बैशाख २५, २०८१ मंगलबार

झापामा किर्ते हस्ताक्षर र नक्कली किसान देखाएर जनप्रतिनिधिबाटै कृषि अनुदानमा लाखौं अनियमितता

प्रदीप परियार

गौरीगञ्ज । किसानका लागि आएको अनुदान रकममा अनियमितता भएपछि गौरीगञ्ज गाउँपालिकास्थित कोरोवारीमा आइतवार दिनभर तनाव भएको छ । किसानले आइतवार गौरीगञ्ज वडा नं. २ को कार्यालय घेराउ नै गरेका छन् । स्थिति तनावपूर्ण बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

वडा कार्यालय घेराउ

कृषि ज्ञान केन्द्र झापाले कृषक समूह मार्फत किसानलाई चैते धानका लागि दिएको नगद अनुदान जनप्रतिनिधिकै मिलेमतोमा अनियमितता भएको खुलासा भएपछि किसानले अनुदानमा अनियमितता गर्नेलाई कारवाहीको माग गर्दै वडा कार्यालय घेराउ गरेका थिए । किसान आक्रोसित बनेपछि गाउँपालिका अध्यक्ष, किसानका प्रतिनिधि, पार्टीका प्रतिनिधि र कृषक समूहका अध्यक्ष, सचिवविच सुरक्षा घेराका विचमा छलफल भएको थियो ।

अनुदान १९ लाख ७ हजार ३ सय

गौरीगञ्ज गाउँपालिका वडा नं. २ का वडाध्यक्ष अघनु राजवंशीले कागजात प्रक्रियामा सहयोग गर्दा जनप्रतिनिधिले तिन वटा कृषक समूहको प्रयोग गरेर अनियमितता गरेको सार्वजनिक भएको छ । सो अनुदान किसानले नपाएको चर्चा भएपछि स्थानीय अगुवा र किसानले चासो राखेका थिए । घटना बाहिर आएपछि कृषक समूहले अनुदानको लागि १५ लाख २० हजार ३ सय रुपैयाँ ल्याएको खुलेको थियो । यो रकम वडा नं. २ मा रहेको माङसावा कृषक समूह, तुलाचन कृषक समूह र कनकाई विपत कृषक समूहले ल्याएका हुन् । अर्को ठेकिटोला सहकारीले पनि ३९ जना किसानका लागि ३ लाख ८९ हजार ल्याएको छ । जम्मा १९ लाख ७ हजार ३ सय रुपैयाँ कुल अनुदान रकम हो ।

तिन वटै कृषक समूहले किसानको किर्ते हस्ताक्षर गरेर रकम बुझिसकेको प्रमाण फेला परेको छ । उनीहरुले जग्गा नभएका व्यक्ति , एक दशकअघि मृत्यू भइसकेका नागरिकको नाममा समेत धनीपुर्जा बनाएर रकम फरफारा गरिसकेका छन् ।

किर्ते हस्ताक्षर

कनकाई विपत व्यवस्थापन कृषक समूहका सचिव अरुण राजवंशी सोहि वडाका वडासदस्य समेत हुन् । उनले अध्यक्ष र उपाध्यक्षलाई समेत जानकारी नदिई संस्थाको प्रयोग गरेर कृषि ज्ञान केन्द्र झापाबाट ६७ जना किसानको लागि ३ लाख ६७ हजार अनुदान रकम झिकेको कागजात फेला परेको छ । उनै जनप्रतिनिधि समेत रहेका राजवंशीले किर्ते हस्ताक्षर गरेर ल्याएको अनुदान रकम हालसम्म वितरण समेत गरेका छैनन् । चैते धानका लागि दिएको सो अनुदान हिउँदे धान पाक्न लाग्दा पनि किसानले पाएनन् । उनीहरुले वितरण नगर्ने सोच बनाएर हालसम्म अनुदानको रकमबारे चुपचाप थिए ।

मृतकको पनि हस्ताक्षर

स्थानीयवासीले वडासदस्य अरुण राजवंशीले मृत्यू भइसकेका व्यक्तिको नाममा हस्ताक्षर गरेर रकम बुझेको कागज फेला पारेका छन् । राजवंशीले हालसम्म ३० जना किसानलाई वितरण गरिसकेको दावी गरे । उनले ५ वर्षअघि मृत्यू भइसकेको व्यक्ति मनमाया न्यौपानेको नाममा समेत अनुदान वापतको ६ हजार ६ सय ६६ रुपैयाँ बुझेको भरपाई भेटिएको छ । यस्तै, ०४९ सालमा निधन भएका क्याप्टेन राजवंशीको नाममा समेत अनुदान रकम बुझेको फागुलाल राजवंशीले जानकारी दिए ।

सोहि अनुदान पाउने अर्को संस्था माङसावा कृषक समूहले पनि १ सय ४ जना किसानको लागि ल्याएको ६ लाख ८४ हजार ३ सय रुपैयाँ किसानलाई दिएको छैन । उनीहरुले पनि किसानलाई रकम उपलब्ध नगराएपछि स्थानीयवासीले खोजी शुरु गरेका थिए । माङसावाका अध्यक्ष किरण लिम्बूले आइतवार वडा कार्यलयमा भएको बृहत छलफलमा अनुदानको रकम वितरण नगरेको स्वीकार गरेका छन् । उनले पनि किर्ते हस्ताक्षर बुझाएर अनुदान रकम लिएका हुन् । उनलाई अनुदानबारे जानकारी दिने पूर्व माओवादी नेता एवम् नेपाल कम्यूनिष्ट पार्टीका झापाका सदस्य किना राजवंशीले सोहि अनुदानको बजेटबाट ४ लाख रुपैयाँ लगेको लिम्बूले जानकारी दिए । र, बाँकी रहेको रकम बैंकमा जम्मा गरेर राखेको लिम्बूको भनाई छ । स्थानीयका अनुसार इमान्दार व्यक्ति भएकाले लिम्बूलाई नेकपाका नेता किना राजवंशीले फसाएको हुन् । अनुदानको रकम मिलाए वापत उनले ४ लाख भन्दा बढि रकम लिइसकेका छन् ।

