चैत्र १५, २०८० बिहीबार

परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म बुधबार नभए बिहीबार परराष्ट्रमन्त्री नियुक्त हुने भएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभाको साइड लाइन मिटिङका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने सरकारलाई बाध्यता छ । न्यूयोर्कमा सार्क राष्ट्रका विदेशमन्त्रीको भेला पनि हुने भएकाले सरकारलाई परराष्ट्र मन्त्री यथाशक्य चाँडो नियुक्त गर्न दबाब छ ।

‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ, अन्य मन्त्रालयमा पनि छिटै मन्त्री बनाउने सहमति गठबन्धनका शीर्ष नेताहरूबीच बनेको छ,’ गठबन्धनमा आबद्ध जनमोर्चाकी नेत्री दुर्गा पौडेलले भनिन् । यद्यपि, अन्य मन्त्रीका विषयमा दलहरूबीच सहमति जुटिसकेको छैन । अन्य प्रमुख मन्त्रालयमा पनि मन्त्रीहरू नियुक्त गर्दै जाने सहमति पाँच दलबीच भएको छ । बुधबार पनि पाँच दलको बैठक बस्ने भएको छ ।

परराष्ट्रमन्त्री कसलाई बनाउने भन्ने विषयमा निर्णय हुन बाँकी छ । यसका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारी बैठकले परराष्ट्रमन्त्रीबारे टुंगो लगाउनेछ ।

स्रोतका अनुसार नारायण खड्का परराष्ट्रमन्त्री बन्ने सम्भावना छ । खड्का देउवाका विश्वास पात्र मानिन्छन् ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । त्यस दिन कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका थिए । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री भएका थिए । १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरिएको थियो ।

पाँच दलीय गठबन्धनमध्ये जनमोर्चाले सरकारमा नजाने प्रस्ट पारिसकेको छ भने माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सरकारमा सहभागिता जनाइसकेको छैन ।

मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]