बैशाख १७, २०८१ सोमबार

भद्रपुर कांग्रेसको सभापतिमा ५ जनाको उम्मेद्वारी

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गाउँ तथा नगरमा नेतृत्व चयनका लागि शनिवारदेखि पालिका तहको अधिवेशन सुरु भएको हो ।

भद्रपुर नगरमा सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा चुनावी प्रक्रियामा गएको छ । सभापति, उपसभापति, सचिव र सहसचिव गरी मुख्य ७ पदमा १६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । नगर सभापति एक पदका लागि बन्धु कार्की, मदनबहादुर बस्नेत, ज्ञानबहादुर चौहान, भरत प्रसाईँ र रामबहादुर कँडेलले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नगर उपसभापति दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा भरतचन्द्र गुरुङ, रमेशचन्द्र झा र रेखा अधिकारीले उम्मेदवारी दिएका हुन् । सचिव दुई पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिव पदमा कविन राई, दुर्योधन कार्की, अनिता रिजाल, टेकबहादुर पाण्डे, उत्तम कोइराला र सन्तकुमार राजवंशी (सन्तोष) ले उम्मेदवारी दिएका छन् । त्यसैगरी सहसचिव दुई पदका लागि चार जनाको उम्मेदवारी परेको छ । सहसचिव पदमा मणिकुमार राई, सन्तोष थापा, नन्दलाल राजवंशी र दीपेशकुमार साहाले उम्मेदवारी दिएका छन् । भद्रपुरस्थित एनसीडिसी भवनमा काँग्रेस नेतृत्व चयनका लागि चुनावी माहौल तातिएको छ ।

सबै उम्मेदवार आफू जित्ने आत्म विश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन् । चुनावी प्रक्रियामा जानुअघि दुई दिन नेता सिटौला गृह नगर आएका थिए । सिटौलाले सर्वसम्मत नगर नेतृत्व चयनका लागि सबै आकाङ्क्षी उम्मेदवारहरूलाई पटक–पटक बोलाएर छलफल गरेका थिए । तर, आकाक्षी उम्मेदवारहरूले आआफ्नो पदमा दाबीसँगै अडान छाडन मानेनन् । नेता सिटौलाको कुरा आकाङ्क्षी उम्मेदवारहरूले नमान्दा अन्ततः सबै चुनावी मैदानमा गएका हुन् । नगरमा २३९ मतदाता रहेको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]