जेष्ठ ७, २०८१ सोमबार

नलेखिएको नियात्रा

कमल बुढाथोकी

राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तन के हो ? किन खोजिरहेछन् मानिसहरुमा, त्यो कुरा बुझ्ने जान्ने चेतनाको विकास भइसकेको थिएन र जान्नै पर्ने विषय जस्तो लाग्दैनथ्यो । आठ वर्षको पट्ठोलाई त्योे बेला बहुदल र निर्दलको हल्ला र हावाले निकै हल्लाएको थियो । घर–घरमै फर्फराउने नीलो र पहेँलो रङ्गको उत्ताउलो र अनौठो उत्सुकता जगाएको थियो ।


गाउँले परिवेशमा पनि एक खाले मानिसहरु बहुदल ठिक अर्को खाले निर्दल ठिक अथवा तिमी वेठिक हामी ठिक भनेर तर्क विवाद चर्काचर्की, झैँझगडा र पानी बाराबारको स्थितिसम्मका घटनाहरु यत्रतत्र देख्न पाइन्थे । अरु कुरा नबुझे पनि मेरो बालमस्तिष्कले एउटा पक्ष राजाका मानिस र अर्को पक्षका नयाँ व्यवस्था खोज्ने मानिस हुन् भनेर ठम्याउन भने सकेको थियो ।

तर आपसी कलह, द्वन्द्वको भूमरीमा समाज नराम्ररी घचेटिएको तितो अनुभूतिले बालमस्तिष्कमा स्थायी अड्डा जमाएको थियो । हामीले बसोबास गरेको ठाउँ शुक्रबारे झापाको विकट ग्रामीण भेगमा पर्दथ्यो । भौतिक पूर्वाधार तथा मानवीय संसाधनको विकासका दृष्टिले पिछडिएका ठाउँहरु नेपालभरि धेरै थिए । म पछि जान्ने बुुभ्mने भएपछि थाहा भयो । तर, त्यो बेला टाढा गएको भनेको हाम्रा लागि शनिश्चरे बजार थियो ।

तिनताका शनिबारे हाटका दिन शनिश्चरे बजारको रौनकता विशिष्ट किसिमको लाग्दथ्यो । बजारमा त्यतिका मान्छेहरु कहाँबाट ओइरिए होलान् भन्ने निरुत्तरित जिज्ञासाले दिमागमा खटपटी मच्चाउँथ्यो । बेलामौका म आमा बाबुलाई पछ्याउँदै शनिबार हाटका दिन बजार जान पाउँदा हर्षले गद्गद् हुन्थेँ । नारायण चोकदेखि मुख्य चोकसम्मको लम्पट निमेषभरमै छिचोलेको पत्तै हुँदैनथ्यो । प्रेम श्रेष्ठ (प्रेम बाबु भन्ने गरिन्थ्यो) को आकाशै छौउँला झैँ गरी ठडिएको, पहेलो रङ्गरोगनले चिटिक्क परेको आधुनिक घरले निर्निमेष हेर्न बाध्य गराउँथ्यो । अरु थुप्रै घरटहराहरु, मिल, सिनेमाहलहरुले सजिएको शनिश्चरे आधुनिकतासँग रमाइरहे भैmँ लाग्दथ्यो । हाम्रा निम्ति ति नौला र आकर्षक चित्रहरु थिए ।


बजारका घर, टहराहरुमा बहुदल र निर्दलका नाराहरु र झण्डाहरु प्रसस्त देख्न पाइन्थे । जुन शुक्रबारेमा देखिएका भन्दा चित्ताकर्षक लाग्थ्यो । जसले बालमस्तिष्कमा डेरा जम गरेको थियो । २०३६ सालको उक्त राजनैतिक पर्वले जबर्जस्त राजनीतिक चेतनाको व्याड राखेको थियो ।
शनिश्चरेमा देखिएको जस्तो भित्तेलेख, पर्चापम्प्लेट र भीमकाय आकारका झण्डाहरु उतिबेला शुक्रबारेमा गिनेचुनेका मानिसहरुको घरमा बाहेक त्यति देख्न नपाए पनि साना आकारका झण्डाहरु भने प्रशस्त देख्न पाइन्थ्यो ।

