मेची नदीमा डुबेर एक महिलाको मृत्यु
झापा । मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ स्थित भट्टराई चोक डेरा गरी बस्ने पाण्डव राजवंशीको ३५ वर्षीया श्रीमती कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार शनिबार राति १ बजे मेचीनगर-६ स्थित मेची डाँडा नजिकबाट भारत जान खोजेका कमलालाई नदीले बगाएको थियो। उनीसँग अरू दुई महिला पनि गएका थिए। उनीहरू भने सकुशल नदी तरेर पार भएको बताइएको छ। घटनापश्चात् इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए।

डुबेको स्थानदेखि १५ किलोमिटर दक्षिण भारतीय भूभाग अनन्तराम जोत भन्ने स्थानमा बिहान ८ बजेर ४० मिनेटमा उनको शव फेला परेको थियो। राजवंशी दम्पतीको साबिक घर पाठामारी गाविस हाल कचनकवल गाउँपालिका हो। ती महिला वारिपारि कारोबार गरी परिवार पाल्दै आएका थिइन्।
यता उनको शवलाई भारतीय प्रहरीसँग समन्वय गरी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। महिलालाई नदीमा खोज्ने क्रममा एक प्रहरी कर्मचारीसमेत घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ।