जेष्ठ ५, २०८१ शनिबार

सहकारीभित्र समीक्षा गर

सम्पादकीय
झापाको बिर्तामोड–६ मा रहेको पताल गंगा सहकारीका अध्यक्ष रेवती खनाल अहिले सम्पर्क बाहिर छन् । सभ्य हिसावले सम्बोधन गर्दा सम्पर्क बाहिर हुन् । नत्र, उनलाई फरार पनि भन्न सकिन्छ । खनाललाई संस्थाको १ करोड ५४ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही आधारमा खनाल विरुद्ध झापा प्रहरीमा उजुरी दर्ता भइसकेको छ । संभवतः खोजीका लागि पक्राउ पुर्जी जारी पनि भइसकेको हुनुपर्छ । संस्थाभित्र करोडौको चलखेल गर्न सक्ने वातावरण बन्नुमा सञ्चालकहरु पनि दोषी छन् । खनाल यो घटनाका मुख्य पात्र हुन् । तर, पूर्ण दोषी उनलाई मात्रै मान्न सकिदैन ।

एउटा सहकारीमा अध्यक्षको जम्मेवारी पाउने व्यक्ति आफै व्यवस्थापक बस्नु नै सहकारी संस्थाको नियम बमोजिम छ । बस्न दिने, सञ्चालक समिति यस कारण पनि दोषी देखिए । सञ्चालक समितिले सयौं शेयर सदस्यहरुको बचतलाई नै जोखिम हुने गरि व्यवस्थापकलाई कमजोर बनाए । व्यवस्थापनको पक्षमा सञ्चालकको कडाई भएन । निगरानी पनि भएनछ । त्यसैले खनालले आफ्नै हात जगन्नाथ गरे । संस्थामा कसैले पनि एकल प्रयासबाट ठुलो दुर्घटना निम्त्याउन सक्दैन । संलग्नता नहोला तर निगरानी त अवश्य कमजोर भयो । त्यसको फाइदा अध्यक्षले उठाए र संस्थालाई कमजोर बनाए । अहिले वितिसके पछि सबैलाई चेत खुलेको हुनुपर्छ ।

झापामा करिव १ हजार हाराहारीमा सहकारी खुलेका छन् । थोरै संस्था मात्र नियम बमोजिम चलिरहेका छन् । अधिकांश संस्थाभित्र वेथिती छ । सहकारी चलाउनेहरुलाई मज्जाले थाहा छ, सहकारीभित्रको वेथिती के हो ? बचत कर्ताको रकम कहाँ कसरी लगानी भइरहेको छ ? त्यसबाट कसले फाइदा लिइरहेको छ ? बचत कर्ता सदस्यहरुले के पाएका छन् ? कतै, खनालले जस्तै, आफ्नै मनमौजी चलेको त छैन ? सञ्चालकहरुले नीतिभन्दा बाहिर गएर लगानी गरिरहेका हुन सक्छन् । यस खालमा समस्या नहोला भन्न सकिन्न । यसैले हरेक सहकारीभित्र आवश्यक निगरानी र समीक्षा हुनुपर्छ । नत्र, सहकारी जोखिममा पर्नेछन् ।

प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहीबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]