शुक्रबारेमा सामाजिक रुपले प्रतिष्ठित व्यक्ति स्व. डिल्लीविक्रम नेम्वाङ (माइला बा)को घरमा फरफराएको नीलो रङ्गको झण्डा र उहाँका अघिपछि हिंड्ने थुप्रै मानिसहरु उहाँकै नेतृत्व निर्देशनमा बहुदल पक्षीय भएका रहेछन् ।
उता तत्कालीन बुधबारे गा.प.४ का वडाध्यक्ष आदरणीय लक्ष्मीप्रसाद इङ्नाम समाजसेवी भक्तबहादुर गौतम रुद्रबहादुर कटुवालहरुको निर्दलीयताको पक्षमा सक्रियता रहेको मेरा सहोदर माल्दाजुबाट सुन्दा थाहा पाउन सकस् परेन । यसपछि दाजुको पछि–पछि हिंड्दा हिंड्दै थोरबहुत कुरा थाहा पाउँदै गएको थिएँ ।
वैशाख जेष्ठ महिनाको तराईकोे उष्णताले गर्दा निकै पोले झैँ लाग्थ्यो । मतदान गर्नेहरुलाई भने राजनीतिक उष्णताले उर्जा दिए झँै लाग्थ्यो । त्यसै पनि छिटो छिटो हिंड्ने दाइ आपूmले चाहेको व्यवस्थाका पक्षमा भोट दिन पाइने लालसाले हुनुपर्छ यति छिटो पाइला अघि बढाउनु हुन्थ्यो कि उहाँलाई भेट्न मैले दगुर्नु परेको थिया,त्यो बेला । पाराखोपी ४ को बुथ रातेखालमा थियो ।
भोट लगाइसकेपछि यति विघ्न खुसी देखिनु भयो । जो बिरलै देख्न पाउँथें । पछि मतगणना कार्य काम भएर मतपरिणाम निर्दलको पक्षमा आयो, पञ्चायती व्यवस्था समर्थकहरुले उत्सव मनाए, बहुदल पक्षकाहरुले मत गणनामा धाँदली भएको जिकिर गरे तर परिणामलाई स्वीकार्नुको अर्को विकल्प थिएन, उनीहरुमा ।
उतिबेला बहुदलवादी भनेर चिनिने नेपाल विद्यार्थी संघ र अखिल भनेर चिनिएको अनेरास्ववियू (पाँचौँ) नाम गरेका संगठनहरु अस्तित्वमा थिए । उनीहरुका माउ पार्टीहरुलाई तत्कालिन पञ्चायती व्यवस्थाले राजनीतिक गतिविधिहरु सञ्चालन गर्न बन्देज लगाएको थियो ।


प्रतिबन्धित नेपाली काँग्रेस र प्रतिबन्धित नेकपा (माले) भूमिगत रुपमा जनता माझ राजनीतिक तथा सांगठनिक गतिविधिहरु गर्दथे । विद्यार्थी संगठनहरुलाई सांगठनिक गतिविधिहरु गर्ने छुट थियो । त्यसैले प्रतिबन्धित एवं राजनीतिक पार्टीहरुले भगिनी विद्यार्थी संगठनहरु मार्फत राजनीतिक गतिविधि गर्ने योजनालाई तीव्र रुप दिएका थिए । जसको कारण पूर्वी नेपालको मेची कोशीका ती विद्यार्थी संगठनरुको प्रभाव विस्तृत हुँदै गएको थियो ।

हामी अध्ययन गर्ने विद्यालय झापा जिल्लाकै विकट गाउँहरुमध्येको एक खुदुनाबारी स्थित विद्यालय, श्री जनता प्रा.वि, नि.मा.वि.हुँदै प्रस्तावित माध्यामिक विद्यालयमा परिणत भएको थियो ।
जहाँ आधा जसो शिक्षकहरुको मासिक वेतन विद्यार्थीका अभिभावकरुले शुल्कको माध्यमबाट खुवाउनुपर्ने बाध्यता थियो । विद्यालय भवन, कोठाहरु साथै डेस्क वेञ्चहरु विद्यार्थी संख्याको अनुपातमा पर्याप्त थिएनन् । विषयगत अनुभवी शिक्षकहरुको अभावै थियो यद्यपि जति शिक्षकहरु हुनुहुन्थ्यो उहाँहरुले पढाएको पाठ बुझिएन भनेर सिकायत गर्नु परेन ।


यसको अर्थ विषयगत डिग्री प्राप्त न्यून संख्यामा शिक्षकहरु भए तापनि सम्पूर्ण शिक्षकहरु अध्यापन कलामा पोख्त निपुण हुनुहुन्थ्यो भन्ने पुष्ट्याई गर्दछ । माथि नै उल्लेख भएअनुरुप विद्यालयको भौतिक संरचनाको यति अभाव थियो कि कक्षा तीनसम्मको विद्यालय पठनपाठन गर्दासम्म अपर्याप्त डेस्कवेञ्च हुँदा कक्षामा ढिलो प्रवेश गर्ने आधाजसो विद्यार्थीहरु धुलामाथि गुन्द्री ओछ्याएर बस्नुपर्दथ्यो । मलाई पुरै याद छ कि, कक्षा ६ मा पढ्दासम्म आदरणीय गुरु घनश्याम निरौलाको नेपाली विषय कुम्भीको फेदमा बसेर पढ्दथ्यौँ ।


