माधव नेपालको पार्टीमा झापाबाट चार जना केन्द्रीय सदस्य
बिर्तामोड । माधव कुमार नेपालको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) को केन्द्रीय सदस्यमा झापाबाट चार जना समेटिएका छन् । ९५ जना केन्द्रीय सदस्यमा झापाबाट ४ जना केन्द्रीय सदस्य बनेको नामावली सार्वजनिक भएको छ ।
झापाबाट नेपालको नयाँ पार्टीमा काँकरभिट्टाका रविन कोइराला, बिर्तामोडका नरेश खरेल,अर्जुनधाराका भास्कर काफ्ले र गरामनीका खगेन्द्र चुडाल केन्द्रीय सदस्य बनेका छन् । उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर विरोधी हुन् । लामो समयदेखि माधव नेपाल समूहको गुट राजनीति गर्दै आएका खरेल र कोइराला संविधान सभा सदस्य हुन् । खरेललाई ओलीले नै समानुपातिक सांसद् बनाएका थिए । ओलीले धुलावारीको एक कार्यक्रममा सम्बोधन गर्दै भनेका थिए, खरेल जी मेरो लामो समयदेखिको विरोधी हो । तर, मैले उहाँलाई बुढेसकालमा सांसद् बनाएको छु । झापामा दुई नेता बाहेक माथिल्लो तहको नेता ओली पक्षमै लागेका छन् ।