जेष्ठ ७, २०८१ सोमबार

विधार्थी राजनीति र यसको महत्व

अशोक खतिवडा

विधार्थी राजनीति के हो, विधार्थी संगठनहरुको आवश्यकता किन, अहिलेका विधार्थीको विधार्थी राजनीतिमा वितृष्णा किन, विज्ञान र प्रविधिमय परिवर्तित विश्व समुदायमा विधार्थीको भुमिका के हुनुपर्छ, वर्तमान शिक्षा प्रणालिको समस्या के छ, विधार्थी संगठनका समस्या के छन्, सिङ्गो शैक्षिक सुधार र समृद्घ नेपालको लक्ष्यका लागि आम विधार्थीको भुमिका के हुनुपर्छ जस्ता महत्वपूर्ण प्रश्नको उत्तर आम नेपाली विधार्थी तथा विधार्थी संगठनमा स्पष्ट हुनुपर्छ ।

विधार्थी समाजको एक सचेत वर्ग जसअन्तगर्त विश्व जगत, परिर्वतित समाज, बिज्ञान प्रविधी, धर्म संस्कृति, भुगोल, व्यापर, अर्थ व्यवस्था, रोजगार, सामाजिक रहनसहन, राजनीति इत्यादिलाई नजिकबाट नियाल्न सक्ने समाजको बुज्रुक समुह हो र विधार्थी संगठन तिनै समुहको विचार एकिकृत गरि व्यवाहिक ढाँचामा मुर्तरुप दिलाउने संगठनिक स्वरुप हुन् ।

विधार्थी राजनीति यिनै पृष्ठभुमिमा आधारित रहेर राज्य सञ्चालन गर्ने राज्यको महत्वपूर्ण खम्बा हो । विधार्थी राजनीतिको महत्व हिजोको दिनमा विभिन्न परिवर्तनका आन्दोलनको मेरुदण्डको रुपमा स्थापित भईरहदा ३६ सालको विधार्थी आन्दोलन, ०४६ सालको जनआन्दोलन अन्य साना ठुला परिवर्तनका अन्दोलन लगायत ०६२/०६३ को ऐतिहासिक १९ दिने जनआन्दोलनको दाईने हात बनेर जहानीय राणा शासन, निरंकुश पञ्चायति शासन तथा गणतन्त्र स्थापना गर्ने राजतन्त्रको अन्त्य जस्ता कठोर शासनको मुक्तिको उद्दगारको रुपमा छ ।

हिजो सिङ्गो राष्ट्रको स्वरुप परिवर्तन गराउने शक्ति आज सृजनात्मक क्षेत्रको गतिलो समुहको रुपमा परिस्कृत ढाचाँमा रुपान्तरणको संघारमा आईपुगेको छ । देशलाई संबृद्ध बनाउने दक्ष जनशक्ति उत्पादन गर्ने, शिक्षालाई उत्पादन सम्बन्धसँग जोडेर विश्व बजारमा बिक्ने जनशक्ति बनाउने अभियानमा गतिविधी भइरहेको अवस्था छ ।
विधार्थी सगंगठनको भुमिका संमृद्धिको प्रमुख हिस्सा बने पनि राजनीतिक आड लिएर आफ्नो व्यक्तिगत लाभ हासिल गर्न उद्दत धमिराको पनि कमि छैन । स्वार्थ केन्द्रित चाकडी, सस्तो लोकप्रीयता, अराजक गतिविधी, आर्थिक प्रलोभन जस्ता अनैतिक क्रियाकलाप समेत संगठनका धमिरा हुन चाहे जुनसुकै संगठनको खोल किन नओडेको होस् ।

कतिसम्म पनि निकम्बा छन् भने संगठनिक पद धारण गरेर सस्तो लोकप्रीयता कमाउने उद्देश्य बोकि नेतृत्वसँगको फोटो समाजिक सञ्जालमा व्याप्त प्रचारमुलक खेति गर्न उद्दत रहन्छ , त्यो झुन्ड । वैचारिक समुहको आधारमा कलिला सुनौलो राजनीतिक भविष्यलाई गुटगत बिज रोप्छ अनि चुरोट रक्सी जस्ता कुलतसँग सौदा बाजी गर्न पछि हट्दैन । र, असल नेतृत्वको जलप सहि आफुलाई महामहिम स्वधोषित गर्छ । केहि वर्ष अघिको कुरा हो चर्को शुल्कको नाममा नीजि विधालय बन्द आफैले गराउने र रकम लिई आन्दोलन तुहाउने नेतृत्व समेत हावी रहे ।

