जेष्ठ ७, २०८१ सोमबार

नलेखिएको नियात्रा

कमल बुढाथोकी

उतिबेला हामी कक्षा दशमा अध्ययनरत थियौ । प्रगति विरोधी पंचायतका मतियार हरुले हामीलाई ‘अखिले’ र ‘बामे’ को संज्ञा दिएर पिठ्युँ पछाडि कुरा काट्न थालिसकेका थिए । पठनपाठन अतिरिक्त , ब्रेक र टिफिनमा भेला हुने , नयाँ नौला विषय तथा प्रशङ्गमा सामुहिक छलफल गर्ने , अभ्यासमा पोख्त बनिसकेका थियौं ।

क. मोहन इङ्नामको कुशल नेतृत्वमा क. तारा इङ्नाम , क. ढुण्डी गौतम क. कैलाश खड्का , क. कुमारी इङ्नाम , क. भानु भट्टराई , क. लिला न्यौपाने , क. याम नेम्वाङ , क. दिनानाथ खतिवडा , क. इश्वरी पराजुली क. उपेन्द्र आले लगायत थुप्रै युवा विद्यार्थीहरु संगठनका निम्ति अशल र जुझारु कार्यकर्ताको कोटिमा थियौ , यथास्थितिवादी अन्य विद्यार्थी संगठनहरु भन्दा बिल्कुलै भिन्न सावित हुने अभियानमा अहोरात्र जुटेका थियौं । संगठन र सिद्धान्त प्रति हाम्रो माया ,लगाव , झुकाव र निष्ठाले खुदुनाबारीको बामपंथी र विद्यार्थी आन्दोलनलाई प्रभावशाली एवं सशक्त तुल्याउन अहंम भूमिका खेलेको थियो ।


आफु भन्दा फरक धारका विद्यार्थीहरुप्रति सधै सहिष्णुता र सिष्टतापुर्ण व्यवहार गर्दथ्यौ । तर, विचार र संगठनको खिल्ली उडाउने ,बर्खिलावमा बोल्ने साथै हामीलाई बक्रदृष्टिले हेर्न यथास्थितिवादी र सामन्ती सोच र प्रवृत्ति भएका पंचायतका मतियारहरु प्रति दृढतापूर्वक वैचारिक प्रतिवाद गर्नेे क्षमताको विकास एवंम साहस बटुलिसकेका थियौं ।

वस्तु , घटना र प्रवृतिलाई द्वन्द्वात्मक ढङ्गबाट हेर्ने, बुझ्ने र विश्लेषण गर्ने चेतनाको तिब्र विकास भइरहेको थियो, हामीमा । तात्कालिक विद्यमान सामन्ती पंचायति निरंकुशतन्त्र , देशको गरिबी , वेरोजगारी , पछौटेपन वर्गीय उत्पीडन , अत्याचार , हत्या , हिंसा , बलात्कार ,तथा सामाजिक विभेद , विकृति र विसंगतिहरु , जसले माक्र्सवाद–लेनिनवादलाई मुल दर्शनसिद्धान्तका रुपमा आत्मसात् गर्ने तात्कालिन नेकपा ( माले ) निकट अनेरास्ववियुमा लामवद्व हुन अभिप्रेरित गरेको थियो भन्दा अतिरञ्जित नहोला ।


हाम्रो जनता माध्यमिक विद्यालय संसाधन तथा पूर्वाधार विकासका हिसाबले ताते बामे सर्दै थियो । विद्यालय प्रशासन , शिक्षक , विद्यार्थीमा पुरानै शैली , संस्कार र व्यवहार विद्यमान थियो , जसको समयानुकूल सुधार र हेरफेरको आवश्यकता थियो । खसोखास भन्नुपर्दा केही शिक्षकहरु , नियमित रुपमा विद्यालय हाजिर नहुने , हाजिर हुने शिक्षकहरु मध्ये पनि केहि कक्षा कोठैै नपस्ने , कक्षा कोठा पस्ने केही शिक्षकहरुले कोर्ष पूरा नछिल्ने आधारभूत समस्याले विद्यार्थीहरु पिरोलिनु परेको थियो ।

