चैत्र १६, २०८० शुक्रबार

विसे नगर्ची : छाँयामा पारिएको इतिहास

प्रदीप परियार

नेपालीलाई मात्र होइन, विश्वलाई नेपालको एकीकरण थाहा छ । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्दा ताका मुख्य पात्र हुन् बिसे नगर्ची । बिसे नगर्चीको पुरा नाम हो, विश्वेश्वर नौवाग । उनले नगरा बजाएका कारण नगर्ची भनियो । बिसे, दलित समुदायभित्रको दमाई जातिका एक सदस्य हुन् । नेपालको एकीकरण र पृथ्वी नारायण शाहको इतिहास बारे कमैलाई थाहा नहोला । उनै पृथ्वी नाराणयका दाहिने हात मानिने नगर्ची अझै गुमनाम छन् । उनको इतिहास छाँयामा परेको छ । उनलाई नत राज्यले सम्झियो नत पुर्खाले ।

एकीकरणको बेला पृथ्वी नारायणका लागि मुख्य पात्रका रुपमा थिए, उनी । त्यै पनि उनको योगदान छायाँ परेको छ । उनको इतिहास खोज्न राज्य अझै मन गरिरहेको छैन । किनभने, नगर्ची दमाई हुन्, दलित हुन् ।

झापाबाट तिहार लगत्तै नगर्चीको अध्ययनको लागि झापाली पत्रकारको टोली गोरखा पुग्यो । अध्ययनका लागि पर्याप्त समय थिएन । एक दिनको अध्ययनले नगर्चीलाई बुझ्न सक्ने अवस्था छैन । यदि, नगर्चीलाई अध्ययन नै गर्ने हो भने समयको सीमा राख्नु हुदैन । पत्रकारलाई अध्ययन र घुमफिर बराबर जस्तै भयो ।

गोरखामा पछिल्लो समय विसे नगर्ची खोजको विषय बनेको पाइयो । खास गरि दलित समुदाय विसेको खोज र इतिहास संरक्षणमा जुटेको छ । त्यसका लागि गोर्खा फाउण्डेशनको प्रयत्नले थप बल पुगेको छ । विसे नगर्ची, पृथ्वी नारायण शाहको लागि विशेष पात्र भएको बुझियो । नगर्चीले राज्य एकीकरणको बेला आर्थिक संकटको समाधानका लागि पृथ्वीनारायण शाहलाई दिएको सल्लाह नै एकीकरण सफलताको एउटा पाटो मानिन्छ । नगर्चीले राज्य एकीकरणका लागि १ रुपैयाँको ढ्याक दिदैं गोरखाका १२ हजार घरधुरीबाट १÷१ रुपैयाँ संकलन गर्न सुझाव दिएको इतिहास छ । यदि, त्यो सूझाव नदिएका हुन्थे भने एकीरकण सफल हुन्थ्यो कि हुदैन थियो भन्ने प्रश्न बनिरहेको छ । समग्रमा एकीरकण सफल बनाउने नगर्चीको योगदानलाई छाँयामा पारिएको देखिन्छ । पृथ्वी नारायण शाहलाई सम्झिदा विसे नगर्चीलाई विर्सनु हुदैन ।
दासढुङ्गामा जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दुर्घटनाबाट मृत्यु भयो । भूमिकाका हिसावले मदन चर्चामा थिए । जीवनाथ मदनसँग तुलना गर्न मिल्दैन । तर, एउटै आन्दोलनमा सरिक थिए । मैले किन जोडेको हो भने, आज मदनलाई सम्झिदा आश्रित छुट्दैनन् । तर, पृथ्वी नारायण शाहसँग नगर्चीलाई सम्झना समेत गरिदैन । यो दुखद् पक्ष हो ।

एकीकरणका लागि आर्थिक संकलन, काशीमा हतियार किन्न जाँदा श्रीहर्ष मिश्रलाई सँगै लिएर जान सूझाउ, कालु पाँडेलाई राज्यको मुल काजी बनाउन सुझाउ दिएको शिलालेखमा उल्लेख छ । उनलाई त्यो शिलालेखमा ऐतिहासिक शिखर व्यक्तित्वका रुपमा सम्मान गरिएको छ । नगर्चीलाई एउटा शिलालेखमा होइन , देशको शिखर पुरुषका रुपमा सम्मान गर्नुपर्छ । उनी यो देशको राष्ट्रिय विभूति हुन् । इतिहासलाई जति नै छाँयामा पारे पनि एकदिन बाहिर आउँछ । यो सबैले बुझेकै कुरा हो ।

