बैशाख ४, २०८१ मंगलबार

झापामा कांग्रेसको चुनावी सरगर्मी : आज उम्मेद्वारी दर्ता

विर्तामोड । नेपाली कांगे्रस झापाको मंसिर १० गते बिर्तामोडमा १४ औं जिल्ला अधिवशन हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । झापा कांग्रेसको नेतृत्वका लागि दुई प्यानल खुलेर प्रतिष्पर्धामा उत्रिएको छ ।

कृष्ण सिटौलाको प्यानलबाट देउकुमार थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट राम कट्टेल सभापति पद्को उम्मेद्वार बनेका छन् । उनीहरु दुवैको प्यानलबाट बुधबार पदाधिकारीको टुङ्गो लागेको छ । दुवै पक्षले पदाधिकारीका उम्मेद्वारहरु सार्वजनिक गरेका छन् ।

देउकुमार थेबे जिताउ अभियानको सचिवालयमा बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति पदका उम्मेद्वार थेबेले आफ्ना टिममा रहेका पदाधिकारीको नाम सार्वजनिक गरेका हुन् ।

सभापति पदका उम्मेद्वार थेवेको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे , सचिवमा कृष्ण हुमागाँई र नविन बिमली , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेद्वार रहेका छन् । आफ्नो टिम समावेशी र जुझारु भएको बताउँदै थेवेले सभापतिका उम्मेद्वार थेबे क्षेत्र नं ४ , उपसभापति भट्टराई क्षेत्र नं ५ , उपसभापति पाण्डे क्षेत्र नं १ , सचिव हुमागाँई क्षेत्र नं २ , सचिव बिमली क्षेत्र नं ३ , सहसचिव राजवंशी क्षेत्र नं ३ र अर्का सहसचिवका उम्मेद्वार भण्डारी क्षेत्र नं ४ बाट रहेको जानकारी दिए ।

आफ्नो टीमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेद्वार थेबेले १३ औं महाधिवेशनमा भएको भद्र सहमतिका आधारमा अग्रज नेताहरुको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेद्वारी भएको थेवेले बताए । आगामी दिनमा पार्टीलाई चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टिमलाई जिताउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिसमक्ष उनले आग्रह समेत गरे । घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा कांग्रेसको नेतृत्वमा ‘बाघ’ नै आउनुपर्ने धारणा राखे । आन्तरिक अधिवेशनमा कसैको पनि हारजीत नहुने भन्दै उनले आगामी आम निर्वाचनमा प्रतिपक्षीसँग भिड्न सांगठनिक एकता आवश्यक रहने बताए ।

उनले जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेद्वारलाई जिताउन चुनावमा कटिवद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले राजनीतिमा भद्र सहमति हुने बताउँदै भद्र सहमतिको पालना गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले उम्मेद्वारहरुको परिचय गराउँदै देउकुमार थेवेको टीम जुझारु र समावेशी एवं शिक्षा, पत्रकारिता, राजनीति एवं सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्तित्वहरुलाई जिताउन आग्रह गरेका छन् । पार्टीका केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायतले मन्तव्य रोखका थिए ।

कट्टेल प्यानलबाट टुङ्गो लाग्यो

नेपाली काँग्रेस झापाको सभापति पदका उम्मेद्वार राम कट्टेल समुहका पदाधिकारीका उम्मेद्वारहरुको टुङ्गो लागेको छ । कट्टेल समुहबाट उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेद्वार हुने निश्चित भएको राम कट्टेल जिताऔं अभियान सचिवालयले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

त्यस्तै सचिवमा विश्वदीप लिङदेन र टोम राजबंशी कट्टेल समुहबाट उम्मेद्वार हुने भएका छन् । त्यसैगरी उक्त समुहबाट सहसचिवमा उमाराम प्रसाई र पदम लिम्बु उम्मेद्वार हुने निश्चित भएको राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि आज उम्मेद्वारी दर्ता र मंसिर १० गते मतदान हुँदैछ । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् ।

प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]