बैशाख ७, २०८१ शुक्रबार

नेपालको पुरानै नक्सा छापिएका स्कुले पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । नेपालको पुरानै नक्सा छापिएका स्कुले पाठ्यपुस्तक जफत गरिने भएको छ । केही प्रकाशकले आगामी असार १ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तकमा पुरानै नक्सा छापेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा वुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ८८ औँ बैठकमा उहाँले त्यस्ता पुस्तक तत्काल जफत गर्न निर्देशन दिनुभयो ।

केही प्रकाशकहरुले गत वर्ष बिक्री नभएका पाठ्यपुस्तकमा आवरण नयाँ राखेर पुरानै पाठ्यपुस्तक पुनः प्रयोगमा पनि ल्याएका छन् । यस्तो सामाजिक शिक्षा र सामान्य ज्ञान (जनरल नलेज)का पाठ्यपुस्तकमा गरिएको पाइएको छ ।

बैठकमा मन्त्री श्रेष्ठले शिक्षा निकायका उच्च पदाधिकारीहरुलाई त्यस्ता पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारवाही गर्न निर्देशन दिनुभयो ।
उहाँले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्न, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्न र मन्त्रालयको निर्देशन अटेर गरेमा कानुनअनुसार कारवाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभयो ।

उहाँले अनुगमन गरी त्यस्ता पुस्तक बजारमा बिक्रीका लागि अझै राखिएको भए प्रहरी प्रशासनको मद्दत लिएर कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो ।
बैठकमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्ने माथि कडा कारवाही गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले यस विषयमा आफूहरुले तत्कालै अनुगमन थालेर गल्ती गर्नेमाथि कडा कारवाही गरिने प्रष्ट गर्नुभयो ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा राखेर पुस्तक छपाइ गरेको जानकारी पाइएको बताउँदै तीमध्ये केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अघि बढाइएको बताउनुभयो । बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिन सुचीकृत भएका प्रकाशकलाई पुस्तक छपाइका लागि स्वीकृत दिनसमेत निर्देशन दिनुभयो । बैठकले विभिन्न विषयका कक्षा ६–८ को नयाँ पाठयक्रम स्वीकृत गरेको छ । Gorkhapatra

प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार  ४ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]