बैशाख ६, २०८१ बिहीबार

‘गोल्धापवासीले गौरव गर्ने विकास गर्छौ’

झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटा चर्चामा आइरहने वडाध्यक्ष हुन् । कामले होस् वा स्थानीय नेताको घेरावन्दीले होस् सापकोटा चर्चा मै आइरहन्छन् । वडालाई संसारसँग जोढ्न प्रयन्तशिल वडाध्यक्षले बालबालिकालाई विधालय मै पुगेर टिफिन वितरण गरेर लोकप्रीयता कमाइरहेका छन् । उनै वडाध्यक्षसँग स्थानीय तहले गरिरहेको विकास निर्माण र विभिन्न गतिविधिकाबारेमा गरिएको संक्षिप्त कुराकानी :


१, नयाँ आर्थिक वर्ष शुरु भएको छ, के गर्दै हुनुहन्छ ?
भर्खरै हामीले चौथो गाउँसभा सकेका छौं । गाउँसभाबाट नीति तथा कार्यक्रम पनि सर्वसम्मत रुपले पारित भइसकेको छ । यो आर्थिक वर्षमा हाम्रो स्थानीय सरकारले नयाँ कार्यक्रम ल्याएको छैन । किनभने, हामीले शुरुआतबाटै नयाँ र रचनात्मक काम गर्दै आएका छौं । त्यसलै विगतमा जस्तै काम नयाँ र फरक ढंगले गर्ने सोचमा छांै । पुराना कार्यक्रमलाई निरन्तरता दिदैं समृद्ध हल्दिवारीको अभियानमा लागिरहेका छौ ।

२, तपाईको वडामा नयाँ कार्यक्रम योजना के छ ?
मैले शुरु मै भनिसके । हामीले गर्ने काम नयाँ र रचनात्मक नै हुन्छ । मेरो वडाको काम योजना पनि त्यस्तै छ । गाउँपालिकाको आफ्नो भिजन छ । हामीले ५ वटै वडाले गाउँपालिकाको भिजनमा मेल खाने गरी कार्यक्रम तयार गरेका छौं । ५० लाखको कार्यक्रम मैले पनि बनाइसके । यहाँ पनि विगतका काम, योजनालाई प्राथमिकता दिएका छौं ।

३, प्राथमिकतामा के छ त ?
हाम्रो प्राथमिकतामा कृषि क्षेत्र नै पर्छ । अघिल्लो वर्षहरुमा पनि कृषि प्राथमिकतामा थियो । यो वर्ष पनि कृषि नै प्राथमिकतामा राखेका छौं । नयाँ कार्यक्रमका रुपमा प्रविधिलाई यो वर्ष जोढ्ने सोच बनाएका छौं । १ नम्बर वडालाई फ्रि वाइफाई बनाउने कार्यक्रम छ ।

४, वाईफाई जोन अनावश्यक देखिन्छ । यस्तो कार्यक्रम किन ?
यो आवश्यकता देखियो । विभिन्न कारणले हरेक परिवारका सदस्य वैदेशिक रोजगारीमा जानु भएको छ । सूचना सञ्चारमा पहुँच विस्तार गर्नुछ । संसार सानो घेरामा आइसकेकोले यहाँ पनि त्यसको उपयोग आवश्यकता भइसक्यो । नागरिकलाई संसारसँग जोढ्न, सूचना सञ्चारको पहुचमा पुरयाउन आवश्यक छ । सम्पर्क सम्बन्ध नहुँदा धेरै घर विग्रिएका छन् । सहजै सम्पर्कको वातावरण नहुँदा पारिवारिक समस्या पनि आइरहेको छ । संसार कहाँ पसगिसक्यो, वाइफाई अनावश्यक भन्नु गलत हो । गत वर्ष तिन स्थानमा वाइफाई जोडेका छौ, यो वर्ष तिन ठाउँमा जोड्दैछौ ।

५, प्रविधि मात्र कि भौतिक पूर्वाधार पनि ?
पूर्वाधार विकासमा पनि पर्याप्त काम भइरहेको छ । यो मैले यहाँ भनेर हुन्न , हेर्नलाई वडा घुम्नैपर्छ । सडक निर्माण, विधुत विस्तार लगायत आम नागरिकलाई सचेत बनाउन सशक्तिकरणको कार्यक्रम निर्माण गरिएको छ । महिला, युवा र विभिन्न जातिको उत्थान र सशक्तिकरण पनि प्राथमिकतामा छ । वडामा सक्षम बनाउन पहिलो आधार हामीले सचेतना मानेका छौं । हरेक नागरिक जान्ने हुनुपर्छ । तब मात्र स्थानीय सरकारले गरेका काम पनि पारदर्शी र स्वच्छ हुनेछ । यति मात्र होइन, जातीय उत्थानमा विनियोजन भएको बजेट पनि कृषि मै खर्च गर्नु भनेका छौं ।

