाइसकिएको छ । चिल्ड्रपार्क बनाइएको छ । नजिकै स्वीमिङ पुल निर्माणको काम धमाधम भइरहेको छ । यो आर्थिक वर्षमा सबै पूर्वाधारको काम सकेर अर्को वर्ष स्वीमिङ सञ्चालनमा ल्याउने योजना छ । नगरका चार वटा पर्यटकीय क्षेत्रलाई नगरको मुख्य स्रोत बनाउने गरि विकास गर्ने काम भइरहेको छ । पर्यटन विकासबाटै नगरको आर्थिक उन्नति हुने गरि कामहरुलाई अगाडि बढाइएको छ । नगरको बलियो स्रोत नै पर्यटन र कृषि मानेका छौं । कउषि र पर्यटन क्षेत्रको भरपुर विकास भएमा नगरलाई सम्पन्न बनाउन गाह्रो हुदैन भन्ने स्थानीय सरकारको बुझाई छ ।

यस्तै, यहाँको खेल क्षेत्र पनि महत्पूर्ण छ । खेलकुद विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छौं । दुधे रंगशालालाई नगरको गौरव योजनाको रुपमा अघि सारेका छौं । पर्यटकीय क्षेत्र, रिङरोड, ट्रङ रोड, दुधे खेल मैदान, झिलझिले बसपार्क नगरका मुख्य गौरवका योजना हुन् । दुधे रंगशालालाई भव्य बनाउन योजना बनाइरहेका छौं । यो रंगशाला सामान्य रंगशाला रहने छैन । यसलाई सुविधासम्पन्न रंगशालाको रुपमा विकास गर्ने योजना छ । त्यसका लागि डीपीआर गर्न बजेटको व्यवस्थापन गरेका छौं । प्याराफिट, आवास र कभर्टहल निर्माणको लागि डीपीआरमा समावेश गरेका छौं । यहाँको समग्र खेलकुद क्षेत्रको विकास गर्दै युवाहरुलाई खेलमा लाग्न प्रेरित गरिएको छ ।

अर्को नगरको गौरवको योजना हो, झिलझिले बसपार्क । जसलाई हामीले पीपीपी मोडलबाट काम गर्दैछौं । त्यसको कार्यविधि पनि पास गरिसकेका छौं । यहि आर्थिक वर्षबाट काम थालेर त्यसलाई आगामी वर्ष पुरा गर्ने लक्ष्य बनाएका छौं । यसरी नै हामीले नगरमा कृषि क्षेत्रको विकासमा ठुलो लगानी गरिरहेको जानकारी दिन चहान्छु । कृषि हाम्रो नगरको प्राथमिक मात्र होइन महत्वपूर्ण क्षेत्रको रुपमा लगानी गरिएको छ । कृषकलाई मल, विउ, कृषि औजार वितरणको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएका छौं । सहारा नेपाल साकोसको समेत सहयोगमा किसानहरुलाई टनेल वितरण, सुधारिएको फ्रेस हाउस सञ्चालनमा सहयोग गर्दै आएका छौं । बाख्रा पाठा, बंगुरका पाठाहरु समेत वितरण गरिएको छ । मकै रोप्ने मेसिन, पावर टेलर, सिचाईका लागि मोटरहरु वितरण गर्दैछौं । कृषिमा किसानलाई उत्पादन बढाउन आवश्यक आधुनिक प्रविधिसँग जोड्ने अधिकतम प्रयासहरु भइरहेका छन् । कोभिडका कारण धेरै विकास निर्माणमा खर्च गर्ने काम प्रभावित बनाएको छ ।

यस्तै, विकासको आधार शिक्षालाई हामीले चार वर्षकोअवधिमा हदैसम्म सुधार गर्ने काम गरेका छौं । नगरमा सबैभन्दा कमजोर र सुधार गर्नै पर्ने क्षेत्रका रुपमा शिक्षालाई लिएका थियौं । गुणस्तरीय शिक्षा र सुविधायुक्त पूर्वाधार बटमलाइन थियो । विषेश गरि सामुदायिक विधालयको अवस्था नाजुक थियो । सरकारको ठुलो लगानी भएर पनि परिणाम शुन्य हुने अवस्था बनिसकेको थियो । एउटा सामान्य भन्दा सामान्य मजदुरी गरेर खाने व्यक्तिले समेत सामुदायिकमा आफ्ना बालबच्चाको भविष्य देख्न छोडर निजीमा पठाउन थाले । यो सबै देखेर सामुदायिक विधालय सुधार गर्नैपर्छ भन्ने मुल उदेश्य राखेर अघि बढेका थियौं । हाम्रा अनेकौं प्रयासहरुका कारण अहिले निजीका विधार्थीहरु धमाधम सामुदायिकमा भर्ना भइरहेका छन् । जनप्रतिनिधिको निरन्तर अनुगमनका कारण शिक्षा क्षेत्रमा आमुल परिवर्तन संभव भएको छ । शिक्षक, कर्मचारीले थोरै मेहनत गर्दा शिक्षामा सुधार ल्याउन सकिन्छ भन्ने उदाहरण पाइयो । धेरै केहि गर्नु पर्दैन । हिजोकै शिक्षकले आजको विधालयहरु सुधार गरेका हुन् । किनभने, उहाँहरु हाम्रो निगरानीमा रहनु भएको छ । हरेक विधालयमा अंग्रेजी शिक्षा लागु गरिएको छ । व्यवस्थापनमा विशेष ख्याल गरेका छौं । अझै शिक्षामा धेरै सफलता हात पार्न सकिन्न भन्ने अपेक्षा छ । यि सबै क्षेत्रको विकास र सुधारपछि समृद्ध नगर अवश्य बन्नेछ ।