पछि विस्तारै शिक्षाप्रेमी अभिभावकहरुको जोडबल, स्थानीय समाजसेवीहरुको अग्रसरता तथा विद्यालय प्रशासनको मेहनतले विद्यालयको स्तरोन्नति हुँदै गएको हो । जब हामी आठ कक्षामा पढ्थ्यौँ त्यति बेलासम्म विद्यालय भवन, डेस्कवेञ्चहरुको निकै थपिइसकेका थिए । अध्ययन, अध्यापनको वातावरण क्रमिक रुपमा सुधार र सहज बन्दै गएको थियो ।


हाम्रो विद्यालयमा स्थानीय विद्यार्थीहरुका अलावा इलाम जिल्लाका पश्चिमी भेगका विकट गाउँहरु जस्तैः लोद्या, गरुवा, महमाइ, थाक्ले, वर्फल्याङ र बदामटारसम्मका विद्यार्थीरु पठनपाठन गर्दथे । ती मध्ये थाक्ले र वर्फल्याङका विद्यार्थीहरु पैदलै आएर पढ्दथे ।
दुःख कष्ट भोगेर उनीहरुले पठनपाठनमा उन्नति गरेको देख्दा नियमित स्कुल जान र ध्यान दिएर पढ्न उत्प्रेरित गर्दथ्यो हामीलाई पनि । विद्यालयको पठनपाठन अतिरिक्त हुने क्रियाकलापहरुमध्ये फुट्बल, भलिबल, हाजिरीजवाफ कवितात्मक प्रतियोगिताका साथै विद्यालयमा विविध कार्यक्रमहरु हुने गर्दथे ।


विद्यालयमा हुने साहित्यिक कार्यक्रममा सहभागिता हुँदै आएता पनि निरन्तर साधनाको अभावमा दख्खल हासिल गरिएन । बरु अग्रज साथीसंगीको सरसंगत तथा बाक्लो उठ्बसले प्रगतिशील विचार, संगठनप्रति मोह बढेर गयो ।


अनेरास्ववियू (पाँचौँ) नामक माले निकट संगठनमा आबद्ध भइयो । स्कुल पढ्दा माल्दाई खुँखार नेविसंघको कार्यकर्ता त्यसपछि नेपाल प्रहरीमा सेवारत हुनुहुन्थ्यो । एकै परिवारका अन्य कोही पनि राजनीतिक संगठनप्रति बेखबर झैँ हुनुहुन्थ्यो । ठुलो मामा खुदुनाबारी गाउँ पञ्चायत वडा नं. ९ बाट निर्वाचित वडाध्यक्ष हुुनुहुन्थ्यो दुई कार्यकालसम्म । मेरो पारिवारिक तथा नातेदारको राजनीतिक पृष्ठभूमि र मैले आत्मसात गरेको दर्शन सिद्धान्तबीच आकाश र पातालको फरक थियो ।


राजनीतिक गतिविधिहरुमा सक्रिय सहभागिताः
कक्षा आठमा पढ्दा वि.सं.२०४२ सालदेखि प्रगतिशील विचार बोक्ने विद्यार्थी संगठनमा आवद्ध भएपछि पढाइको अतिरिक्त सांगठनिक गतिविधिहरुमा ज्यादा समय खर्चिने काम भयो । प्रायः रातमा मात्र हुने भेला, वैठकहरुमा नियमित उपस्थिति हुनै पर्ने कडा नियम थियो । नियमको पालना नगरेमा आलोचना,आत्माआलोचनाको भागिदार हुनै पर्ने । फलामे अनुशासनको दायरामा रहनु पर्ने बाध्यकारी नियम र स्कुलिङ थियो ।


हिनताबोध, डर त्रास पाइतालामुनि राखेर संगठनका क्रियाकलापमा अनिवार्य सहभागिता जनाउनु कर्तव्य र दायित्व नै ठान्नु पर्ने समय र परिस्थिति थियो । हामी विद्यालय स्तरीय प्रारम्भिक कमिटीमा संगठित थियौँ । उपल्लो कमिटीका नीतिनियम र निर्णय, निर्देशन र परिपत्रानुसार संगठनको विस्तार एवं समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल उठाएका सांगठनिक एजेण्डाहरुको प्रचार प्रसार गर्नुपर्दथ्यो । पर्चा, पम्प्लेट छर्ने र टाँस्ने भित्तेलेखन, सडक लेखन गर्ने जोखिमपूर्ण काम गर्नुपर्दथ्यो ।


