असार २०, २०८२ शुक्रबार

मुलधारको आन्दोलनमा सरिक हुन झापाका विधार्थीलाई आव्हान

बिर्तामोड । अनेरास्ववियु झापाले अगुवा कार्यकर्ताको भेला गर्दै तमाम विधार्थीलाई मुलधारको विधार्थी आन्दोलनमा सरिक हुन आव्हान गरेको छ । नेकपा एमालेबाट माधव कुमार नेपाल समूह अलग्गिए पछि पार्टी तथा जनसंगठनहरुमा समेत प्रभाव पर्न थालेको छ । यसैक्रममा झापामा पनि विधार्थी संगठनमा राष्ट्रिय राजनीतिको प्रभाव परेको छ । जिल्लामा बृहत विधार्थी भेला गरेर अनेरास्ववियु झापाले शक्ति नै प्रदर्शन गरेको छ ।

शुक्रवार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित भेलालाई सम्बोधन गर्दै विधार्थी नेताहरुले झापामा कुनै विधार्थी पनि अलमलमा नपरेको बताएका छन् । उनीहरुले मुलधारको विधार्थी संगठन भनेकै एमालेको अनेरास्ववियु भएको बताए । नेताहरुले एमालेबाट अलग भएका माधव कुमार नेपाल समूहको नयाँ पार्टी नेकपा समाजवादीमा विधार्थीहरु झुक्किएर पनि जान नसक्ने दावी गरेका छन् ।
भेलालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष सुनिता बरालले झापामा रहेका सचेत विधार्थीहरुले नक्कली र सक्कली अनेरास्ववियु छुट्याउने कुरामा आफु विश्वस्त रहेको बताइन् । नीति, विचार एक हुनेहरुको एकता भएको बताउँदै विकास नचहाने र पदलोलुप नेपाल समूहहरु पार्टी अध्यक्ष केपी ओलीको लोकप्रियता देख्न नसकेर चोइटिएर गएको उनको भनाई छ । नेतृ बरालले अनेरास्ववियु हरेक शैक्षिक संस्थामा पुग्नुपर्ने भन्दै शैक्षिक क्षेत्रको सुधारमा योगदान गर्नुपर्ने बताएकी छन् ।

यस्तै, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मनोज ताम्लीले झापा कम्युनिष्ट आन्दोलनको गर्विलो इतिहास बोकेकोले यहाँका सचेत विधार्थीहरु कम्युनिष्ट पार्टी र अनेरास्ववियु छोडेर नजाने उद्घोष गरेका छन् । विगतको राजनीतिक परिवेशमा फरक गतिविधि गर्नेहरु र अलमलमा परेकालाई पनि मुलधारको विधार्थी आन्दोलन सरिक हुन आग्रह गरेका छन् । उनले परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेको अनेरास्ववियुले अब शैक्षिक क्षेत्रलाई समय सापेक्ष बनाउन आवश्यक रहेको बताए ।

भेलाले पाँच बुँदे निष्कर्ष निकाल्दै कोरोना महामारीको समयमा विधार्थीबाट अनावश्यक शुल्न नलिन माग गरेको छ । अनाधिकृत रुपमा शुल्क लिएमा शैक्षिक संस्थाको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिइएको छ । नेपाल सरकारसँग विधार्थीलाई कोभिड विरुद्धको खोप तत्काल व्यवस्था गरि भौतिक रुपमै पठनपाठन सञ्चालनको वातावरण बनाउन माग गरेको छ ।

विधार्थी भेलालाई विधार्थी इञ्चार्ज घनश्याम अधिकारी, एमाले झापाका सचिवालय सदस्य असारु राजवंशी, टिकाराम मंग्राती, अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन लामाले मन्तव्य राखेका थिए । अनेरास्ववियु झापाका संयोजक समर्पण खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सलिना गुरुङले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सहसंयोजक नारायण पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]