किसानको धानबाली अवलोकनमा पुगे बिर्तामोडका मेयर
बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बुधबार नगरका विभिन्न वडामा पुगेर वर्षाले पुर्याएको क्षतिको अवलोकन गरेका छन् ।
गत आइतबार राती देखि परेको भारी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको नगर प्रमुख शिवाकोटीले बुधबार नगरका वडा नम्बर ९ र १० लगायत विभिन्न वडामा पुगेर अवलोकन गरेका हुन् । उनले वडा नम्बर ३ को करेला बारी लगायतका क्षेत्रमा पुगेर अदुवा खोलामा आएको बाढीले पुर्याउन सक्ने क्षतिलाई रोक्नको लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि बताए ।

वर्षाका कारण धान खेतीमा ठुलो नोक्सानी भएको भन्दै नगरप्रमुख शिवाकोटीले सिङ्गो नगरपालिका स्तव्ध भएको बताए । काटेको धान खेतमै डुवेको, पाक्न नपाउँदै सबै ढलेको देख्दा दःुख लागेको भन्दै क्षतिको विवरण संकलन गर्ने काम भईरहेको र राहतको लागि आफुले सम्बन्धित निकायमा जोडदार पहल गर्ने जानकारी दिए ।
नगर प्रमुख शिवाकोटीले नगरको दृष्टि पुग्न नसेकेको कुनै ठाउँमा भयावह अवस्था आएको भए नगरपालिका तथा आफुलाई सिधा सम्पर्क गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् । नगर प्रमुख शिवाकोटीले किसानलाई परेको दुःखका बेला आवश्यक सहयोग गर्न तथा आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेर २ दिन भित्रमा नगरपालिकामा बुझाउन समेत वडाध्यक्ष तथा जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
बिर्तामोड नगरपालिका भित्र करिब १५ प्रतिशत पुर्ण र २५ प्रतिशत आंशिक क्षति पुगेको प्रारम्भिक अनुमान रहेको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए । यसवर्ष समयमै पानी परेकाले शतप्रतिशत खेतमा धान रोपाई भएको कडरियाको भनाई छ ।