बैशाख ७, २०८१ शुक्रबार

चारवटा कक्षामा नयाँ पाठ्यक्रम

काठमाडौँ । चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुँदै छ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा १२ बाहेक अन्य सबै कक्षामा नयाँ पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक छपाइ कार्यसमेत पूरा गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी नीतिअनुसार यस पटक चारवटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । अब असार १ देखि नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसारको पुस्तक अध्ययन गर्न पाउनेछन् । सरकारले यस वर्षको शैक्षिक सत्र असार १ बाट प्रारम्भ गर्ने निर्णय गरिसकेको छ ।

यसपछि २०७९ सालको शैक्षिक सत्रमा तीनवटा कक्षाको पाठ्यक्रम परिवर्तन गरिनेछ । सोअनुसार कक्षा ४, ७ र ९ कक्षाको पाठ्यक्रम परिमार्जन गर्ने सरकारी तयारी छ । त्यसैगरी २०८० सालको शैक्षिक सत्रमा कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गरिने जानकारी प्रवक्ता भट्टराईले दिनुभयो । २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू भइसक्ने जनाइएको छ ।
चरणबद्ध रूपमा चार वर्ष लगाएर विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरिने भएको हो । यसअघि सरकारले गत वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । कक्षा १२ को पाठ्यपुस्तक छपाइको काम भने पूरा हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्रले नयाँ पुस्तक छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाइएको छ ।

सरकारले हालसम्म कक्षा ८ सम्म रङ्गीन पाठ्यपुस्तक कार्यान्वयनमा ल्याइसकेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा ९ सम्मका विद्यार्थीलाई रङ्गीन पाठ्यपुस्तक वितरण गर्ने सरकारको तयारी छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा सार्वजनिक विद्यालयमा कक्षा ९ सम्म अध्ययन गर्ने बालबालिकालाई रङ्गीन पाठ्यपुस्तक छपाइ गरी शैक्षिक सत्र सुरु हुनुअगावै निःशुल्क वितरण गरिने उल्लेख छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]