चैत्र १६, २०८० शुक्रबार

अनिशले फहराए विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा

अमेरिका । नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन् । अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन् ।


लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई १ जेठ ०७५ मा विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए । त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला भएको समारोहमा लुइँटेलले जेम्बोरीका सह–अध्यक्ष अमेरिकाका स्कोट सोरल्स र क्यानडाका माइक स्कोटलाई हस्तान्तरण गरे ।


लुइँटेलले हस्तान्तरण गरेको झण्डा ब्वाइज स्काउट अफ अमेरिका, भर्जिनियामा रहेको राष्ट्रिय स्काउट म्यूजियममा राखिने जनाइएको छ । समारोहमा नेपालबाट करिब ४० जना उपस्थित भए पनि विशेष आतिथ्य ग्रहण गर्ने लुइँटेल मात्रै थिए । उनले करिब ४५ मिनेट सगरमाथा चढ्दाको अनुभव, १३ वर्षअघिदेखि सुरु स्काउट यात्रा र दिगो विकास लक्ष्यबारे मन्तव्य समेत दिए । कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गरेको लुइँटेलले बताए ।


पहिलो पटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए । पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए । लुइँटेल नेपाल र चीन दुवैतर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटरको रुपमा चिनिन्छन् ।

अनिशको नाममा छात्रवृत्ति
नेपाली युवा अनिशको सम्मानमा अमेरिकामा एक छात्रवृत्ति दिने समेत घोषणा गरिएको छ । ब्वाइज स्काउट अफ अमेरिका, नर्थन स्टार काउन्सिलले लुइँटेलको सम्मानमा त्यहाँका स्काउटरलाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।

आयोजकका अनुसार स्काउन्टको क्याप भिजिटमा जान चाहने तर, कमजोर आर्थिक स्थिति भएकालाई यो छात्रवृत्ति दिइनेछ । लुइँटेलले सन् २०१६ मा समगरमाथा चढ्दा संस्थाको १०० औं वार्षिकोत्सवको झण्डा पनि चुचुरोमा लगेका थिए । संस्थाको ‘फन्ड रेजिङ’ कार्यक्रममा पनि उनले मन्तव्य राखेका थिए ।

सोही अवसरमा आगामी दिनमा विश्व स्काउटको आधिकारिक पर्वतारोही भएर अनिशले ७ वटा महादेशको ७ वटै हिमाल आरोहण गर्ने पनि घोषणा गरिएको छ । विश्व स्काउटका अध्यक्ष क्राइग टर्पीले पनि सामाजिक सञ्जालमा सन्देश जारी गर्दै पर्यावरणको रक्षा र दिगो विकासका लागि चेतना फैलाउने उद्देश्यले अनिशले यो चुनौति लिएको उल्लेख गरेका छन् । उनले अगाडि भनेका छन्, ‘लुइँटेल स्काउटका एक च्याम्पियन हुन् ।’

प्रकाशित मिति : श्रावण १२, २०७६ आईतबार  १ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]