यस्ता धेरै जोखिमपूर्ण तर संगठनका निम्ति महत्वपूर्ण मानिएका कामहरुको २०४२ साल चैतको समय हुँदो हो, जिल्लाभरिका विद्यार्थीहरु सदरमुकामा भेला हुने कार्यक्रम थियो । खुदुनाबारीबाट मोहन इङनामको नेतृत्वमा पाँचजनाले कार्यक्रममा सहभागिता जनाइयो ।


रातको समयमा नारा लेख्नुपर्ने गोप्य निर्देशन अनुसार हामी खुदुनाबारीबाट गएका जम्मा पाँच जनाको चाहिं विर्ताबजार सडक उत्तर बाटामा नारा लेख्नुपर्ने जिम्मेवारी तोकिएको थियो । हामी पैदल हिंड्दै चन्द्रगढीबाट रातको ९ बजे त्यस ठाउँमा आइपुगेका थियौँ । चोक चकमन्न थियो ।
ठाउँ ठाउँमा बालिएका बिजुली बत्तीको मधुर प्रकाशबाहेक उज्यालोको प्रभाव विल्कुलै थिएन ।

शैनिकमोड पश्चिमतिर राजवंशी समुदायका घरमा पालिएका कुकुरको बेलाबेला एकोहोरो भुकाइको आवाज अनि गाडीको हरनको चर्को ध्वनि लेख्न थालेको भित्तामा प्रतिध्वनित हुँदा टाउको फुलेर ठुलो भएको जस्तो, छाती फुले जस्तो प्रतीत हुन्थ्यो । त्यो बाटो भएर हिंड्ने मानिस भेटिएला भन्ने डरसँगै प्रहरीको गस्तीहरुले भेट्ला कि भन्ने त्रासको मनभित्र आँधी चलेको थियो ।


भित्तेलेखनको कार्य सक्दा नसक्दै गरामनीदेखि साइरन सहिन निकै टाढाको वस्तु देखिने गरी उज्यालो छर्ने हेडलाइनको तेजिलो प्रकाश छर्दै प्रहरीको गस्ती भ्यान आफैतर्फ आइरहेको देख्दा सातोपुत्लो नै उडेको थियो । हामी सडक दक्षिण खेततर्फ आली काल्ला नाग्दै लड्दै फेरि उठ्दै भागेका थियौँ । भाग्ने लुक्ने छिप्ने कलाबारे सबैलाई ज्ञान थियो ।अहिले सम्झँदा पनि आङ नै सिरिङ्ग हुने त्यो बेला सडकदेखि करिब दुई सय मिटर दक्षिण आलीमन्तिर टाँसिएर सुत्नुपरेको थियो ।
अरु साथीहरु पनि भाग्दा एक्लै हुनुपर्ने भएकोले कोही अघि पछि भएर त्यसै गरी लुकेका होलान् भन्ने आशा लाग्दथ्यो । रातको सन्नाटा चिर्दै आएको त्यो ध्वनि र त्यो उज्यालो पनि यमराज आए झँै लागिरहेको थियो । अगाडि दायाँ बायाँ आउने तीखो प्रकाशका माध्यमले आपूmलाई देख्यो कि जस्तो लाग्थ्यो । तब मात्र बचेको महसुसका साथ ठुलो श्वास फेरेँ जब उक्त भ्यान विर्तामोडतर्फ हुर्रिंएको देखियो ।


अब भने दवेको स्वरमा साथीहरु बोलाउने, नियालेर हेर्ने काम भयो । सबै एक दुई काँल्ला तलतिर कोही माथि साथै कोही एक दुई आली पूर्व पश्चिमको फरकमा मात्र रहेछौँ । सबै एक ठाउँमा जम्मा भई चारपाने हुँदै खुदुनाबारीतर्फ उकालियाँै । ठुलो खतराबाट बच्न सकेकोमा प्रफुल्लित तर अभिभावकहरुको खप्की दप्की खाइने भयले मन गह्रुङ्गो पार्दै अविच्छिन्न पाइला अघि बढाइरह्यौँ । क्रमश…

प्रकाशित मिति : श्रावण १६, २०७६ बिहीबार  ३ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]