जनप्रतिनिधिले दल रोज्ने आज अन्तिम दिन
काठमाण्डाै – निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयसीमा आज सकिँदैछ । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि आज बेलुका ५ बजे सकिन लागेको हो ।
२० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादीका महन्थ ठाकुरले नयाँ दल दर्ता गरेका थिए ।
नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी बनेपछि दल रोज्न जनप्रतिनिधिलाई निर्वाचन आयोगले आजसम्मको समयावधि दिएको थियो । प्रदेश र पालिकाका जनप्रतिनिधिलाई आयोगले दल रोज्न गएको भदौ २ गतेदेखि २१ दिनको समय दिएको थियो ।