६, दोस्रो प्राथमिकतामा के छ ?
पहिलोमा कृषि छ भने दोस्रोमा भौतिक पूर्वाधार विकासलाई राखेका छौं । सडक, पुल र विधुत नहुने भने विकास निर्माण संभव छैन । यसैले हामीले दोस्रो प्राथमिकतामा भौतिक पूर्वाधार विकासलाई समावेश गरेका छौं । सडकको स्तरोन्नति, कालोपत्रका काम भइरहेका छन् । गत आर्थिक वर्षमा पनि र यो वर्ष पनि हुने छ । गोल्धाप बजारबाट दक्षिण गत वर्ष १ करोड खर्च गरेर कालोपत्रे गरिएको छ । यो वर्ष पनि १ करोड बजेट व्यवस्था भएको छ । कालोपत्रे पनि थपिने भएको छ । र, जनजागृतिबाट लाटिओली हुँदै जलथल जोढ्ने सडकको डिपिआर भइसकेको छ । सँगै वडामा १२ वटा स्लाप कल्भर्ट निर्माणको काम सम्झौता भई निर्माणधिन छन् । यो बहुवर्षीय योजना अनुसार काम अघि बढिरहेको छ ।

७, कृषि प्राथमिकता भन्नुभयो, के परिवर्तन ल्याउनु भो त अहिलेसम्म ?
परिवर्तन एकै पटक देखिने विषय होइन । यो क्रमश परिवर्तन हुँदै जाने हो । कृषिमा हिजोका दिनमा रहेका समस्या अहिले समाधान भएको छ । पहिलो त यहाँ सिंचाईको समस्या थियो । सिचाईको समस्या समाधानका लागि वडाले ६२ वटा मोटर वितरण गरेका छौं । मोटर वितरणपछि किसानले बेमौसमी कृषि उत्पादन गरिरहेका छन् । आम किसानले भोग्दै आएको सिचाई समस्या विस्तारै सधैका लागि समाधान गर्दैछौ ।
अर्को महत्वपूर्ण कुरा, हामी यो वर्षबाट वडा नं. १ लाई अर्गानिक तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा काम गर्दैछौ । गाउँपालिकाले पकेट क्षेत्रका लागि २५ लाख बजेट व्यवस्थापन गरेको छ । यो साविक गोल्धापवासीको लागि गौरवको विषय पनि हो ।

८, अब वडाको लक्ष्य के हो ?
हरेक घरघरमा विजुली व्यवस्थापन गर्ने लक्ष्य छ । वडावासीलाई शिक्षा, स्वास्थ्य र सडकमा सहज पहुँच पुर्याउन क्रियाशिल छौं । यो आर्थिक वर्षमा ६ करोड २३ लाखको काम जनताको निम्ति गरेका छौं । जनताको विकासको माग असामान्य छ । माग अनुसारको विकास गर्न बजेटको अभाव छ । अब, विकासको लागि प्रदेश र केन्द्रका सांसद्सँग समन्वय गर्दैछौ । विकास निर्माणलाई जनमैत्री बनाउन हरेक नागरिकको माग सम्बोधन गरिरहेका छौं । सडक निर्माण, स्लाप कल्भर्ट निर्माण, सडकको स्तरोन्नति, कालोपत्रेको काम भएको छ । सँगै विभिन्न जातजाति, महिला , लक्षित समुदायको उत्थानको निम्ति आवश्यक कार्यक्रम गरिरहेका छौं । शिक्षा, स्वास्थ्य र खानेपानी प्रमुख प्राथमिकतामा राखेका छौं ।

