बैशाख ११, २०८१ मंगलबार

‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन हुने

झापा । अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ ।

पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, तरकारी खेतीसहित उद्यमशील बनाउनका लागि उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । परिषद्ले यसै आर्थिक वर्षदेखि शिक्षण संस्थालाई उद्यम गर्ने सिकाइस्थलको रुपमा विकास गर्न र शिक्षामा गुणस्तर, नवप्रवर्तन तथा उद्यमशीलताको विकास गरी शिक्षण रुपान्तरण गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलले विद्यार्थीलाई विद्यालयबाट नै उद्यमशील बनाउन ‘एक एक शिक्षण संस्था एक उद्यम’ कार्यक्रम सञ्चालन गर्न थालिएको जानकारी दिए । उनले उक्त कार्यक्रमले आफू पढेलेखेको ठाउँबाट नै विद्यार्थी व्यवसायमा लाग्न सहयोग पुग्ने बताए । विद्यालय तहबाट नै विद्यार्थीलाई उद्यमतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेको हांै, उनले भने, विद्यालयबाट बाहिर निस्केपछि पनि उनीहरु बेरोजगार बन्नुपर्दैन ।

उनका अनुसार अभिभावक पनि महिनामा एक दिन विद्यालयमा आए आफ्ना विद्यार्थीले गरेको उद्यममा सहभागी हुनेछन् । आफ्ना विद्यार्थीले विद्यालयमा नै उद्यम देखेर अभिभावक पनि आफ्नो खाली रहेको खेतबारीमा केही न केही खेती गर्न सक्नेछन्, उहाँले भन्नुभयो, यसले सिङ्गो समाजलाई उद्यमशील बनाउन सहयोग मिल्ने छ ।

सञ्चालनका लागि परिषद्ले देशभरिका विद्यालयसँग प्रस्ताव माग गरेको छ । परिषद्ले कार्यक्रम सञ्चालन गर्न इच्छुक प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा सञ्चालित वा नमूना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयले यही असोज २१ गतेभित्र व्यावसायिक परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ । विद्यालयले पेश गरेको प्रस्तावलाई परिषद्को छनोट समितिले छनोट गर्नेछ । कार्यान्वयन कार्यढाँचामा निर्धारित मूल्याङ्कनका आधार बमोजिम प्रत्येक प्रदेशबाट एक एक र सङ्घबाट एक गरी आठ वटा विद्यालय छनोट गरिने परिषद्का उपसचिव कमला ज्ञवालीले जानकारी दिनुभयो ।

उका अनुसार छनोट भएको विद्यालयले बीउ पुँजीको रूपमा परिषद्ले नै शुरुमा सात लाख रूपियाँ अनुदान दिने छ । परिषद्ले उपलब्ध गराएको र क्लबले विभिन्न स्रोतबाट प्राप्त गरेको रकमबाट नै विद्यालयमा उद्यम कार्यक्रम सञ्चालन गरिने छ ।
सरकारले नमूना विकासका लागि छनोट गरिएका ४२२, प्राविधिक शिक्षा सञ्चालन गर्ने ४८४ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट १८ महिनाको कक्षा सञ्चालन गरिरहेको विद्यालयले उक्त कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा लागू भएका नमूना सामुदायिक माध्यमिक विद्यालयलाई विशेष प्राथमिकता दिइने छ । विद्यालयले कृषि तथा पशुपक्षी (माछापालन, बाख्रापालन, कुखरापालन) वन, पर्यटन प्रवद्र्धन, निर्माणमा आधारित उद्यम, कलामा आधारित उद्यमलगायत आठ प्रकारका उद्यममा कार्यक्रम सञ्चालन गर्न सक्ने छन् ।

विद्यालयमा उद्यम कार्यक्रम सञ्चालनका लागि विद्यालयमा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी र कक्षामा प्रथम हुने विद्यार्थी सम्मीलित १७ सदस्यीय विद्यार्थी उद्यमी क्लब गठन गरिने छ । उक्त क्लबमा रहेका विद्यार्थीले नै उद्यम कार्यक्रम सञ्चालन गर्ने छन् ।
उद्यम सञ्चालनका लागि विद्यालयमा उद्यम कोष स्थापना गरिने छ । विद्यालयका प्रधानाध्यापक अध्यक्ष, उद्यमी क्लबका अध्यक्ष सदस्य र विद्यालयको लेखा हेर्ने कर्मचारी सदस्य सचिव रहनेछन् । कोषमा अभिभावकबाट उद्यम गर्न वार्षिक रुपमा सङ्कलिन रकम, प्रदेश सरकारबाट प्राप्त अनुदान, उद्यमबाट प्राप्त आम्दानी, पूर्व विद्यार्थी मञ्चबाट उद्यम सञ्चालनार्थ स्वेच्छिक रुपमा प्राप्त रकम, स्थानीय तह र अन्य व्यक्ति, सङ्घसंस्थाको अनुदानबाट प्राप्त रकमले एक विद्यालय एक उद्यम कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो । परिषद्का प्रमुख प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले विद्यार्थी आफैले उद्यमबाट कमाएको पैसाले विद्यालयमा पढ्ने बताए ।

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]