६८४ ओटा हत्यामा आफन्तकै संलग्नता
झापा । नेपालमा हुने गरेका आपाराधिक घटनामध्ये आफन्तबाटै हत्या हुनेक्रम बढ्दो छ । हत्या र बलात्कारजस्ता जघन्य अपराधमा नातेदारहरु नै संलग्न हुने गरेको पाइएको छ ।

यसको मुख्य कारण पारिवारिक बेमेल, सामाजिक मूल्य–मान्यताप्रतिको बेवास्ता, नताबोधजस्ता कारणहरु रहने गरेको पाइन्छ । पछिल्लो समय परिवारजन वा आफन्तबाटै हत्या हुनेक्रम बढेको देखिन्छ । छोरीले आमाको हत्या, बुहारीले सासूको हत्या, छोराले बुवाको हत्या, बाबुले छोरा–छोरीको हत्या, श्रीमान्ले श्रीमतीको हत्या वा श्रीमतीले श्रीमान्को हत्या गरेका घटना सार्वजनिक भइरहेका छन् ।
यस्ता घटनाका पछाडि पारिवारिक झैझगडा, महत्वाकांक्षा वा आत्मअभिमानमा ठेस पुग्नु, विवाहोत्तर सम्बन्ध तथा क्षणिक आवेगले काम गरेको पाइने गरेको छ ।
हत्याजस्ता जघन्य अपराधका लागि आपराधिक मानसिकता वा पेशेवर अपराधी नै हुनुपर्छ भन्ने पनि छैन । कहिले–काँही मनमा उत्पन्न हुने तुच्छ भावनाले पनि मानिसलाई अपराधमा उकास्न सक्दछ ।
मनोविद् नरेन्द्रप्रसाद ठगुन्ना मानसिक स्वास्थ्यप्रति सचेत नभएका, हिनता बोध भएका व्यक्ति र मनमा नकारात्मक भावना खेलाउने व्यक्तिले पनि जघन्य अपराध गर्नसक्ने बताउँछन् ।
विगत चार वर्षमा ६८४ ओटा हत्यामा आफन्तको संलग्नता देखिएको तथ्य नेपाल प्रहरीसँग रहेको छ । यसबाहेक आमाले नै नवजात शिशुको हत्या गर्ने अपराध पनि कम छैन । अनावश्यक महत्वाकांक्षा र अतृप्त चाहनाहरुकै कारण अधिकांश अपराध हुने गर्दछ ।
दीपक श्रेष्ठ र योगेश लामा (इमेज)