९, विकास निर्माण चित्तबुझ्दो छ त ?
विकास निर्माण पर्याप्त छैन । हामी चाहेको विकास यत्ति मात्र होइन, धेरै छ । विकास निर्माणको अभाव खड्किएको छ । सामान्यदेखि असामान्य काम गर्ने सोच र योजना छ । अहिले संसारलाई गोल्धापसँग जोड्नका लागि फ्रि वाइफाईको कार्यक्रम सञ्चालन गरेका छौं । सार्वजनिक सूचना केन्द्र निर्माण गरिएको छ । विकासमा अहिले नै चित्त बुझाउने ठाउँ छैन । विकास भनेको निरन्तर चलिरहने प्रक्रिया हो ।

१०, शिक्षामा सुधारका के कस्ता प्रयास गर्नुहुदैछ ?
मैले अघि भनिसके, शिक्षा प्राथमिकतामा छ । मेरो वडामा मात्र होइन, हल्दिवारी गाउँपालिका मै शिक्षामा कायापलट गर्दैछौ । हिजोका दिनमा विधालयको अवस्था र आजको अवस्था पूर्ण रुपमा परिवर्तन आइसक्यो । विशेष गरी सामुदायिक विधालयमा सुधारको कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीय सरकारले सहयोग गर्ने हो, काम त शिक्षक कर्मचारीले नै हो गर्ने । शिक्षामा काँचुली फेर्न सकिन्छ, त्यसमा विधालय प्रशासनले मेहनत गर्नुपर्छ । आवश्यक खर्च माग्नु भनेका छौं तर , विधार्थीसँग कुनै शुल्क लिन दिनेछैनौं । अब चालु आर्थिक वर्षमा टुहुरा बालबालिकालाई मासिक ५सय रुपैयाँ सहयोग उपलब्ध गराउँदैछौं ।

११, वडा र गाउँपालिका विचको द्धन्द्ध के हो ?
द्धन्द्ध भन्न मिल्दैन । किनभने, जनताको निम्ति आवाज उठाएका हौं । स्थानीय सरकार सञ्चालन ऐन छ । हामी वडाहरुले यहि ऐन कार्यान्वयनको माग गरेका थियौं । यो ऐन कार्यान्वयन भएमा मात्र जनताले गाउँगाउँमा सिंहदरवारको महसुस गर्न पाउने छन् । कर तिर्न वडामा जानुपर्ने, सुविधा लिन गाउँपालिका जानु पर्ने त भएन होला नि ? हो, त्यसैले वडा कार्यलयले आवाज उठाएको । वडाबाटै जनताले सेवा पाउनुपर्छ । यसलाई बाहिर द्धन्द्धको रुपमा प्रचार गरियो होला, त्यस्तो होइन । शुरुवातमा यहाँ गाउँपालिका नै जानुपर्ने बाध्यता थियो, अहिले हटिसक्यो ।

१२, तपाईले वडाको नेतृत्व छोड्दै गर्दा गोल्धापको अनुहार कस्तो हुन्छ ?
राम्रो हुनेछ । आधारभूत पूर्वाधार सबै तयार हुनेछन् । शिक्षा, स्वास्थ्य, खानेपानीका पूर्वाधार निर्माण सम्पन्न भइसक्नेछन् । अर्को कार्यकालमा यिनै योजनामा चिन्ता गर्नुपर्दैन । सडकको वर्गिकरण गरिएका छन् । पहिलो र दोस्रो तहमा पर्ने सबै सडकको निर्माण सकिनेछ । विजुलीको समस्या पूर्ण समाधान भइसक्नेछन् । क्याम्पसको शैक्षिक सुधार गरिनेछ ।

१३, अन्त्यमा, स्थानीय तहको नेतृत्वमा रहदा राजनीतिक दलका नेताबाट किन आक्रमण भइरहन्छ, तपाईलाई ?
त्यो चाहिँ मैले बुझेको छैन । स्वभाविक रुपमा म पारदर्शी व्यक्ति हुँ । म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न । सायद यहि स्वभाव मन नपराउनेहरु मेरो विरुद्धमा योजनाबद्ध आक्रमण गरिरहन्छन् । तर, उनीहरु विजयी बन्न सकिरहेका छैनन् । राजनीतिक संस्कार नहुनेहरु काममा अवरोध गर्न खोजिरहेका हुन्छन्, घेरा हालिरहन्छन् । म गलत बाटोमा छैन । त्यसैले अझै भन्छु, कार्यअवधिभर काम गर्न सहयोग गर्नुहोस् । कामको अनुगमन गर्नुहोस् , कानुनको परिपालनाको पर्यवेक्षण गर्नुहोस् । काममा अवरोध कतैबाट नहोस् ।

प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार  ११ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]