बिर्तामोड युट्युव काण्ड : खिच्नेदेखि सामाजिक सञ्जालमा पोष्ट गर्नेसम्मलाई उजुरी
बिर्तामोड । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युट्यूवमा प्रसारण गरिदिने विरुद्ध प्रहरीमा उजुरी परेको छ । पीडितले युट्युवरले चरित्र हत्या गरेको आरोपमा ६ जना विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराइएका छन् ।
प्रहरीका अनुसार होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की , युट्युवर खगेन्द्र घिमिरे , भाष्कर श्रेष्ठ , सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेल विरुद्ध उजुरी परेको छ । कानुन बमोजिम काबाहीको माग गर्दै उजुरी दर्ता गराइएको प्रहरीको भनाई छ ।

गत मंगलबार राती मेची आँखा अस्पताल अगाडि रहेको एक होटलमा कोठाभित्र बसेर खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर सार्वनिक गरिएको थियो । सो कार्यको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा आम नागरिकले व्यक्तिगत जीवनमा प्रवेश गरेर चरित्र हत्या गरेको आरोप लागेको छ । अभद्र व्यवहार सम्बन्धी उजुरी परेकोे इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । महिलासँग बसेर खाजा खाने पुरुष ट्याङ्कर चालक हुन् । मजदुरको संगठनमा काम गर्ने कर्मचारी र अर्की महिला खाजा खान चारआलीबाट बिर्तामोड आएका थिए ।