बैशाख १५, २०८१ शनिबार

झकाउन खोज्दा सुवास भने जस्तो लाग्छ

सुवास भट्टराई

बिहान १०ः२७ बजे ९८५२६७१६७८ बाट फोन आयो । पसलमा थिए । फोन उठाए, दाईले सोध्नुभयो पैसा बैंकमा लगाउनु भयो कि छैन ? भन्नुभयो । मैले बैंकमा लगाई सकेको जवाफ दिए । उहाँले जग्गा पासको कुरा मलाई अघिल्लै दिन नै गर्नु भएको थियो । चेकले नमान्ने भयो क्यास नै चाहिन्छ भन्यो र सोधेको भन्नू भयो । मैले क्यास चाहिन्छ भने म संग छ लानु भरे फेरि निकालेर दिनु भने फेरि भन्नू भो । होस, म यतै व्यवस्था गर्छु । अनि काम छैन भने आउनु चन्द्रगडी जाऊ भन्नुभयो । मैले फुर्सद नभएको जानकारी गराए । त्यसो भए म आउछु, अनि सोम उप्रेतीको बुबा बितेको आज ९ दिन भयो त्यहाँ जाँउ है भनेर फोन राख्नु भएको थियो ।

११ः५० मा डिल्ली दाईले फोन गर्नु भयो र कुनै अप्रिय खबर सुन्नु भयो भाइ ? मैले केही सुनेको छैन त दाई भने । फेरि सोध्नु भयो, ८१८२ नम्बर गाडी ज्ञानु जि को हैन ? त्यो गाडी चारआली चन्द्रगडी रोडमा दुर्घटना भएछ ज्ञानु जि को निधन नै भयो भनेर मेरो साथीले जनाएको छ कन्फर्म गर्नु भन्नू भयो । त्यसपछि मैले दाईको नम्बरमा फोन गरे २ रिङ सकिदा पनि फोन उठेन । त्यसपछि अनारमनी प्रहरी प्रमुख सन्तोष आचार्य सरलाई सोधेँ । दुर्घटना भएको भन्ने सुनेको छु । मेरो ईलाका नभएकोले सबै जानकारी छैन, म बुझेर खबर गर्छु भन्नुभयो । त्यसपछि मैले रोमणी दाईलाई फोन गरे । दाईले प्रस्ट नभएको कुरा गर्नु भयो । त्यति गर्दावर्दा म सुगम पम्प पुगिसकेको थिए । २० मिनेटमा दुर्घटना भएको स्थान पुगेर गाडी हेरे । बाटामा लगातार फोन आईरहे मैल लगातार जवाफ दिए । तर, मेरो आधा होस थिएन । जब हस्पिटल पुगेर ज्ञानु दाईलाई त्यो अवस्थामा देखे, मन थाम्न सकिन ।

आजसम्म आँसु अडिएको छैन । यति कुरा थाहा भयो, मानिसले चाहेर आँसुु आउने र रोकिने हैन रहेछ । हस्पिटलमा पुगे पश्चात् अग्रज नेताहरु लालप्रसाद साँवा, प्रेम गिरी , हिक्मत कार्की ,योगेश भट्टराई ,सुरेन्द्र पाण्डे ,देवराज घिमिरे, अग्नि खरेल ,जगन्नाथ खतिवडा लगायको फोन आयो । रुदै सबैलाई जानकारी गराए । केही समयमै हजारौ नेता कार्यकर्ता भेला भए । जब मलाई प्रेम गिरी दाईले आज ४ः३० बजे घरवाट कमरेडको शव यात्रा हुन्छ पार्टीको झण्डा र बाँसको व्यवस्था गर्नु भन्नू भयो तब मैले उहाँको अभाव महसुस गरे । उहाँको गाडी नै पार्टी कार्यालय थियो । ५-१० झण्डा गाडी मै हुन्थे । घर नै पार्टी कार्यालय थियो । हरेक चिजको व्यवस्थापन हुन्थ्यो । मलाई झण्डा र वाँस भनेको याद छ । त्यस पछि मैले कसैको फोन उठाउन सकिन । मलाई त्यस दिन के भयो थाहा छैन । म आमा बुबा र बुद्धि दाई पछिको अबिभावक उहाँलाई नै मान्थे । उहाँले सिकाएका हजारौं कुरा र संगसंगै बिताएका अविस्मरणीय क्षणहरु यादगार छन् ।

बेला बेला लाग्छ, म उहाँसँग गएको भए, गए पनि, रहे पनि संगै हुन्थिउ होला भन्ने लाग्छ । राती, यता फर्कियो, उत्ता फर्कियो झकाउन खोज्दा अगाडि आएर सुवास भने जस्तो लाग्छ । अनि, उहाँले सारै धेरै मायाँ गर्ने गुड्डे (छोरी) मामु (भाउजू ) अनि प्रजेस छोरालाई सम्झन्छु । अनि भेट भएर दिल खोलेर रुन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ । सामान्य अवस्थामा आउन कति दिन लाग्छ थाहा छैन । जे भए नि स्वीकार्नु सिवाय हामीसँग अर्को विकल्प रहेनछ । आज तेस्रो दिन भयो, भावपूर्ण श्रद्धाञ्जली दाई ।

प्रकाशित मिति : असार २७, २०७८ आईतबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]