बैशाख १२, २०८१ बुधबार

यस्तो छ मेची नदी किनारमा छठ पूजाको तयारी, सवारीसाधन प्रवेश र चिया वितरणमा रोक

(पार्थ मण्डल) झापा । नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगरपालिका–५ स्थित मेची नदी किनारमा छठ पर्वको तयारी लगभग पूरा भएको छ । आज (बुधवार) बेलुका अस्ताउँदो सूर्य र भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अघर्य दिँदै मनाइने तराइवासीको मुख्य चाड छठ पर्वलाई भव्यता दिन मेची नदी किनार नयाँ बेहुली झैँ सिंगारियो । 

अघिल्लो वर्ष कोरोना महामारीले घर आँगनमै छठ पर्व मनाउनु परेको थियो ।  यसवर्ष स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार छठ पर्व मनाउन अनुमति दिएपछि भद्रपुर नगरपालिकाको सहकार्यमा आयोजक समितिले तयारी पूरा गरेको हो ।

नदी किनारको मसानघाट देखि मेची पुलको मुख्यद्धार हुँदै देवी बस्ती सम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजार बढी पूजा स्थल (घाट) निर्माण गरिएको छ । अहिले पण्डाल र घाट निर्माणका लागि मैथिली समाज झापा र युनिक समूह भद्रपुर सामूहिक रूपमा लागि परेका थिए । उता मेची नदीमा भारतीय नागरिकले पनि छठ घाट र पण्डाल बनाउने तयारी पूरा गरेको छ । 

भारतको बङ्गाल तथा विहार गरी दुई वटा राज्यसँग जोडिएको मेची नदीको सीमा क्षेत्रमा मनाइने प्रदेश एककै सबै भन्दा फराकिलो, लामबद्ध छठ पर्व झापा जिल्लाको भद्रपुरको मेची नदीमै मनाइन्छ । त्यही भएर नेपालको जनकपुरपछि भद्रपुरको छठ पर्व दोस्रो स्थान ओगट्न सफल भएको आयोजक समितिको ठहर छ । 

नदीमा किनारमा बिजुलीबत्ति जडान, दुइटा अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मुर्ति स्थल निर्माण गरिएको मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झाले बताउँछन् । ‘यसबर्ष घाट निर्माणको जिम्मा मैथिल समाजले लिएन,’ उनले भने, ‘व्रतालु परिवारजन आफै घाट निर्माण गरिरहेका छन् । समाजले कोभिडलाई मध्यनजर गरी व्यवस्थापनको जिम्मा मात्र लिएको उनको भनाई छ । 

उता युनिक समूह आफैले घाट निर्माण गरेको छ । समूहले ५ फुट घाटको ५ सयदेखि ७५० रुपैयाँ सम्म लिएको समूहका अध्यक्ष नारद राजवंशीले बताए । गरिब तथा विपन्न परिवारलाई निःशुल्क पनि घाट उपलब्ध गराएको उनको भनाई छ । 

मधेसी समुदाय बाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले  मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन् । मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि हजारौँ भक्तजन आउने गरेकोले यसको छुट्टै महत्त्व र पहिचान रहेको जानकारहरू बताउँछन् । 

घाट निर्माणमा समस्या

गत कार्तिक २ गते परेको अविरल वर्षापछि मेची नदीमा आएको बाढीका कारण पानी पश्चिमतर्फको बाँध नजिकैबाट बग्न थालेपछि घाट निर्माण गर्न केही समस्या उत्पन्न भएको छ । मेची पुल प्रवेशद्वार तलको भाग नजिकैबाट पानी बग्न थालेपछि भिडभाड हुने स्थानको एरिया कम भएको मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाले बताए । पुलको प्रवेशद्वारमै बढी भिडभाड हुने भएपछि त्यसको व्यवस्थापनका लागि नगरपालिकाको सहयोगमा दुई वटा अस्थायी बाँसे पुल निर्माण भइरहेको उनले बताए ।

‘बाँसे पुल निर्माण भएपछि व्रतालु तथा भक्तजनहरू पारीपट्टि जान पाउँछ, उनले भने, जसले एकै ठाउँमा भिडभाड कम हुन्छ ।’ ‘पुलको बाँध नजिकै पानी बग्न थालेकोले देवीवस्ती नजिकै बालुवाको बाँध लगाएर पानीलाई परपट्टि सार्ने पाएको भए पूजा स्थल फराकिलो हुने थियो,’ स्थानीय भीमासिह राजपूतले भने । देवीवस्तीमा पनि युनिक समूहले पूजा आयोजना गरिरहेको हुँदा पानीलाई बाँध लगाएर सार्न नमिलेको उनको भनाई छ । ‘यो पटक एकै ठाउँमा बढी भिडभाड हुने निश्चित छ,’ उनले भने, ‘भिडभाड नियन्त्रणका लागि सबै लाग्नु पर्ने हुन्छ ।’  

