बैशाख १३, २०८१ बिहीबार

देशविरोधीहरुलाई जनताले आगामी चुनावमा ठिक पार्नेछन् : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशविरोधीहरुलाई जनताले आगामी चुनावमा ठिक पार्ने बताएका छन् । उनले अहिलेको गठबन्धन सरकार नै देशविरोधी भएको बताए ।

नेकपा एमाले झापाले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी सरकारलाई परमादेशको माध्यमबाट हटाएर दक्षिणपन्थी सरकार बनाएको बताए । उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् । ‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ ।

अध्यक्ष ओलीले माधव नेपालबाहेक अरु नेतालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधव नेपाललाई भने फेरि नेकपा एमालेले नलिने बताएका हुन् । ‘माधव नेपालबाहेक अरु पार्टीमा फर्किए हुन्छ, अरु साथीहरु फर्कनुहोस्, भ्रममा नपर्नुहोस् । तर माधव नेपाल जस्तो आपराधिक तत्वलाई फेरि नेकपा एमालेले लिँदैन’, ओलीले भने ।

माधव नेपालको पछि लाग्ने मान्छे देखेर अचम्म लाग्ने पनि ओलीले टिप्पणी गरे । ‘माधव नेपालको पछि लागेका दुई चार जना अलमलमा परेको देखेर अचम्म लाग्छ । के देख्या होला ?’ ओलीले आश्चार्य प्रकट गरे ।
व्यवसायी दुर्गा प्रसाईंको भनाइमा समर्थन जनाउँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछि लागेर पनि काम नहुने बताए ।

अब निर्वाचनमा प्रचण्डलाई चुनाव जितेर देखाउन चुनौति समेत दिएका छन् । उनले भने, अब प्रचण्डले कहाँबाट चुनाव जित्छन् , माधव नेपाल त उठ्दै उठ्दैनन् । उनी समानुपातिक तिर बस्ने ओलीको भनाई थियो । प्रचण्ड र माधव नेपाल दुवै जना गद्दार भएको टिप्पणी गरे ।
कार्यक्रममा एमाले नेता सुवास नेम्वाङले देशभर एमालेप्रति देखिएको जनलहरले अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरे । उनले एमालेप्रति जनतामा ठुलो विश्वास र भरोसा भएको बताए । नेम्वाङले भने, देशको शिर उच्च बनाउने दल एमाले नै जनताको भरोसाको पार्टी हो । अब, कुनै पनि शक्तिले एमालेलाई छेक्न नसक्ने तर्क छ । आफु लामो समयदेखी एमालेमा क्रियाशिल भएको भन्दै नेता नेम्वाङले भन्छन्, एमालेमा लागेर कहिले पश्चाताप भएको छैन र कहिल्यै शिर झुकाउनु परेको छैन । जनताको माया अपार भएकाले एमाले अबको निर्विकल्प शक्ति बन्ने बताए ।

यस्तै, नेता लेखराज भट्टले एमालेको राष्ट्रवादी अभियानले आफु पनि एमालेमा लागेको जानकारी दिए । उनले भने, एमाले अध्यक्ष ओली देशमा राष्ट्रवादी नेता पाए । त्यसैले म पनि एमालेमा लागे । प्रचण्डले विगतमा देखेको सपना भुलेर बाटो विराएको उनको आरोप छ । हामी परिवर्तनका लागि लड्दा एउटा उदेश्य थियो, भट्टले भने – अहिले प्रचण्ड त्यो बाटो मै छैनन् ।

पार्टी अध्यक्ष ओलीको उपस्थितिमा सुवास नेम्वाङ, लेखराज भट्टले टीका लगाएर नवप्रवेशीलाई स्वागत गरेका छन् । कार्यक्रममा साढे पाँच हजार जना एमालेमा प्रवेश गरेको जानकारी दिइएको छ । कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईले एमाले प्रवेश गरेको घोषणा गरेका छन् । उनको नेतृत्वमा हजारौं युवा एमाले प्रवेश गरेका हुन् । केहि समयअघि एमाले प्रवेश गरेका अमृतलाल राजवंशीको नेतृत्वमा समेत एक हजारभन्दा धेरै एमाले प्रवेश गरेका छन् ।

प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]