भदौं १ देखि स्थानीय उत्पादनको कर नतिर्ने बिर्तामोडका व्यवसायीको घोषणा
बिर्तामोड । झापाको बिर्तामोडमा उधोग व्यवसाय सञ्चालन गर्दै आएका उधोगी व्यवसायीहरुले भदौं १ गतेदेखि स्थानीय उत्पादन कर नतिर्ने बताएका छन् । बिर्तामोड नगरपालिकालाई व्यवसायीले सो कर खारेजको माग गर्दै पत्र बुझाएका हुन् । व्यवसायीले दिएको पत्र राजश्व शाखालाई पठाउँदै आगामी बैठकमा पेश गर्न तोक लागेको छ ।
नगरपालिका भित्र रहेका उद्योगका व्यवसायी प्रतिनिधीहरुले बिर्तामोड नगरपालिकाले लिदै आएको स्थानीय उत्पादन कर ऐन खारेज गर्नु पर्ने माग राखेका छन् । उनीहरुले जिल्लामा कतै नलिइएको कर बिर्तामोडमा लिइएको आरोप समेत लगाएका छन् । सोमबार व्यवसायीहरुले बिर्तामोड नगरपालिकामा स्थानीय उत्पादन कर नीति खारेज गरी पाउँ भन्दै निवेदन दिएका छन् । उक्त निवेदन जिल्ला प्रशासन झापा, झापा उद्योग संघ र बिर्तामोड उद्योग बाणिज्य संघलाई बोधार्थ पठाईको बिर्तामोड उधोग वाणिज्य संघका महासचिव एवम् पाथिभरा स्टील इण्डष्ट्रिज प्रा.लि का संचालन अर्जुनकुमार मैनालीले जानकारी दिए ।
निवेदनमा भनिएको छ, ‘कोभिड महामारीको चपेटामा गुज्रिरहँदा विश्व अर्थतन्त्र नै तहसनहस भएको यो अबस्थामा यस नगर क्षेत्रका सम्पूर्ण उद्योग कलकारखानाको बजार ठप्प भएको छ । हामी उद्योगीहरुले उद्योग सञ्चालनमा आर्थिक कठिनाईहरु भोग्नु परिरहेको अवस्थामा स्थानीय ऐनमा नभएको कर झापा जिल्लामा कुनै पालिकाहरुले पनि नलगाएको बताइएको छ । बिर्तामोड नगरपालिकाले आफ्नो नगर भित्र रहेका उद्योग कलकारखानाहरुलाई लगाएको स्थानीय उत्पादन कर हामी उद्योगीले यो अवस्थामा धान्न नसक्ने जानकारी गराउदै सो कर खारेज गरी उत्पादन मुखी उद्योग कलकारखानाहरुलाई प्रोत्साहन गर्न अनुरोध गर्दछौं । उद्योगमा लागू गरिएको सो स्थानीय उत्पादन कर तुरुन्तै खारेज जोडदार माग गरिएको छ ।
स्थानीय उत्पादन कर खारेजीकोे माग राख्दै पाथिभरा स्टील इण्डष्ट्रिजका संचालक अर्जुन मैनाली, कंचनजंघा सिमेण्टका शिवकुमार अग्रवाल, दुर्गा स्टील इण्डष्ट्रिजका उमेश डालमिया, नमस्ते प्लाईउड इण्डष्ट्रिजका राजकुमार जैन, अम्बे भवानी प्लाईउड इण्डष्ट्रिजका महेश चित्लागिया, पशुपति भेनियर उद्योगका दुर्गा भण्डारी लगायत ३० जना उद्योगीहरुले निवेदनमा हस्ताक्षर गरेका छन् ।