चैत्र १५, २०८० बिहीबार

भद्रपुर नाका खुलाउन दवाव

भद्रपुर । विगत १८ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउन यहाँका संघसंस्थाले सरकारलाई दबाबसँगै निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ । नेपाल–भारत मैत्री संघ झापाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भद्रपुर नाका सहज बनाउन ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष प्रदीपमणि रेग्मीले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलामार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष रेग्मीले भद्रपुर नाका सहज बनाउनु पर्ने माग राख्दै काँग्रेस नेता सिटौलासँग सोमबार फोनमा कुराकानी गरेका थिए । नेता सिटौलाले सो कुरालाई सकारात्मक रूप लिँदै आफू पनि नाका खुलाउने विषयमा लागि परेको र प्रधानमन्त्री देउवालाई समेत आग्रह गर्ने बताएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

यसअघि नाका खुलाउने विषयमा झापा उद्योग वाणिज्य संघ र झापा उद्योग संघले जिल्ला प्रशासन कार्यालय झापामा छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको छ । कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ साल चैत ११ गतेदेखि भद्रपुर नाकाबाट आवतजावत पूर्ण रुपमा रोक लगाएको छ ।

भद्रपुर नाकाबाट भारतबाट आउने ढुवानीका सरसामानमा भने कुनै रोक लगाएको छैन । सरकारले ३७ करोड लगानी गरेर भद्रपुर–गलगलिया सीमा जोड्ने मेची नदीमा पक्की पुल बनाएको छ । लामो समयदेखि सीमा नाका बन्द हुँदा मेची पुलको उपयोग गर्न यहाँका जनतालाई सरकारले वञ्चित गराएको छ । खोप कार्ड र पिसीआर रिपोर्टको आधारमा कम्तीमा अतिआवश्यक कामका लागि भारत जाने व्यवस्था यही नाकाबाट मिलाइदिन यहाँका जनताले बारम्बार आवाज उठाइरहेका छन् ।

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]