स्वच्छ खानेपानीका लागि आयोजनाहरु शुरु गरिएका छन् । १८ भन्दा धेरै टेङ्की निर्माण भइरहेका छन् । मुख्य काम लगभग सकिएका छन् । अब, पाइपलाइन् विस्तार बाँकी छ । विजुली विस्तार प्रायःछुटेका छैनन् । छुटेका कहिकतै भेटिएका छन् । ति ठाउँमा विस्तार गर्न प्राधिकरणसँग समन्वय भइसकेको छ ।

नगर प्रमुखको हैसियतमा जिम्मेवारी सम्हालेपछि यहाँको समग्र विकास कर्तव्य मानेका छौं । धेरै कामहरु भएका छन् । आम नागरिकको जीवनलाई सहज बनाउन विकासका पूर्वाधारहरु तयार भएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा शिवसताक्षी एक कदम अगाडि छ भन्ने मेरो ठम्याई हो ।

…………..

गिता राई, प्रमुख प्रशासकीय अधिकृत

शिवसताक्षी नगरपालिकामा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार र कृषि क्षेत्रको विकासलाई समृद्ध नगरको मुख्य आधार बनाएका छौं । समृद्ध नगर निर्माणका लागि भइरहेका काम र प्रयासहरु नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राखेका छन् । यसैबिच हामीले नगर क्षेत्रमा रहेका अति विपन्न नागरिकको लागि आवास निर्माणको काम गरेका छौं । नागरिकको मौलिक अधिकार अन्तर्गत रहेको आवास निर्माण नगरको दायित्व हो । जनता आवास र तराई मधेश समृद्धि कार्यक्रमसँगको साझेदारीमा आवास निर्माण गरेका हौं ।

गत वर्ष १२ वटा आवास निर्माण गरेका थियौं । त्यसका लागि ५० लाख बजेट प्राप्त भएको थियो । त्यो बजेटले सम्पूर्ण काम नसकिए पछि यो वर्षको बजेटले घर निर्माण पुरा गरिएको छ । र, रहेको केहि रकमले २ वटा आवास बनाउने काम थालिएको छ । कनकाई माईको बाढीका कारण घरबार विहीन हुने तारा शेर्मालाई आवास निर्माण गरिएको छ । मेची अभियानको पहलमा आवास बनाइएको हो ।

जनता आवास कार्यक्रममा नागरिकको पहिचान गरेर घर हस्तान्तरण गर्छौं । भूमिहीन, अपांगता, बृद्ध, एकल, रोजगार गर्न नसक्ने परिवारलाई छनोट गरेर घर दिने तयारी छ । यहाँका नागरिक कृषिमा आश्रित हुनुन्छ । त्यसैले कृषिलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रको विकासमा लागनी गरिहेको अवस्था छ । शिवसताक्षी पर्यटकीय नगर भएकाले पर्यटकीय क्षेत्रको विकासमा उत्तिकै महत्वका साथ लागिरहेका छौं । विकासका योजना चालु अवस्थामा छ । अव्यवस्थित रुपमा रहेका गन्तव्यहरुलाई व्यवस्थित बनाइरहेका छौं ।

…………

प्रकाश चौधरी, बरिष्ठ कार्यक्रम अधिकृत

सताक्षीधाममा अहिलेसम्म २ करोड ४० लाख खर्च गरिसकेका छौं । प्रत्येक वर्ष ५० देखि ९० लाखसम्म खर्च भइरहेको छ । गत वर्ष नगरको ५० लाख र पर्यटन मन्त्रालयको ४० लाख लागनी गरिएको थियो । सताक्षीलाई सुन्दर र आकर्षक बनाउन टाइल विच्छ्याउने काम सम्पन्न गरिसकेका छौं । ड्रेनको काम पनि सकिएको छ । अहिले जलकण्ड र धाराहरु बनाउने काम चलिरहेको छ । त्यसका लागि १५ लाख लगानी गरिएको छ ।

यस्तै, चिल्लागढको विकासमा नगरको पहलमा ७२ लाख लगानी गरेका छौं । त्यहाँ मन्दिर निर्माण गर्ने, पोखरी व्यवस्थापन, बोरिङ गाड्ने, मुर्तिहरु राख्ने कामहरु अगाडि बढाइएको छ । यो वर्ष पनि २५ लाख लगानी गरिरहेका छौं । शालिक निर्माणको काम चलिरहेको छ । डुडाबारी सिमसार क्षेत्र विकासका लागि काम अघि बढेको छ । करिव ८० विगाहमा सिमसार विकास गर्न घेरावार गर्ने काम भइसकेको छ । यस्तै दोमुखाको विकासमा नगरले राम्रै लगानी गरेको छ । नगरभित्र रहेका पर्यटकीय क्षेत्रको विकास गरेर आर्थिक उत्पादनमा जोड दिने काम भएको छ । पूर्वाधार विकास गरेर व्यवसायिक गतिविधि बढाउदैं नागरिकलाई रोजगार प्रदान गर्न काम गरिहरेको अवस्था छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहीबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]