छलफलमा सहभागी भएका राजेश राजवंशीले माङसावा कृषक समूहले जग्गा नै नभएका श्यामलाल राजवंशी र नामुन राजवंशीको समेत धनीपुर्जा बनाएर किर्ते हस्ताक्षर गरेर अनुदानको रकम लिएको बताएका छन् । उनका अनुसार सो समूहले पनि धनीपुर्जा र हस्ताक्षर किर्ते गरेर रकममा अनियमितता गरेको हो ।

अर्को तुलाचन कृषि समूहले १ सय २५ किसानका लागि ४ लाख ६७ हजार अनुदान पाएको थियो । सो समूहले हालसम्म किसानलाई अनुदान उपलब्ध गराएको छैन । सूचना स्रोतका अनुसार यो घटना बाहिर आउने थाहा पाएपछि केहि किसानलाई रकम उपलब्ध गराइएको छ । भरपाई नगराई अनुदान रकम दिएको संस्थाका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए । उनले आफुहरुबाट गल्ती भएको स्वीकार गरेका छन् ।

सो समूहले किर्ते गरेर तयार गरेको किसानको नाम र जग्गा विवरणमा दलजीत राईको नाममा ६ विगा जग्गा उल्लेख गरिएको छ । तर, राईसँग १० कठ्ठा अपुग जमिन छ । असार १५ भन्दा अगाडी कृषि ज्ञान केन्द्रले कृषक समूहको खातामा रकम जम्मा गरेको थियो । ज्ञान केन्द्रमा सबै किसानले ६ हजार ६ सय ६६ रुपैयाँ अनुदान पाएको भरपाई विवरण भएपनि किसानले अहिलेसम्म पाएका छैनन् ।

तुलाचन कृषक समूहका अध्यक्ष श्रेष्ठका अनुसार अनुदान कार्यक्रमको सूचना उनै ४ लाख रुपैयाँ लैजाने किना राजवंशीले गरेका थिए । कार्यक्रम प्रस्ताव गर्ने समय छोटो भएपछि तिन वटै समूहलाई किना राजवंशीले संभव भएसम्म किसानसँग धनीपुर्जा मागेर विवरण बुझाउन भनेको श्रेष्ठको भनाई छ । सबै किसानसँग धनीपुर्जा संकलन गर्ने समय अभाव भएपछि ८÷१० धनीपुर्जा संकलन गरेका समूहहरुले यति धेरै धनीपुर्जा कहाँबाट ल्याए भन्ने प्रश्न उठेको छ । निधन भइसकेका व्यक्ति र जग्गा नभएका व्यक्तिको नाममा तयार भएका धनीपुर्जा किर्ते गरेर बनाएको नेकपाका नेता गोविन्द कुँवरले आरोप लगाएका छन् ।

यसअघि पनि प्रधानमन्त्री कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत किसानलाई आएको मोटर किना राजवंशीले घोटाला गरेको आरोप छ । किसानले राखेको मोटरको फोटो खिचेर उनले बजेट निकाशा गरेका थिए । सो कार्यक्रममा किना राजवंशीले आफ्नो थर टुडु बनाएर करिव छ लाख रकम अनियमितता गरेको त्यहाँका सरोकारवाला बताउँछन् ।

सूचना गुपचुप

गाउँपालिकाले अनलाईन मार्फत यस कार्यक्रमको परिपत्र परेको थियो । गाउँपालिकालाई ज्ञान केन्द्रले कार्यक्रम बारेमा सूचना गरेको हो । वडा नं. २ मा सूचना आएपछि त्यहाँ जनप्रतिनिधिले गुपचुपमा किना राजवंशीसँग समन्वय गरेको पाइन्छ । सो कार्यक्रम किनालाई नै धेरै थाहा थियो । उनैको बलमा तिन वटै कृषक समूहले अनुदान पाएको बताइएको छ । सबै कागजात मिलाउन वडासदस्य अरुण राजवंशीले साथ दिएको बुझिएको छ । अनियमिततामा मुख्य योजनाकार किना र अरुण राजवंशी रहेको घटनाक्रममा स्पष्ट भएको छ ।

वडाध्यक्षको संलग्नता

किसानले अनुदान रकमबारे सबै घटना जानकारी भएपनि चुपचाप बसेका वडाध्यक्ष अघनु राजवंशीमाथि साँठगाँठ भएको आरोप लगाएका छन् । किर्ते कागजात र धनीपुर्जा मिलाएर तयार गरेको विवरणकै आधारमा वडाध्यक्ष राजवंशीले ज्ञानकेन्द्रलाई रकम निकाशाका लागि सिफारिस गरेका थिए ।

अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले यो घटनाले गाउँपालिकाको बद्नाम भएको भन्दै दुखेसो व्यक्त गरेका छन् । उनले किसानको नाममा आएको अनुदानमा अनियमितता गर्ने कसैलाई नछोड्ने बताए । दोषीलाई कानुनी कारवाही गर्छु, अध्यक्ष श्रेष्ठले भने – गाउँपालिकाले कानुनी कारवाही गर्दैन, अख्तियारबाट छाविन गरेर कारवाही प्रक्रिया अघि बढाउँछु ।

प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]