अहिले विसे नगर्चीको इतिहास संरक्षणमा गोरखा नगरपालिकाको भूमिका देखियो । नगरपालिकाले उनको शालिक निर्माणमा सहयोग गरेको रहेछ । तर, नगर्चीको शालिक निर्माणमा त्यहाँको समुदाय नै विभाजित छ । नगर्चीको शालिक राख्ने ठाउँको विषयमा विवाद छ । त्यो विवाद पुरातत्व विभागसम्म पुगेको थियो । अहिले पनि नगर्चीको सन्नतीहरु सन्तुष्ट छैनन् । उनीहरुले शालिक राखिएको ठाउँ उपयुक्त नभएको बताए । अर्को महत्वपूर्ण कुरा, शालिकमा नगर्चीको हात छैन । जसले त्यो शालिक बनाउन दियो , त्यहाँ ठुलो गल्ती भयो । सन्ततीले हात विनाको शालिकलाई स्वीकार नै गरेका छैनन् । ढ्याक दिने हात नै नराख्नु भनेको नगर्चीको योगदानलाई अस्वीकार गर्नु हो । कतिले भन्न सक्छन्, शालिकमा हात किन चाहियो ? जसले यो हात जरुरी छैन भन्छ, उसले पनि नगर्चीको इतिहासलाई स्वीकार नगरेको भन्न सकिन्छ । जब, पृथ्वी नारायणलाई ढ्याक दिने हात नै राखिदैन भने त्यो शालिक पूर्ण कसरी हुन्छ ? खासमा नगर्चीको हात नै शालिकको मुख्य प्रतिमा हुनुपर्ने हो । नगर्चीको सन्दर्भमा भए गरेका काममा धेरै दुख व्यक्त गर्नुपर्ने अवस्था त छैन । किनभने, सयौं वर्षपछि उनको इतिहास खोज्न स्थानीय तह, समुदाय र सन्ततीहरु लागेका छन् । त्यसको मतलव इतिहासलाई छाँयामा पारेर नगर्चीलाई प्रस्तुत गर्न मिल्दैन ।

विसे नगर्चीले सुझाव मात्र दिएनन् । उनी स्वयम् लडाईमा समेत सहभागी भए । नुवाकोटसँगको लडाईमा पृथ्वीनारायण शाहसँगै सहभागी भएको , स्याङ्जाको भिडन्तमा समेत सामेल भएको केहि आधार सुन्न पाइयो । एक ठाउँमा ‘विसे नगर्ची’ चोक नै नामाकरण गरिएको शिलालेखमा भेटियो । राज्य एकीकरणमा महत्वपूर्ण सल्लाह र भीडन्तमा समेत सामेल भएका नगर्ची सबैका लागि साझा ऐतिहासिक शिखर पुरुष हुन् । उनको सम्मानमा राष्ट्रकै ध्यान जान जरुरी छ ।

एउटा, दुखद कुरा छ । दलित आन्दोलनबाट नेता भएकाहरु भाषणमा नगर्चीको नाम कहिलेकाँकी उच्चारण गर्छन् । हरेक पार्टीमा दलित नेता माथिल्लो तहको जिम्मेवारीमा पुगेका छन् । आफ्नो पार्टी सरकारमा हुँदा , आफु मन्त्री हुँदा कसैले नगर्चीको इतिहास खोज्न र संरक्षण जाँगर देखाएनन् । देशमा दलित आयोग छ, दलित अधिकारवादी छन् । दलितभित्र जातका नाममा खुलेका कथित क्लवहरु छन् । कोहि नगर्ची खोज्दैनन् । दमाई, कामी, सार्की र अन्य दलित जाति आआफ्नो बन्दु खोज्न आतुर छन् । तर, विसे कसैको त्यो तहको नजरमा परेका छैनन् ।

सारा इतिहास खोज्दै गर्दा विसे नगर्ची अझै ओझेलमा पारिएका छन् । एउटा इतिहासलाई राज्य सत्ताले नै ओझेलमा पारेको छ । अब, विसे नगर्ची खोजौं । उनको इतिहास खोजौं । उनको योगदान खोजौं ।

अध्ययन भ्रमणका पुगेको टोली केहि वेर गोरखा संग्रहालय पनि पस्यो । त्यहाँ भित्र पसेपछि एकीकरणको समयमा पृथ्वीनारायणसँगै रहेको अनुभूति भयो । तर, त्यहाँ नगर्ची भेटिएनन् । देखिएनन् ।

प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार  ११ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]