जेष्ठ ३, २०८२ शुक्रबार

प्रधानन्यायाधीशले बोलाएको ‘फुल कोर्ट’, न्यायाधीशहरुकाे बहिष्कार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज (सोमबार) का लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात ‘फुल कोर्ट’ मा १४ न्यायाधीश सहभागी नहुने भएका छन् ।

एजेण्डाबारे छलफलै नगरी प्रधानन्यायाधीशले बैठक बोलाएको भन्दै न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन् । ‘फुल कोर्ट’ बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका १४ जना न्यायाधीशले आज बिहान ११ बजेदेखि प्रधानन्यायाधीशका काम कारबाहीबारे आफ्नो छलफललाई निरन्तर दिने भएका छन् ।

छलफल नसकिएसम्म आज तोकिएका इजलासमा नबस्ने उनीहरूले बताएका छन् । न्यायाधीशहरू हिजो छलफलमा रहेकै बेला प्रधानन्यायाधीश जबराले आज १ बजे बारका पदाधिकारीसँगै ‘फुल कोर्ट’ बस्ने सूचना पठाएका थिए ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने र कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्नेबारे एजेण्डासहित ‘फुल कोर्ट’ बस्ने प्रधानन्यायाधीशको सूचनाले न्यायाधीशहरूलाई थप आक्रोशित बनाएको छ ।

न्यायालयको गरिमा र स्वतन्त्रताबारे सर्वत्र बहस हुँदा सहकर्मी न्यायाधीशहरूसँग एक पटक पनि छलफल नगरेका प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि बाँडेर विषयान्तर गर्न खोजेको भन्दै न्यायाधीशहरूले ‘फुल कोर्ट’ बहिष्कार गर्ने निर्णय गरेका हुन् । उनले आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको पनि आइतवार बताएका थिए ।

उनले अहिले देखिएका सबै समस्या र उठेका प्रश्नको समाधानबारे सोमबार बस्ने फुल कोर्टमै छलफल गर्ने बताएका छन् । आइतबार बारका पदाधिकारीसँग जबराले तीन घण्टा लामो छलफल गरेका थिए । जबराले आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार फुल कोर्ट बोलाउने र त्यहाँ छलफल गर्ने भनेका थिए ।

प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]