झापामा पालिका तहको निर्वाचन तयारी पूरा
बिर्तामोड । यही असोज ९ गते हुने पालिका तहको निर्वाचनका लागि झापाका १५ वटै पालिकामा तोकिएका मतदान अधिकृतलाई पार्टीको विधान, निर्वाचन निर्देशिका र अनुसूचीहरूबारे बिहीबार प्रशिक्षण सम्पन्न गरिएको छ ।
नेपाली काँग्रेस झापाका सभापति एवं कार्यक्रमका सभापति उद्धव थापाले निर्विवाद रुपमा वडा अधिवेशन सम्पन्न गर्ने वडा तहका सम्पूर्ण मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई धन्यवाद दिँदै पालिका तहको निर्वाचन पनि स्वच्छ, पारदर्शी, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आग्रह गरेका छन् ।

क्रियाशील सदस्यता वितरण र वडा तहको निर्वाचन शान्तिपूर्ण रुपमा भएपछि सबै जिल्ला एवं केन्द्रमा समेत झापा उदाहरणीय बनेको चर्चा गर्दै सभापति थापाले स्वस्थ प्रतिस्पर्धाका लागि सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान समेत गरे । लोकतान्त्रिक पद्धति अनुरूप भएको निर्वाचनमा हारजित सामान्य प्रक्रिया भएको भन्दै उनले निर्वाचनपछि पार्टी एक ढिक्का हुने विश्वास व्यक्त गरे ।प्रशिक्षणका क्रममा पालिका तहको निर्वाचनमा समावेशी सहभागिता सम्बन्धी व्यवस्थासहितको अनुसूची, निर्वाचन निर्देशिका र विधानका विषयमा उठेका सवालहरूको जवाफ जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले दिएका छन् ।
निर्वाचन सम्पन्न गराउन आफू माध्यम मात्रै भएको बताउँदै जिल्ला निर्वाचन अधिकृत चिलवालले शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न पालिका तहमा खटिएका अधिकृतहरूलाई आग्रह गरे । नेपाल शिक्षक सङ्घका अध्यक्ष नेत्र खरेलले सहजीकरण गरेको कार्यक्रममा नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाईँ, डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारी, लगायतको सहभागिता रहेको थियो ।
यसैबिच पालिका तहको निर्वाचन सम्पन्न गराउन झापाको मेचीनगरमा हरिप्रसाद अधिकारी, अर्जुनधारामा लक्ष्मीप्रसाद सिवाकोटी, बुद्ध शान्तिमा वसन्त नेपाल, बिर्तामोडमा नारायणप्रसाद पौडेल, कनकाईमा खगेन्द्र खरेल, हल्दिबारीमा बोधकृष्ण पौडेल, बाह्रदशीमा अमृतबहादुर बुढाथोकी, भद्रपुरमा मञ्जु दाहाल, कचनकवलमा मित्र खनाल, झापामा जगन्नाथ राजवंशी, शिवसताक्षीमा प्रकाश भण्डारी, कमलमा कुमार खतिवडा, दमकमा बबुवान दाहाल, गौरादहमा सुरेशकुमार पोखरेल, र गौरीगञ्जमा गोविन्द घिमिरेलाई मतदान अधिकृत तोकिएको छ ।
निर्वाचन कार्य तालिका अनुसार मतदान अधिकृत र सहायक अधिकृतहरूले असोज ८ गते निर्वाचन स्थल तय एवं व्यवस्थापन गर्नेछन् भने ९ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन, १२ देखि २ बजेसम्म उम्मेदवारी दर्ता, २ बजेदेखि २ः३० उम्मेद्वारमाथी दावीविरोध, उम्मेदवारको नामावली प्रकाशन ३ बजे, उम्मेदवारी फिर्ता ३ बजेदेखि ६ बजेसम्म अन्तिम नामावली प्रकाशन ६ः३० बजे तय गरिएको छ । यसैगरी असोज १० गते बिहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भए लगत्तै मतगणनाको समय तालिका तय गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।