उक्त समस्याको सहज समाधानको निम्ति विद्यालय प्रशासनलाई समस्या बारे ध्यानाकर्षण गराउनु नै सरल र उपयुुक्त विधि ठान्यौं । जो गर्याैं पनि । निकै समयसम्म स्थितिमा सुधारको अपेक्षा गर्याैं , नभएपछि , विद्यार्थीप्रति अनुत्तरदायी केही शिक्षकको प्रवृत्तिगत रुपान्तरणका निम्ति बाध्य भएर अन्ततोगत्वा , प्रतिकात्मक व्यंग्य चित्र मार्फत सजक एवं सचेत गराउने योजना बनायौं ।

अर्काेतिर , विद्यालय सन्निकट बन्दै गरेको बर्देश्वर मन्दिर हाम्रो निसानामा थियो । किनभने हामी धर्मलाई अफिम ठान्ने कट्टर भौतिकवादी भइसकेका थियौं । इश्वर मन्दिरमा हैन दया , माया , करुणा , दिन दुःखीको सेवामा मात्र प्राप्त हुन्छ भन्नेमा विश्वस्त थियौै । मन्दिर निर्माण गर्दा लाग्ने खर्च विद्यालयको भवन निर्माणमा लगाउनु वान्छनिय ठान्यौं । त्यसैले एक्काइसौं शताव्दीमा मठ मन्दिर बनाउनु औचित्य र सान्दर्भिक नभएको ठहर गर्याैं ।

उक्त दुई महत्वपूर्ण बिषयका प्रस्तावक तथा सुत्रधार क. मोहन इङ्नाम थिए । माक्र्सवादी अध्ययन दल हुँदै युवा लिग मार्फत पार्टी संगठित भइसकेका हामी विद्यार्थीहरुको ‘माइक्रो म्यानेजमेन्ट ’ टिमले मात्र उक्त जोखिमपुर्ण काम तमाम गर्ने निर्णय गर्याें । स्व . लक्ष्मीदेवी खड्काको सल्लाह सुझाव र संरक्षकत्वमा क. मोहन , क. तारा , क. कैलाश क.लिला र म भएर निकै मेहनत लगाएर विद्यालयका शिक्षकहरुको प्रतिकात्मक व्यंग्य चित्र तयार गर्याैंं साथै नवनिर्मित मन्दिरको सान्दर्भिकता र औचित्यता प्रश्न उठाउँदै विज्ञप्ति तयार पार्याै ।


रातको अन्दाजी आठ बजेको हुँदो , समय एकिन गर्न सकिन । चुक घोप्टिएको जस्तै निष्पट्ट अध्यारो रातलाई शुक्रबारे बजारका एक दुई घरमा बालिएका टुकीको धिमा प्रकाशले चुनौति दिए झैं लाग्दथ्यो । मानिसहरु प्रायः सुतिसकेका थिए , सियो खसे आवाज सुनिने विल्कुलै चकमन्न वातावरणलाई झ्याउँकिरीको टिठलाग्दो आवाजले सन्नाटा भङ्ग गर्ने दुस्साहस गरे झै भान हुन्थ्यो । साथीहरूको पद्चापले बेलाबेला झस्काउने गर्दथ्यो , साउतिले उद्वेलित र उत्प्रेरित बनाउँथ्यो । विद्यालय हाताभित्र फुलेका शिरीष , पारिजात लगायत विभिन्न जातका फलफूलबाट प्रवाहित सुगन्धले मनलाई अतिरन्जित् र उत्साहित तुल्याएको थियो । मानौ डर , त्रास ,भय तथा संशय गायव थियो ।


पूर्वनिर्धारित योजना र समय तालिका अनुसार निमेषभरमै हामीले पर्चा , पम्प्लेटिङ गर्ने काम सम्पन्न गर्याैं । धर्मानुरागीलाई दुःखी तुल्याएको घट्नाले खुदुनाबारीमा सुनौलो तरङ्ग उत्पन्न गरायो । विद्यालय परिवारलाई सुधारोन्मुख दिशातर्फ हिँडाउन मद्दत पुर्यायो । पंचायतका मतियारहरुलाई सावधानी अपनाउन बाध्य बनायो । न्याय , शान्ति विकास र समृद्धिका पक्षपातीलाई जनताको मुक्ति आन्दोलनमा एकाकार हुन अभिप्रेरित गर्याे , हामीले यहि समीक्षा गर्याै ।

प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार  १२ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]