यस्ता विकृत र अनौतिक नेतृत्व साथै काम नगर्ने तर जिम्मेवारी लिन जस्तो सुकै फोहारी खेल खेल्ने विधार्थी संगठनका प्रमुख समस्या हुन् ।
नेपाली विधार्थी आन्दोलन भन्ने वित्तिकै सडकको बाघ नारा जुलुस, चक्काजाम लगायतका क्रियाकलाप हिजोको आम जनताको बुझाई अब परिस्कृत मेहोडाबाट अघि बढ्दै छ । अबको विधार्थी र तिनको नेतृत्व सम्हाल्ने संगठनले आफुलाई रचनात्मक र सिर्जनशील बन्नु आजको आवश्यकता हो । राज्य व्यवस्थाले मुलत निकास पाई सकेको र संमृद्धिको फड्को मार्ने आम नेपालीको चहाना पुरा गर्ने अभिभारा मुलुकको एकदमै सचेत र उर्वर शक्ति विधार्थीका माझ रहेको छ ।

विज्ञान प्रविधीको अधिकतम प्रयोग , दक्ष जनशक्तिको उत्पादन गर्ने देशमा रोजगार मुलक व्यवसायिक शिक्षा प्रणली लागु गर्ने भुमिकामा सहयोगी भुमिका खेल्ने र सोहि अनुरुपको कार्यदिशा अबलम्बन गनुपर्ने आवश्यकता छ । विश्व विधालयबाट उत्तिर्ण गरि सकेपछि उक्त प्रमाण पत्र रद्दि कागजको रुपमा सिरानी मुनि थन्क्याउने बाध्यात्मक परिस्थिती अन्त्य गर्ने शिक्षालाई बढवा दिने शिक्षा प्रणाली नेपालका प्रत्येक विधालयमा हुने गरिको रचनात्मक भुमिका विधार्थी संगठनको हुनुपर्छ ।

शैक्षिक संस्थाहरुको भौतिक विकास अर्को महत्वपूर्ण पाटो हो । हिजो आज भौतिक संरचना निर्माणमा चरम लपरबाही र अनियमितता गरेको पाईएको अवस्थामा तिनको नियन्त्रण गर्ने भुमिकाको दायित्व समेत विधार्थी संगठनको रहन्छ । शैक्षिक गतिविधिका अलवा खेलकुद, मनोरञ्जन, साहित्य जस्ता अतिरिक्त क्रियाकलापमा समेत विधार्थी नै अग्रपंक्तिमा रहने हुँदा यस विषयमा बडो सचेत र संवेदनशील रहने कुरामा दुईमत छैन । शैक्षिक संस्थाहरुलाई वातावरण मैत्री बनाउने र सहज पठनपाठनको पहल कदमी गर्ने कार्य समेत विधार्थी नेतृत्वमा निहित रहन्छ ।


समग्र विधार्थी राजनीति देशको भविष्यको मेरुदण्ड हो । व्यक्तित्व विकास, नीतिनियमको जानकारी, कला, सिप, ज्ञान, चेतनाको विकास, सामजिक मुल्यमान्यताको ज्ञान, क्षमता प्रस्फुटन, अर्थ, शिक्षा, भौतिक विकास लगायतका सर्वाङगिण क्षेत्रमाथिको राज्यसँग प्रत्यक्ष अन्तरसम्बन्ध रहन्छ । विधार्थी जमातले यिनै कुरा प्रत्यक्ष नियालेकै कारण देशको भविष्य सुनौलो कोर्ने क्षमता राख्दछन् । तर्सथ, भोलिका दिनमा यहि आजको विधार्थी पक्तिं राष्ट्रको नेतृत्वको क्षमता राख्ने मात्र नभई नीति निमार्ण तहमा समेत अब्बल भुमिका खेल्ने कुरामा दुईमत छैन ।

यस कारण हामी आज राजनीतिलाई फोहोरी खेल भन्ने छाप प्रति हाम्रै अभियानमा शुद्धताको संकल्पलाई मुर्त रुप दिन सकिन्छ र कुनै पनि बाबु आमाले मेरो सन्ततिलाई असल राजनीतिज्ञ बनाउछु भन्ने संकल्प गर्नेछन् ।

प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]