ट्याक्टरसहित चार पाङग्रे सवारी साधनमाथि रोक 

प्रहरीले भिडभाडलाई मध्यनजर गरी यसबर्ष कुनै पनि सवारीसाधन मेची नदी किनारसम्म लैजान रोक लगाउने भएको छ ।  व्रतालु तथा भक्तजनहरूको शान्ति सुरक्षाको दृष्टिकोणलाई लक्षित गर्दै भद्रपुर भन्सार कार्यालय र पशुपति प्रावि अगाडिबाटै ट्याक्टरसहित ट्याम्पो, रागाँगाडा, मोटरसाइकल, चार पाङग्रे सवारीसाधनमाथि रोक लगाउने निर्णय गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले बताए । 

भक्तजन तथा दर्शनार्थीहरुको उच्च चाप हुने समयमा भद्रपुर बजारभित्र बुधवार दिउँसो २ बजेदेखि रातिसम्म र बिहीबार बिहानको ३ बजेदेखि साढे ७ बजेसम्म कुनै पनि प्रकारका ठुला सवारीसाधनहरू (ट्रक, लहरी, बस, टिपर) प्रवेश निषेध गर्ने निर्णय भएको बताउँदै इन्स्पेक्टर राईले भने, ‘व्रतालु परिवारजनले लिएर आउने सवारीसाधनलाई पनि मेची नदी किनारसम्म जाने अनुमति दिने छैनौँ, ती सवारीसाधनसहित अन्य सवारीसाधनहरूलाई भद्रपुर मावि, पशुपति प्रावि र मेची आँखा अस्पताल भएको खुला ठाउँमा पार्किङको लागि व्यवस्थापन मिलाउने छौँ ।’ सीमावर्ती मेची नदीको छठ पूजामा करिब ५० हजार भन्दा बढी भक्तजनहरू आउने अनुमान गरिएकोले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन दुवै देशका सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा योजना बनाइएको इन्स्पेक्टर राईले बताए । 

आयोजक समिति, भद्रपुर नगरपालिका, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीको सहकार्यमा छठ पूजाका दिन नदी किनार दुई सय बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी एक सय ५०, सशस्त्र प्रहरी ६० परिचालन हुनेछ । 

छठ पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानसहित मेची पुलमाथि पनि प्रहरी परिचालन गरिने उनले बताए । लुटपाट, चोरी तथा बारुदजन्य पटाका नियन्त्रण गर्नेका लागि पैदल गस्ती तथा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिने छ । साथै भक्तजनहरूको सुरक्षालाई मध्यनजर गरी छठमा प्रहरी हेल्प डेस्क समेत राखिन्छ । 

चिया वितरणमा रोक, मास्क वितरण गर्नुपर्ने

अघिल्लो बर्सहरूमा भक्तजनहरूको सेवा सुविधालाई मध्यनजर गर्दै नेत्र ज्योति समाज भद्रपुर, मुना चिया र युनिक समूहले निःशुल्क चिया तथा पानी वितरण गर्दै आएका थिए । यस बर्षपनि चिया तथा पानी वितरण गर्ने उनीहरूले योजना बनाएका थिए । 

तर, कोभिड महामारीका कारण यसबर्ष चिया तथा पानी वितरण गर्ने कार्यमा रोक लगाउने निर्णय भएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले बताए । चिया तथा पानी वितरण गरिने स्थानबाट यसबर्ष स्यानिटाइजर र मास्क वितरण गर्नुपर्ने निर्णय गरिएको उनको भनाई छ । 

सूर्य भगवानको स्थायी मुर्ति राख्ने अभियान

भद्रपुर ५ नम्बर वडा कार्यालयले मेची निर्भर पार्क निर्माण गर्ने योजना अघि सारेर काम गर्ने थालेपछि मेची किनार हेर्न लायकको भएको छ । मेची निर्भर पार्क निर्माणले नदीको किनारको मुहार फेरिएसँगै युनिक समूह भद्रपुरले नदी किनारमा सूर्य भगवानको ढुङ्गाको मुर्ति राख्ने अभियान यसै वर्षदेखि थालेको समूहका अध्यक्ष नारद राजवंशीले बताए । देवीवस्ती नजिकै नदी किनारमा मुर्ति राख्ने अभियानमा जुटेको बताउँदै राजवंशीले भने, यस अभियानमा सबैले सहयोग गर्नुपर्ने हुन्छ । ‘हरेक वर्ष छठ पूजामा सूर्य भगवानको मुर्ति खरिद गरेर ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘यसको अन्त्यका लागि स्थायी रुपमा मुर्ति राख्न लागेका हौँ ।’ 

प्रकाशित मिति : कार्तिक २४, २०७८ बुधबार  ४ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]