जेसीजको तनाव व्यवस्थापन तालिम
काँकरभिट्टा । झापाको मेचीनगरमा जारी जेसीज सप्ताह अन्तर्गत शुक्रबार तनाव व्यवस्थापनका विषयमा तालिम सम्पन्न भएको छ ।

मेचीनगर लेडी जेसीजले यो वर्ष जेसीज सप्ताहलाई तालिम सप्ताहका रुपमा विभिन्न विषयमा सात दिवशिय तालिम आयोजना गरेको छ । वर्ष २०१९ लाई नेपाल जेसीजमा रहेका १ सय ५० वटै शाखाहरुमा तालिममय बनाउने योजना छ ।
मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक राजबाबु साहले समयमै तनाव व्यवस्थापन गर्न नसके मानिसले अनेक समस्या व्यहोर्नुपर्ने बताए । तनावकै कारण पनिन धेरैको मृत्यु हुने समेत गरेको छ ।
उनले दैनिक जीवनलाई अझै उत्पादनशील क्षेत्रमा लगाउन हरेक मानिस तनाव मुक्त हुनुपर्ने र तनाव व्यवस्थापनतर्फ लाग्नुपर्नेमा जोड दिए । दैनिक जीवनमा प्रशंसा र कृतज्ञता प्रकट गर्न सकेमात्र तनावलाई केही हदसम्म व्यवस्थापन गर्न सकिने साहले सहभागी प्रशिक्षार्थीहरुलाई जानकारी दिए । यी दुईवटा कुरालाई सकरात्मकरुपमा लिने हो भने मात्र जीवनमा परिवर्तन आउने साहको भनाई छ ।
तनावले जहिले पनि हरेक मानिसलाई सताइरहेको हुन्छ यसबाट मानिस मुक्त हुन चाहान्छ तर, यसको व्यवस्थापनमा ध्यान दिन नसक्दा हरेक प्रकारका रोगको शिकार हुने उनको भनाई थियो । मानिस जुनसुकै क्षेत्रमा भएपनि कुनै न कुनै कुराको तनाव हुने भन्दैं उहाँले अब तनावलाई हेर्ने र बुझने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको बताए ।
संस्थाकी अध्यक्ष मञ्जु भण्डारी खनालको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले मानिसले तनावलाई सहिरुपमा व्यवस्थापन गर्न सके र बुझे मात्र धेरै रोगबाट मुक्ति पाउने विश्वास व्यक्त गरेका थिए । अहिले धेरै मानिसहरु तनावका बचि दैनिक कार्यमा तल्लिन भएको बताउँदै उनीहरुले तनावलाई व्यवस्थापन गर्न सकेमात्र धेरै कुराबाट पार पाउने बताए । सहभागीहरुले यस्ता तालिमले युवाको व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुर्याउने भन्दैं यो अवसरको भरपुर उपयोग गर्न सहभागीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीज क्षेत्र ए का तालिम संयोजक कविता शर्मा, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल, मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण कनाल मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनालगायतले बोेलेका थिए ।
संस्थाकी महासचिव गीता ओझाले सञ्चालन गरेको उद्घाटन सत्रमा सदस्य उर्मिला पौडेलले आस्थावाचन गरेकी थिईन् । कार्यक्रममा बाहुनडाँगी, भद्रपुर, अर्जुनधारा, भद्रपुर विर्ता, चारआली जेसीजका पदाधिकारीहरुको सहभागिता थियो । यसअघि मेचीनगर लेडी जेसीजले नेतृत्व विकास र माइन्युट लेखन तालिम सम्पन्न गररेको छ ।
अब संसदीय वैठक प्रणालीका विषयमा लक्ष्मी राईले, दिगो विकासको लक्ष्य तथा नेतृत्व विकासका विषयमा विजय तिम्सिनाले, उत्प्रेरणाका विषयमा जय तिीम्सनाले र भाषण कलाका विषयमा शोभा श्रेष्ठले सहजीकरण गर्ने निवर्तमान अध्यक्ष सुनिता उप्रेतीले जानकारी दिईन् ।