बैशाख २३, २०८१ आईतबार

फोहोर व्यवस्थापन सबैको दायित्व

सम्पादकीय
झापाको ठुलो र व्यस्त बजार बिर्तामोडमा अहिले फोहोरको राजनीति चलिहरेको छ । फोहोरमाथिको फोहोरी राजनीतिले सबै नागरिक समेत चकित भइरहेका छन् । बिर्तामोडमा १२ दिनपछि आइतवारदेखि फोहोर उठाउन थालिएको छ । मेयर धु्रव कुमार शिवाकोटीले आफ्नै जग्गामा फोहोर व्यवस्थापन गर्न वाध्य भएका छन् । बिर्तामोडका हरेक चोकमा थुप्रिएको फोहोरले जनप्रतिनिधिलाई नमज्जाले गिज्याइरहेको छ । चार वर्ष नेतृत्वमा आइसक्दा पनि फोहोर व्यवस्थापन नहुनुलाई जनप्रतिनिधिको कार्यशैलीमाथि प्रश्न उठेको छ ।

स्वभाविभक रुपमा फोहोर व्यवस्थापन गर्न नसक्नुमा जनप्रतिधिको कमजोरी छ । तर, यहाँको फोहोरले जनप्रतिनिधिलाई मात्र गिज्याइरहेको छैन । यहाँ बसोवास गर्ने आम नागरिकलाई पनि फोहोरले कुरीकुरी गरिहरेको छ । फोहोर व्यवस्थापन गर्ने मुख्य दायित्व नगरपालिकाको हो । यसको मतलव , यहाँ फोहोर उत्पादन गर्ने नागरिकको केहि दायित्व छैन भन्ने होइन । बिर्तामोड नगरपालिका स्थापना भएपछि फोहोरको समस्या शुरु भएको होइन । यो वर्षौदेखीको समस्या हो । नगरउन्मुख गाविस हुँदादेखिको समस्या अहिलेसम्म कसैले समाधान गर्न सकिरहेका छैनन् । अहिले बजार र जनघनत्व बढेका कारण फोहोरको मात्रा पनि बढ्दै गएको छ ।

बिर्तामोडका राजनीतिक दलहरुले फोहोरमा राजनीति गर्न छोडेर व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्छ । सधैंको फोहोर समस्या यत्तिकै राख्नु हुदैन । हद भएपछि मेयरले आफ्नै जग्गामा फोहोर गाढ्ने व्यवस्था मिलाए । उनले आफ्नै जग्गामा फोहोर फाल्ने व्यवस्था मिलाउँदा पनि विरोध भएको छ । नगरभित्र धेरै ठाउँमा फोहोर व्यवस्थापनको लागि जग्गाको व्यवस्था भयो । ल्याण्डफिल्ड बनाउने गरि जग्गाधनीले जग्गा दिदाँ पनि वरपरबाट विरोध भयो । धेरैजसो ठाउँमा अगुवाबाटै रोक्ने छेक्ने काम भइरहेको छ । यसैले कसैप्रति पूर्वाग्रह नराखिकन यसलाई साझा समस्याको रुपमा लिई समाधानमा जुटौं ।

प्रकाशित मिति : भाद्र १५, २०७८ मंगलबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]